प्राविधिक रोजगार मेला

नेपालको पायोनियर प्राविधिक शिक्षालय बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीको आयोजनामा प्राविधिक रोजगार मेला हुने भएको छ। यही माघ १४ गते मंगलवार र १५ गते बुधवार दुई दिने प्राविधिक रोजगार मेला हुने भएको हो।

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीको हाताभित्र नै प्राविधिक रोजगार मेला हुने जानकारी शिक्षालयका निमित्त प्रमुख बैकुण्ठ श्रेष्ठले आइतवार आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।

निमित्त प्रमुख श्रेष्ठका अनुसार प्राविधिक रोजगार मेलामा रोजगारदाता र रोजगार खोज्नेहरुको मिलन गराउने प्रमुख लक्ष्य तथा उदेश्य रहेको छ। रोजगारदाताले सही र दक्ष रोजगार पाउन सकुन भनेर यसप्रकारको प्राविधिक रोजगार मेलाको आयोजना गर्न लागेको निमित्त प्रमुख श्रेष्ठले भनेका छन्।

शिक्षालयका उपप्रमुख शंकरमान श्रेष्ठले प्राविधिक रोजगार मेलामा नेपाटप, सिप्रदी, अशोक ली लैड, पञ्चकन्या, युनाइटेड वायर र केवल जस्ता २५ भन्दाबढी प्रतिष्ठित उद्योगहरुको उपस्थिति हुन गैरहेको बताए।

उपप्रमुख श्रेष्ठका अनुसार, प्राविधिक रोजगार मेलामा रोजगारदाताहरुले यसै बर्ष पास गरेका, विगतमा कार्यअनुभव भएका साथै विभिन्न क्षेत्रमा कार्य गरिरहेका प्रशिक्षार्थीहरुलाई छनोट गरेर रोजगारी दिन सक्नेछन्।

यस प्राविधिक रोजगार मेलामा प्राविधिक एसएलसी र डिप्लोमा सिभिल, मेकानिकल, अटोमोवाइल, इलेक्ट्रिकल र स्यानिटरी विषयका करिब एक हजार विद्यार्थीहरुले भाग लिने आयोजक शिक्षालयका जब प्लेस्मेन्ट एण्ड काउन्सेलिङ युनिटका टिम लिडर शिव कारञ्जितको भनाई छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) को आंगिक प्राविधिक शिक्षालय बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी हो। यसको स्थापना विसं.२०१८ सालमा भएको हो। स्थापना बर्षमा ८ जना प्रशिक्षार्थीहरुवाट शिक्षालयको शुरु भएको यस शिक्षालयवाट ४ हजार ३ सय ९५ जनालाई विभिन्न प्राविधिक विषयमा दक्ष बनाइसकेको छ।

स्थापना कालदेखि बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीले मेकानिकल, इलेक्ट्रिकल, सिभिल, स्यानिटरी (प्लम्बिङ) अटोमोवाइल लगायतका विषयमा प्राविधिक जनशक्ति उत्पादन गरेर टेवा दिने कार्य हुंदैआएको छ।

यसअघि प्राविधिक रोजगार मेला विसं.२०७३ सालमा भएको थियो। जसमा सहभागी प्राविधिक रोजगार खोज्नेहरुमध्ये ७४ प्रतिशतले रोजगार पाएको पनि बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीको दावी रहेको छ। यो बर्ष उक्त प्रतिशतभन्दा बढी हुने आँकन पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *