विकल्प बन्दै आकाशे पानी

सहरमा घर बनाउँदा नै वर्षाको पानी संकलन गर्ने प्रविधि जडान अनिवार्य बनाउन सके पानीको समस्या समाधान हुने मात्र होइन, भूमिगत दोहनसमेत कम हुन्छ महानगरपालिकाले घर–घरमा यस्तो प्रविधि जडान गर्नेलाई नक्सापासमा १० प्रतिशत छूट दिने घोषणा गरे पनि यसप्रति सर्वसाधारण त्यति सचेत छैनन्

निशा ओली

जोरपाटी घर भएकी लक्ष्मी मानान्धरले वर्षाको पानी संकलन गरेर चार जनाको परिवार चलाइरहेकी छन् । खानेपानीको अभाव सिर्जना भएपछि उक्त प्रविधि अपनाएको उनी बताउँछिन् । ‘सुरुमा पानी प्रयोग गर्न असहज भए पनि अहिले बानी परिसकेको छ ।’ उनले भनिन्, ‘खानेपानीको समस्या झेलेका काठमाडौंबासीका लागि यो प्रविधि उपयुक्त हुनसक्छ ।’

काठमाडौंमा वार्षिक औसत १६०० मिलिमिटर पानी पर्छ । यो हिसाबले ३–४ आनामा बनेको घरको छतमा वार्षिक १ लाख ७० हजार लिटर पानी आउँछ । त्यसको २० प्रतिशत फोहोर पानीको रूपमा घटाउँदा पनि करिब १ लाख २८ हजार लिटर पानी बचत हुन्छ, जुन चार जनाको परिवारलाई छेलोखेलो हुन्छ ।

काठमाडौंमा खानेपानीको मुख्य आपूर्तिकर्ता काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले प्रशस्त मात्रामा जनतालाई पानी आपूर्ति गर्न सकेको छैन । यस्तो अवस्थामा वर्षाको पानी संकलन दिगो विकल्प हुनसक्ने देखिन्छ । तर, अहिलेसम्म यसलाई प्रवद्र्धन गर्न नेपाल सरकारको ठोस योजना र नीति रहेको पाइँदैन । केयुकेएल आपूर्ति र मागबीचको फराकिलो असन्तुलनको व्यवस्थापन गर्नमै ठिक्क छ ।

थोरै लगानी र सानो प्रयासबाट घर–घरमै पानीको स्रोतको व्यवस्थापन गर्न सकिने हुँदाहुँदै पनि मानिसको ध्यान यसतर्फ पुग्न नसकेको खानेपानी तथा सरसरफाइ स्रोत केन्द्र सञ्जाल नेपालका कार्यक्रम अधिकृत कर्मठ सुवेदी बताउँछन् । उनी भन्छन्, ‘आकाशे पानी संकलन गर्ने प्रविधि जडान गरे काठमाडौंमा पानीको समस्या ह्वात्तै घट्छ ।’

आकाशे पानी संकलन दुई तरिकाले गर्न सकिन्छ । एउटा पानी ट्यांकी बनाएर पानी जम्मा गर्ने र अर्को जमिनमा इनार बनाएर पानी रिचार्ज गर्ने । जमिनमा इनार बनाएर पानी रिचार्ज गर्ने पद्धति वातावरणीय हिसाबले सही हुन्छ किनभने यसले भूमिगत पानीको स्रोतको पुनःभण्डारणमा पनि सहयोग गर्छ । यो विधि प्रयोगमा ल्याउन नीति निर्माण तहबाटै सहयोग हुनुपर्छ ।

काठमाडौँ जिल्लामा पानी संकलनको योजनासहित घर बनाउनेगरी नक्सा बनाउँदा नक्सापासमा १० प्रतिशत छुट पाइन्छ भने त्यही कामका लागि धरानमा ३० प्रतिशत छुट दिइन्छ । वर्षायामको पानीलाई संकलन गरेर भूमिगत जलभण्डारलाई पुनःभरण गर्न सरकारले काठमाडौं उपत्यका भूमिगत जलस्रोत व्यवस्थापन नीति स्वीकृत गरे तापनि राज्यस्तरबाट आकाशे पानी प्रयोगबारे खासै प्रयास भएको देखिँदैन । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गैरसरकारी संस्था सिआइयुडीसँग मिलेर सन् २०११ देखि ‘रिचार्ज काठमाडौं’ अभियान चलाए पनि खासै उपलब्धिमूलक हुन सकेको छैन ।

काठमाडौं उपत्यकामा बर्सेनि १०,००० घर थपिँदैछन्, यसले वर्षको ३,००० रोपनी जमिन सिल भइरहेको छ, यही दरमा जमिन ढाकिँदै गए आउँदो ३५ वर्षमा उपत्यकाभित्रबाट पानी जमिनमुनि छिर्न पाउँदैन र उपयोग गर्न सकिने भूमिगत पानी सकिएर उपत्यकालाई चाहिने सबै पानी काठमाडौं बाहिरबाट ल्याउनुपर्ने हुनसक्छ ।

पानीको दैनिक आवश्यकता पूरा गर्न जमिनमुनिको पानी प्रयोग अनियन्त्रित रूपमा बढ्दै गएको हुनाले उपत्यकामा जमिनमुनिको पानीको सतह घट्दै गइरहेको छ । भूमिगत पानी घट्दै गएको हुनाले उपत्यकामा भएका ढुंगेधारा, इनार, पोखरीजस्ता परम्परागत पानीका स्रोत पनि तीव्र गतिमा सुक्ने तथा नष्ट भइरहेका छन् । बर्खायाममा आकाशबाट पर्ने पानी छतको नाला हुँदै ढलमा मिसिएर खोला हुँदै समुद्रमा पुगिरहेको छ, जसले गर्दा जमीन रिचार्ज नभएर काठमाडौंका ढुंगेधारा र इनार सुकिसकेका सहरी खानेपानी तथा सरसफाइ आयोजना सचिव अनिल स्थापित बताउँछन् ।

अहिले काठमाडौंमा दैनिक ७ करोड लिटरभन्दा बढी पानी भूमिगत स्रोतबाट तानिने गरेको अनुमान छ । केयुकेएल, ठूला होटल, व्यापारिक कम्प्लेक्स, हाउजिङ, अपार्टमेन्ट र अन्य निजी व्यवसायीको पानीको मुख्य स्रोत भूमिगत जल नै हो । जथाभावी डिप बोरिङ गरेर पानी तान्ने प्रवृत्तिले भूमिगत पानीको भण्डार घटाएको मात्र छैन, जमीन नै भासिने खतरा देखिन थालेको उनको भनाइ छ ।

पानीको बढ्दो अभाव पूर्तिका लागि न्यून पानी प्रयोग तथा पानी व्यवस्थापनको आवश्यकता खट्केको छ । कपडा धोएको, नुहाएको पानीले ट्वाइलेट फ्लस चलाउन, तरकारी बारी, कौसी खेतीमा हाल्न सकिन्छ ।

आकाशे पानीबारे धेरै सुनेको भए पनि वर्षाको पानी संकलनका लागि ट्यांकी बनाउँदा घरमा क्षति पुग्छ कि भन्ने डर छ ज्ञानेश्वरका रमण दाहाललाई । त्यति मात्रै होइन, उक्त पानी गुणस्तरयोग्य छ कि छैन भन्ने शंका मनमा उब्जिएकाले प्रयोग नगरेको उनी बताउँछन् । उनीजस्तै धारणा राख्ने मानिसमाझ जनचेतना पुग्नु आवश्यक छ ।

काठमाडौं उपत्यकामा दैनिक खानेपानीको माग करिब ३२ करोड लिटरभन्दा बढी भए पनि सरकारको स्वामित्वमा रहेको खानेपानी आपूर्ति निकायले केवल १२ करोड लिटर मात्र पानी आपूर्ति गर्छ । तसर्थ, उपत्यकामा पानीको अभाव चरम रूपमा छ र धेरै मानिस निजी ट्यांकरबाट पानी किन्न बाध्य छन् । अव्यवस्थित बस्ती विस्तार र जनसंख्या वृद्धिले गर्दा उपत्यकामा खानेपानी समस्या दिनानुदिन बढ्दै गइरहेको छ । हरेक वर्षजस्तै यस वर्षको सुक्खायामले पनि काठमाडौंमा खानेपानीको अभाव निम्त्याइसकेको छ । उपत्यकावासी यो सुक्खापनले झनै मारमा परेको देखिन्छ र पानीका लागि रित्तो भाँडो बोकेर सहरका गल्ली भौंतारिन बाध्य छन् । पानी अभावको यो विकराल समस्याले आमजनताको दैनिक जीवन निर्वाह असहज बन्दै गएको छ । हप्ता दिन वा दस दिनमा एकपटक मात्र धाराबाट वितरण हुने पानी अपर्याप्त भएको हुनाले उपत्यकावासी ट्यांकरबाट वा निजीरूपमा बनाएको इनारमा निर्भर हुन बाध्य छन् । ट्यांकरबाट वितरण हुने अधिकांश पानी भूमिगत जलभण्डारबाटै संकलन गरिन्छ भने निजीस्तरमा पनि भूमिगत पानी नै प्रयोग भइरहेको छ ।

पानीको दैनिक आवश्यकता पूरा गर्न जमिनमुनिको पानी प्रयोग अनियन्त्रित रूपमा बढ्दै गएको हुनाले उपत्यकामा जमिनमुनि पानीको सतह घट्दै गइरहेको छ । भूमिगत पानी घट्दै गएको हुनाले उपत्यकामा भएका ढुंगेधारा, इनार, पोखरीजस्ता परम्परागत पानीका स्रोत पनि तीव्रगतिमा नष्ट भइरहेका छन् ।

आकाशे पानी संकलन

पानीको समस्या समाधान गर्नका लागि हाल काठमाडौंमा समुदायस्तरमा विभिन्न प्रयास भइरहेका छन् । पानीको विद्यमान समस्या समाधान गर्न समुदायस्तर तथा घरेलुस्तरमा अपनाउन सकिने प्रविधिमध्ये आकाशे पानी संकलन प्रभावकारी हुने देखिन्छ । काठमाडौंजस्तो पानीको समस्या भइरहेको स्थानमा पानीको समस्या समाधान गर्न आकाशे पानी संकलन प्रविधि सस्तो, सुलभ, भरपर्दो उपाय भएको स्थापित बताउँछन् ।

त्यस्तै कलंकीकी एञ्जिला गिरी पानीको अभावका कारण दिक्क थिइन् तर हाल उनलाई पानीको अभाव हुन छाडेको छ । आकाशे पानी संकलन गर्न थालेपछि उनलाई पानीको अभाव हुन छाडेको हो । ‘वर्षाको समय आकाशबाट परेको पानी संकलनपछि थोरै भए पनि खानेपानी समस्या समाधान भएको छ,’ उनी भन्छिन् ।

खानेपानीका लागि मेलम्चीको सपना देखिरहेका उपत्यकावासी अहिले पानी अभावमा काकाकुल अवस्थामा छन् । त्यसैले उनीहरूलाई आकाशे पानी संकलन प्रविधिबारे जानकारी दिन थालिएको छ । उपत्यकाको खानेपानी समस्या समाधानमा आकाशे पानी संकलन प्रविधि लोकप्रिय बन्दै गएका कारण पानी अभाव बेहोरिरहेका सर्वसाधारणलाई राहत मिलेको छ । अहिले व्यक्तिगत प्रयोग, सरकारी भवन, सामुदायिक भवन, स्कुल, कलेजलगायत स्थानमा पनि यस प्रविधिबाट खानेपानी संकलन गर्न थालिएको छ ।

विदेशी अनुसन्धानकर्ता टाइलर मिकमाहोनले काठमाडौं उपत्यकामा यस प्रविधिबारे गरेको पछिल्लो अनुसन्धानअनुसार ९१ प्रतिशत उपत्यकावासीले विभिन्न ढंगले आकाशे पानी संकलन गर्ने गरेका छन् ।

काठमाडौंमा मात्र वार्षिक १ अर्ब ५१ करोड लिटर आकाशे पानी संकलन हुने गरेको तथ्यांक छ । यस प्रविधिको विकास गरी प्रत्यक्षरूपमा १० प्रतिशत जनता लाभान्वित भइरहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

घरको छाना र छतमा पर्ने आकाशे पानी संकलन गर्दा खानेपानी मात्र होइन, सरसफाइका लागि समेत पानी अभाव हुँदैन । आकाशे पानीलाई फिल्टरले छानेर ट्यांकीमा जम्मा गर्न मिल्छ ।

सबभन्दा माथि बालुवा, त्यसमुनि रोडा र पुछारमा अलि ठूला ढुंगा राखी पानी छानेर सुरूको फोहोर पानी अन्यत्रै व्यवस्थापन गरिने यो प्रविधिबाट बढी भएको पानी जमिनमा इन्जेक्ट गरिन्छ । अहिले जमिनबाट पानी थुत्ने मात्र काम भइरहेकाले जमिनमा पानी पस्न दिएको छैन, जसले गर्दा जमिनभित्र पानीको सतह घटिरहेको स्थापितको भनाइ छ ।

अहिले काठमाडौंमा आकाशे पानी संकलन प्रविधि जडान गर्ने कम्पनी पनि बढ्दो छन् । उनीहरू पानी समस्याको समाधान अन्यत्र नभइ आकाश र आँगनमा भएको बताउँछन् । सरकारले पनि आकाशे पानी संकलन गर्ने प्रविधि जडान गर्नेगरी घरको नक्सापास गर्न आउनेलाई शुल्कमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ तर यसको उति प्रचार–प्रसार भएको छैन ।

यस्तो पानीलाई सामान्य प्रविधिबाट छानेर पुनः प्रयोग गर्न सकिने स्थापित बताउँछन् । सहरमा घर बनाउँदा नै वर्षाको पानी संकलन गर्ने प्रविधि जडान गर्न अनिवार्य बनाउन सके पानीको समस्या मात्र होइन, भूमिगत दोहनसमेत कम हुन्छ । भारतको तमिलनाडु, दिल्लीलगायत सहरमा यो अनिवार्य छ । महानगरपालिकाले घरघरमा यस्तो प्रविधि जडान गर्नेलाई नक्सापासमा १० प्रतिशत छूट दिने घोषणा गरे पनि यसबारे सर्वसाधारण त्यति सचेत छैनन् ।

एउटा घरमा १० देखि १५ हजार रुपियाँ खर्च गरेपपछि आकाशे पानी संकलन गर्न सकिन्छ । घरको बनोट, पानी संकलनका लागि राखिएका ट्यांकीका आधारमा पानी संकलन गर्न सकिने स्थापित बताउँछन् । विज्ञहरूका अनुसार १,००० वर्ग मिटर (करिब ४ आना) मा बनेको घरबाट वर्षभरिमा १ लाख २८ हजार लिटर हाराहारी पानी संकलन गर्न सकिन्छ । उनका अनुसार एउटा सानो परिवारले आकाशे पानी संकलन गरी ६ महिना निर्धक्क प्रयोग गर्न सक्छ । तर, यो विकल्प घरमा बनाइएको र राखिएको पानी संकलन गर्ने ट्यांकीको क्षमतामा निर्भर हुन्छ ।

हाल उपत्यकामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मागको धेरै कम करिब १३ करोड लिटर हाराहारी मात्र खानेपानी उपलब्ध गराउँदै आएको छ । त्यसबाहेक निजी क्षेत्रले ट्यांकरमार्फत ७ करोड लिटर हाराहारी पानी उपलब्ध गराइरहेको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको अनुमान छ । आकाशे पानी संकलनको आधुनिक अभ्यास उपत्यकामा धेरै पुरानो होइन । पानीको महŒव बुझेकाले आफ्नै पहलमा यो अभ्यास अनुशरण गर्दै आएका छन् ।

‘व्यक्तिको निजी घरसँगै सरकारी तथा सार्वजनिक भवनमा यस्तो अभ्यास गर्ने हो भने पानीको माग कम गराउन सकिन्छ,’ स्थापित भन्छन्, ‘बाह्रै महिना पुग्छ भन्ने होइन, वर्षात्पछिका ३, ४ महिना निर्धक्क पानीको समस्या घटाउन सकिन्छ ।’ नयाँ बन्ने सार्वजनिक तथा सरकारी भवन बनाउँदा यो पक्षलाई पनि ध्यान दिन जरुरी रहेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *