मुस्ताङ सिम्फोनी

नजिकका हिमालमा हिजोआज हिउँ पर्न छोडेको, वर्षाको कमीले नदीको बहावमा कमी आएको, पानी नपर्नाले उब्जनीमा कमी आएकोे, वर्षाको कमीले पर्याप्त घाँसपात नउम्रेकाले भेंडा, घोडा, खच्चर तथा चौंरीको चरनमा समस्या भएको, बेमौसममा पानी र भलबाढी आउँदा अनेकन समस्या खेप्दै आएको स्थानीयले बताए ।

शब्द/तस्बिर : आरके अदीप्त गिरी

यात्रा गर्दा धेरै कुराको ज्ञान मिल्छ । विभिन्न दृश्यसँग रम्न पाइनु, त्यस्तै स्थानीय भूगोल, समाज र जीवनलाई नजिकबाट बुझ्नु यात्राबाट पाइने फाइदा हुन् । यस्तै धेरै कारणले पनि मैले भ्याएसम्म याात्रा गर्ने गर्छु । यसपटक पनि यस्तै एक यात्रा गर्ने अवसर मलाई प्राप्त भएको छ मुस्ताङको ।

विश्व बैंकबाट सञ्चालित जलवायु लगानी कोषअन्तर्गत विश्वका ९ मुलुकमा गर्न लागिएको ‘पाइलट प्रोग्राम फर क्लाइमेट रेजिलियन्स’ (पिपिआर) मा पनि नेपाल छनोट भएको छ । यसैक्रममा इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी) को एक विज्ञ टोली नेपालको वातावरणीय प्रभावका विविध पक्षबारे अध्ययन गर्न नेपाल आएको टोलीसँग मुस्ताङ यात्रा गर्ने अवसर प्राप्त भयो ।

टोलीको नेतृत्व जर्मन नागरिक जोर्ज स्टोरीले गरेका थिए । उनको समूहमा डेनिलो मोरेज, एन्जेलीका हेरारले, पाब्लो बेसिहिन, वातावरण मन्त्रालयका प्रसुन रञ्जित र पत्रकारका रूपमा म संलग्न थियौं । डब्लुडुब्लएफ नेपालसँग मिलेर थालिएको यस अध्ययन कार्यक्रमको उद्देश्य थियो, समग्र मुस्ताङको मौसमको मापन, हिमनदी, हावापानीको आद्र्रता, नदीको बहाव, नदी तटीय क्षेत्रको समस्या, वन्यजन्तु, वनस्पति तथा त्यहाँको उत्पादन र मानवीय, सामाजिक उपस्थिति आदि बारेको अध्ययन ।

यसरी हाम्रो यात्रा म्याग्दी सदरमुकाम बेनीबजार हुँदै अगाडि बढ्यो । मेरालागि भने मुस्ताङ यात्रा पहिलो थिएन । यसअघि पनि म पटक–पटक मुस्ताङ पुगेको थिएँ । मुस्ताङको आर्थिक, सामाजिक तथा पर्यावरणीय अवस्थाबारे धेरथोर जानकारी भएकाले टोलीको अगुवाइ गर्ने जिम्मेवारी मलाई आइलाग्यो ।

बेनीबजारलाई पछाडि पार्दै हिँडेको हाम्रो टोली गलेश्वर, वैशाली, मौरीभीर हुँदै दाना पुगेर रोकियो । दानाको परिचय अन्धगल्छी र प्रसिद्ध रुप्से छहराले बोलेको छ । हाम्रालागि यी दुवै सम्पदा अध्ययनका विषयभित्र पर्दथे । देशमा हाल देखिएको परिवर्तनीय मौसमले नदी, तालतलैया, हिमताल बिस्तारै सुक्दै गएको सन्दर्भमा रुप्से छहरा र अन्धगल्छीमा पछिल्ला वर्ष भएको न्यून वर्षा, हिमालमा हिउँ पर्न छाडेको तथा हिमताल विस्तारै सुक्दै जानुले यहाँ देखिएका पछिल्ला परिवर्तन टोलीका लागि अध्ययन थलो बने । त्यहाँ हाल देखिएका वातावरणीय प्रभाव, मनसुन र सुक्खा मौसममा देखिएको पानीको बहाव र वातावरणीय पक्षको अध्ययन टोलीले स्थानीयको संलग्नतामा ग¥यो । र, केही न्यूनीकरणका उपाय स्थानीयलाई सुझाउँदै दानामा दिवाखाना खाई बाँदरमुखे भीर, लेते हुँदै हामी घाँसामा बास बस्न पुग्यौं ।

बिहान उठ्दा अग्ला हिमशैल डाँडाहरू घाँसालाई पहरा दिइरहेका थिए । दक्षिणतिर अन्नपूर्ण, नीलगिरि हिमाललाई बिहानै हामीले स्पर्श ग¥यौं र घाँसामा बिहानी खाजा लिएर हाम्रो यात्रा हरियाली जंगलबीचका नागीहरू, भिरपहारा नाघ्दै कालीगण्डकीको किनारैकिनार कोवाङतर्फ लाग्यौं । मेहनतका साथ कुँदिएका जस्ता लाग्ने हरियाली दृश्यले हामीलाई यात्राभरि साथ दियो । प्रकृतिको विचित्र कारिगढी भीर, पहाड नाघ्दै कोवाङ आइपुग्यौें । पूर्वतर्फ नीलगिरि र पश्चिम शिरमा धौलागिरि हिमालले कोवाङको शोभा बढाएका थियो । यहीँबाट कालीगण्डकी नदी घना बगरे उपत्यकासँगै बगेको छ । ठण्डा शीतोष्ण हावापानी, वरिपरि धुपी, गोब्रे सल्ला, देवदार, लौठ सल्ला, निकटमा बगंैचासरी स्याउवारी, नास्पाती, ओखर, आरु आदि फलफूलले कोवाङलाई वातावरणीय सुन्दरतामा सजाएका थिए । वरिपरिका बगरे चरनमा भेडा, च्याङ्ग्रा र खच्चर चरिरहेका थिए । कोवाङको पनि वातावरणीय अध्ययन गर्नुपर्ने भएकाले हामी स्थानीयसँग वातावरणका विभिन्न पक्षमा गफिँदै त्यसदिन यात्रा कोवाङमै बिसायौं ।

भोलिपल्टको हाम्रो यात्रा कोवाङलाई बिदा गर्दै आधाघन्टा बराबरको दूरीमा रहेको टुकुचेतर्फ लाग्यो । टुकुचे पुग्दा त्यहाँको रमणीय प्रकृतिले मोहनी लगायो । प्राचीन शासन व्यवस्थामा मुस्ताङको सदरमुकाम पनि हो टुकुचे । तर, आधुनिक राज्यव्यवस्थाले भौगोलिक साँध–सिमाना कायम गर्दा हाल भने मुस्ताङ सदरमुकाम जोमसोम सरेको छ । तर, आदिम थलो टुकुचेको पहिचानमा भने हालसम्म पनि कुनै कमी आएको छैन । टुकुचे वरपर डुल्दा यहाँका शिक्षालय, होटल व्यवसाय, कृषि, राजमार्ग, विद्युत, सुविधासम्पन्न बसोबास आदि देख्दा टुकुचेको गरिमा र ख्यातिले हामी सबैलाई गौरवान्वित बनायो ।

काठमाडौं वा ठूला सहरका कंक्रिट घर र भद्रगोल प्रदूषित वातावरण देख्दा वाक्क भएको हाम्रो मन यताको यो प्रकृतिको विराट स्वरूप र संरचना देख्दा रमायो । अझ विकसित देशबाट आएको आफ्नो टोलीलाई यहाँको प्रकृति वरदान सावित भएको प्रतिक्रिया जोर्ज स्टोरी बाँड्दै थिए । निकै चाखका साथ हाम्रो टोली स्थानीयसँग यहाँको प्रकृति र पर्यावरणीय उतारचढावबारे अध्ययन गर्दै थियो । नजिकका हिमालमा हिजोआज हिउँ पर्न छोडेको, वर्षाको कमीले नदीको बहावमा कमी आएको, पानी नपर्नाले उब्जनीमा कमी आएकोे, वर्षाको कमीले पर्याप्त घाँसपात नउम्रेकाले भेडा, घोडा, खच्चर तथा चौंरीको चरनमा समस्या भएको, बेमौसममा पानी र भलवाडी आउँदा अनेकन समस्या खेप्दै आएको स्थानीयले हामीलाई बताए ।

स्थानीयका यी समस्यामा न्यूनीकरणका केही उपाय सुझाउँदै हाम्रो यात्रा मार्फातर्फ लाग्यो । टुकुचेदेखि मार्फाको यात्रा दुरी २.५ कोष झन्डै आधा घन्टाको थियो । स–साना घुम्ती खोंच र कालीगण्डकीको बगरे उपत्यका पार गर्दै हामी सुन्दर मार्फा गाउँ पुग्यौं । मार्फा गाउँ नामैले काफी छ । थकालीको मूल थाँतथलो हो मार्फा । त्यसो त यस गाउँका उत्पति कथाका इतिहास धेरै छन् । यहाँको हावापानी, प्राकृतिक स्रोतसाधन, खेतीपाती, सामाजिक संरचना, सम्बन्ध यहाँका धार्मिक, सांस्कृतिक, चाडपर्वले पनि मार्फाको परिचयलाई व्यापक बनाएको छ । स्थानीय थकालीको भाषा, धर्म, संस्कृति, रहनसहन र जीवनपद्धति पनि मौलिक खालको लाग्यो हामीलाई ।

दक्षिणमा धोछम् घाङडाँडा, उत्तरमा कोल्क्यु कुना, पूर्वमा कालीगण्डकी र पश्चिममा सेंचीलेकसम्म ओगटेको मार्फा गाउँ स्याउ उत्पादनका लागि प्रख्यात छ । यहाँका जाति आफूलाई पुन्तेन थकाली भएको भन्न रुचाउँदा रहेछन् । समय र समाजको विकाससँगै आफ्नो पहिचान, अस्तित्व र वासस्थानमा आफूहरूले हिजोको तुलनामा आज धेरै समस्या खेपिरहेको गुनासो उनीहरूको थियो । करिब १०० घरधुरीमा घना बस्तीमा फैलिएको यसको सौन्दर्य विचित्रको लाग्यो हामीलाई । मार्फा समुन्द्री सतहबाट २,५४५ मिटरको उचाइमा रहेको छ । ठण्डा शीतोष्ण हावापानीमा टाढाटाढाबाट कोणधारी जंगलले घेरिएको यहाँको तापक्रम उच्चतम् भागमा जिरो डिग्री सेल्सियसभन्दा कम हुने र ग्रिष्ममा सरदर तापक्रम १० देखि १५ डिग्री सेल्सियसम्म रहने साथै वर्षायाममा यहाँ ५० मिलिमिटरसम्म पानी पर्ने रेकर्ड रहेछ ।

मार्फावासीसँग पनि हामीले त्यहाँको प्रकृतिका विविध आयामबारे छलफल ग¥यौं । मार्फालीहरू हाल बसोबास गरी भोगचलन गरेको भूमि पहिलेको जंगल क्षेत्र रहेछ । यहाँ स्याउ, गहुँ, जौ, उवा र फापरजस्ता बालीनाली राम्रो हुने स्थानीय बताउँदै थिए । पहिले र अहिले देखिएको असन्तुलित पर्यावरणले आफ्नो खेतीपानी, जलस्रोत र वनजंगल आदिमा प्रत्यक्ष परिवर्तन देखिनुले आफूहरू दिनानुदिन पिरोलिएको उनीहरूको गुनासो थियो । धार्मिक संस्कार र नियम पालनामा पनि उनीहरू कट्टर देखिन्थे । मार्फा थकालीमा कुनै अप्रिय दुर्घटना भए, देखेमा फोल (उनीहरूको आस्थाको देवता) को नाम लिने गरेको उनीहरूले बताए । भूमि तथा प्रकृति पूजा गरेपछि उनीहरूमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगति हुने विश्वास रहेछ । हामी प्रकृति, संस्कृति, संस्कार र परम्परामा पारेका प्रभावका उनीहरूका कथा सुन्दै, बुझ्दै यात्रालाई जोमसोमतर्फ सोझायौँ र त्यसरात जोमसोममै बितायौं ।

बिहान उठ्दा हामीमा जोमसोमको प्राकृतिक सुन्दरताले एकप्रकारको आनन्द विस्तारित भयो । अघिल्ला ठाउँहरूमा गरिएका अध्ययन जस्तै हामीहरू जोमसोम वरपरका गाउँहरू टिटी, ठिनी, सेकोङ दिनभरिजसो डुल्यौं । उनीहरूका समस्या प्रायः एउटैखाले थिए । वातावरणीय असन्तुलन, स्थानीय जीवनमा संकट, पहिलेभन्दा आफ्नो आर्थिक, सामाजिक परिवर्तनमा देखिएका खतरा, सडकलगायत विकास संरचनाको आगमनले भएका वातावरणीय प्रदूषणको समस्या । तिनका यी प्रश्नमा न्यूनीकरण र सम्भावित खतराबाट बच्ने वैज्ञानिक जुक्ति अध्ययन टोलीका प्रमुख जर्ज स्टोरीले स्थानीयलाई सुझाए ।

हिमालदेखि तल्लो तटीय क्षेत्रसम्मै जलवायु परिवर्तनका अनेकन असर प्रत्येक वर्ष बढ्दै गएको कृषि र समाजसेवामा सक्रिय स्थानीय अजिता थकाली बताउँदै थिइन् । भदौ, असोजमा अप्रत्यासित पानी पर्ने, हिउँदभरि हिउँ नपर्नाले स्याउमा कीरा लाग्ने, परम्परागत उपार्जन, पशुपालन, वस्तु विनिमयमा समस्या खेप्नु परेको, जीवन निर्वाह दिनैपिच्छे जटिल बन्दै गएको स्थानीयको प्रतिक्रिया थियो ।

यसपछि हाम्रो यात्रा कागवेनी, रानीपौवा, मुक्तिनाथ आदि गाउँ घुमेर उपल्लो मुस्ताङतर्फ लाग्यो । उपल्लो मुस्ताङ पुग्दा पनि समस्या उही र उस्तै थिए । उपल्लो मुस्ताङका झोङ, छुसाङ, घमी, चराङ, सुल्र्घाङ, लोमाङ्थाङ, छोन्दुप, छोसेर आदि सबै गाउँका भू–भागमा हामी डुल्यौँ ।

उपल्लो मुस्ताङलाई सन् १९९२ देखि मात्रै विदेशी पर्यटकका लागि आंशिक रूपमा खुला गरिएको थियो । भौगोलिक र सांस्कृतिक कथा, वातावरणीय विविधताका आधारमा हेर्ने हो भने पनि तल्लो र उपल्लो मुस्ताङमा धेरै विविधता छ । कागवेनीभन्दा तलको मुस्ताङ हिमाली र पहाडी संस्कृतिको गजबको मिश्रणमा छ भने कागबेनी माथिको मुस्ताङ आफ्नो अद्वितीय हिमाली संस्कृति र परम्परा बोकेको रहस्यमय धरातलमा सजिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने हुनाले पनि यो विदेशीका लागि अझै पनि अर्धनियन्त्रित क्षेत्रभित्र पर्दछ ।

यहाँका रहस्यमय भू–धरातलले जोकोहीलाई लोभ्याउँछ । मुस्ताङमा हिन्दु तथा बौद्ध धर्मावलम्बीका लागि अति पवित्र स्थल मुक्तिनाथ, ज्वालामाई, कागबेनी, दामोदरकुण्ड, कृष्णगण्डकी, लुरीगुम्बा, गुरु रिम्पोछे गुफालगायत प्रमुख गन्तव्य छन् । यहाँको हिमाली जीवनशैली र रहसहन, खानपान र भेषभुषा पनि अन्य ठाउँको भन्दा धेरै भिन्न छ । प्राकृतिक सौन्दर्यताका लागि तल्लो, उपल्लो मुस्ताङभित्र अविस्मरणीय लाग्ने पदमार्ग छन्, जसले सिंगो मुस्ताङ पर्यटन हबका रूपमा परिचित छ ।

जैविक तथा सांस्कृतिक विविधताको अवलोकनका लागि यहाँ विभिन्न पुराताŒिवक सम्पदादेखि गुफा संस्कृति, लोमान्थाङ सहर, मुखिया प्रथा, बहुपति परम्परा, राजसंस्थाजस्ता सामाजिक, सांस्कृतिक र सामरिक जीवन यहाँभित्र अटाएका रहेछन् । यहाँ सांस्कृतिक रूपमा अद्यावधिक अस्तित्वको रूपमा राजा जिग्मे प्रवल विष्टले अझैपनि सद्भावपूर्ण शासन गरिरहेका छन् ।

विश्वका ठूला पुराताŒिवक रहस्यमध्ये उपल्लो मुस्ताङका प्राचीन तथा आकासे गुफाहरू वैज्ञानिक अध्ययनका लागि अद्वितीय गन्तव्य भएको हामीले पायौँ । यहाँका धेरैजसो धार्मिक सम्पदामा भारतीय, कोरियाली तथा जापानी पर्यटकका लागि महत्वपूर्ण बन्दै आएको स्थानीयहरू बताउँथे । यहाँका धेरैजसो सम्पदाले धार्मिक पर्यटकका लागि विशेष महŒव राखेको छोन्हुपका कर्मा छोन्डुम गुरुङले बताए ।

मुस्ताङवासी पनि हिजोआज आफ्ना सम्पदाबारे चिन्ता गर्न थालेको पाइयो । आफ्नो पुरानो थाँतथलो जटिल बन्दै गएको अधिकांशको प्रतिक्रिया थियो । मुस्ताङका मलिन कथा कहिल्यै राज्यले नसुन्ने उनीहरूको गुनासो थियो । पहिले हरियालीयुक्त र रसिलो देखिने वातावरण अहिले एकदम सुक्खा बन्दैछन् । यस्तो स्थितिले दिन प्रतिदिन चिन्ता बढेको छोसेर गाविसकी नीमा गुरुङको भनाइ थियो । उनले भने, ‘आफ्नो चमकधमकपूर्ण सौन्दर्य गुम्दै गएकोमा हामी निकै चिन्तित छौँ । यो राज्यका निम्ति पनि जिम्मेवारीको विषय हो । अब राज्यले जलवायु परिवर्तनको समस्यासँग जुध्नका निम्ति आवश्यक नयाँ नीति अवलम्बन गर्नुपर्छ ।’ आफूले भोग्नुपरेको यस्तो विकराल स्थिति देख्दा पनि राज्य उदासीन रहनु विडम्वनापूर्ण रहेको उपल्लो मुस्ताङवासीको साझा प्रतिक्रिया थियो ।

ऊर्जाका लागि प्रयोग गरिने काठ, दाउरा तथा बुट्यानको फँडानीले यहाँका भूभाग मरुभूमिकरण बन्दै गएको स्थिति यत्रतत्र देखिन्थ्यो । भूमण्डलीय तापमान वृद्धिले यहाँका सेता हिमाल डाँडामा परिवर्तन हुँदै गएको देखियो । पानीका मूल सुक्नु, हिमालय, हिमनदी धमाधम पग्लिनु, पहिलेभन्दा तापक्रममा वृद्धि हुनु, वर्षा, आँधी, हुरी अप्रत्यासित आउनु आदिले यहाँको कृषि उत्पादन, सामाजिक, सांस्कृतिक तथा प्राकृतिक पर्यावरणीय वस्तुमा नकारात्मक असर पर्न थालेको हामीले अध्ययन गर्दा देखिएका प्रमुख विषय थिए । कतिपय बस्ती त विस्थापितसमेत भएकोे देख्यौं ।

यस यात्रामा हामीले मुस्ताङको यात्रामा देखिएका महŒवपूर्ण समस्या केलाउन सफल भयौं । प्रचलित वायुको गुण र दिशा, जमिनको ढल्काइ, जमिनको प्रभाव, तल्लो र माथिल्लो गुफामा फरक–फरक थिए । भूमिगत जलको सुरक्षा चासो, धरातलीय विविधता, भूक्षयको समस्या, कृषिका लागि जंगल अतिक्रमण, अव्यवस्थित जग्गा अधिकरण, पर्यावरणीय जनचेतनाको अभाव आदि जस्ता समस्या हामीले त्यहाँका घुम्दा डुल्दा देखिएका प्रमुख समस्या थिए ।

त्यस्तै स्थानीयमा पनि धेरै कमजोरी देख्यौं । मुलतः उनीहरूमा वातावरणीय महŒवसम्बन्धी ज्ञानको कमी पाइयो । यसरी इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी) का तर्फबाट हालको यो स्थिति रोक्न नेपाल सरकारलाई आवश्यक प्रतिवेदन बुझाउने प्रतिबद्धता जाहेर गर्दै हामीले साता लामो आफ्नो यात्रा भ्रमणलाई यहीँ टुंगायौँ ।

मुस्ताङ कसरी पुग्ने ?

मुस्ताङ पुग्न काठमाडौं होस् या पोखराबाट सिधै भाडाका जिप तथा बसबाट पर्वत सदरमुकाम कुश्मा हुँदै बेनी–म्याग्दीबाट सजिलै यात्रा गर्न सकिन्छ । साहसिक ड्राइभिङ मनपर्नेका लागि जिप सवारी तथा अफरोड वाइक ड्राइभिङको रोमाञ्चकता सहित सजिलै पुग्न सकिन्छ । यस जिल्लाको केन्द्र जोमसोमसम्म पोखराबाट सिधा हवाई सेवा सञ्चालनमा रहेकाले पनि यात्रा छिटोछरितो हुन्छ । यसका अलावा पोखरा तथा मनाङतर्फबाट थोरङ्लापास छिचोल्दै पनि मुस्ताङ पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *