‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’
शब्द/तस्बिर : घनश्याम खड्का
म्याग्दी नदीका
असंख्य खोंच र गल्छीका विकटतासँगै धौलागिरि हिमशृंखलाको दन्तलहरीमा पर्ने चुरेन र
गुर्जा हिमालको जरोमा अवस्थित एउटा जीवित मानव संग्रहालय अर्थात गुर्जा गाउँ ।

‘टुप्पीदेखि माथि
ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित गुर्जा
छन्त्याल जातिको सबैभन्दा ठूलो बस्ती हो । छिमेकी बस्तीबाट समेत हत्तपत्त कोही नपुग्ने गुर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने
सानो आँखीझ्याल पनि हो ।
समुद्र सतहबाट ३,२२० मिटर उचाइमा
अवस्थित गुर्जा गाउँको वार्षिक औसत तापक्रम ८ डिग्री सेल्सियस मात्र रहन्छ । वर्षभरिमा करिब पाँच महिना बाक्लो हिउँको सिरकले छोपिने यस गाउँमा जब हिमपातको समय हुन्छ, तब पूरै गाउँ संसारको मानवसम्बन्धबाट विच्छेद
हुन्छ । जम्माजम्मी १४२ घरपरिवारले बसोबास गर्छन् यहाँ ।

गुर्जा पुग्न
सदरमुकाम बेनीदेखि तीन दिन र सबैभन्दा नजिकको बस्तीबाट पूरै एक दिन हिँड्नुपर्छ । गुर्जावासी गाई, भैंसी, भेडापालन गरी मकै, आलु र जौ
उत्पादनबाट ६ महिना जीविकोपार्जन गर्छन् । बाँकी समय बेसाहाको भरमा जीवन गुजारा गर्छन् । एक माध्यमिक विद्यालय, स्वास्थ्यचौकी, लघुजलविद्युतको
उज्यालो तथा डाटासहितको मोबाइल फोन र डिसहोमबाट सञ्चार प्रविधि भने गुर्जा उक्लेको
छ ।
गुजमुज्ज परेका
परम्परागत शैलीका घर, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला
छन्त्यालको बस्ती । गुर्जागाउँको जीवन जति रोचक छ, त्यति नै कहालिलाग्दो पनि
छ । गुर्जागाउँ पुग्न म्याग्दी जिल्लाकै लुँला, मुदी गाउँ र
बाग्लुङको ढोरपाटन क्षेत्र गरी तीनवटा बाटोबाट झन्डै ३,५०० देखि ४,००० मिटर उचाइका
घनाजंगल भएको पहाड छिचोल्नुपर्छ । यो गुर्जावासीको अनिवार्य बाध्यता हो ।

एउटा सिँगै गाविस
भएको गुर्जागाउँमा वस्तीबाहेक भू–भागमा वडा विभाजन नै गरिएको छैन् । धौलागिरि पदयात्रा मार्गमा पर्ने यस गाउँलाई ‘पर्यटन गाउँ’ को रूपमा विकास गर्नुपर्ने देखिन्छ ।
विचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संगोलले भरिपूर्ण गुर्जागाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । जहाँ जे बाली पाक्छ, त्यहीं नै बसोवास सार्ने परम्परा गुर्जा गाउँमा अझै छ । नापी कार्यालयले जग्गा व्यक्तिको नाममा दर्ता नगरिदिएकाले गुर्जावासी भूमिहीन छन् ।

‘दुर्गम भएकाले सरकारको ध्यान पुगेन, हामीलाई कानुनी ज्ञान भएन । खेतीपाती र जंगलमा आश्रित पेसामा भएकाले जग्गाजमिनको कागजी प्रक्रिया आवश्यक परेन,’ ७२ वर्षे समाजसेवी रिद्धबहादुर छन्तेलले सुनाए । ‘व्यवहारमा जग्गाको किनबेच र अंशबन्डा भए पनि कसैले जालसाजी नगर्ने हुँदा समस्या देखिएन तर हिजोआज जमाना फेरियो, कानुनी र कागजी समस्या पर्न थालेको छ ।’
जिल्ला मालपोत कार्यालयका अनुसार परम्परादेखि नै व्यवहारमा गुर्जावासीले जग्गा–जमिनको भोगचलन गर्दै आए पनि लालपूर्जा नहुँदा पछिल्लो समय समस्या देखिन थालेको छ ।

‘व्यवहारमा जग्गाजमिनको अंशबन्डा र खरिदबिक्री भई भोगचलन गरिरहे पनि कानुनी रूपमा भने मालपोतमा गुर्जावासीको स्रेस्ता र लालपूर्जा छैन,’ मालपोत अधिकृत भरत पौडेलले बताए । ‘त्यसैले पुस्तौंदेखिको जग्गाको नामसारी, अंशबन्डाका समस्या बल्झन थालेका छन् । व्यक्तिको जग्गा दर्ता नहुँदा लालपूर्जा समस्या बनेको छ ।’
त्यतिमात्र होइन, गुर्जागाउँमा बस्तीबाहेक भूभागमा वडा विभाजन नै गरिएको छैन । नापी कार्यालयको तथ्यांकअनुसार भौगोलिकरूपमा जिल्लाको दोस्रो ठूलो २८५ वर्गकिमी क्षेत्रफलमा फैलिएको गुर्जा गाविसको बस्ती भने जम्मा २१ रोपनी क्षेत्रफलमा सीमित छ ।

२०३३ सालमा कृष्ण ज्यापुले तयार पारेको र हालसम्म प्रचलनमा रहेको नापी नक्सामा गुर्जा गाविसको ६ नं वडामा तीन, ८ वडामा एक र ९ नं. वडामा ५ कित्ता जग्गा मात्र व्यक्तिको नाममा दर्ता छ । ‘गुर्जामा नापी र मालपोतको गम्भीर समस्या छ, लालपूर्जा भएकाको पनि व्यवस्थित भएको छैन,’ नापी कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए । ‘यसका लागि छिटो सरकारले वैज्ञानिक प्रणालीबाट जग्गा–जमिन नापनक्सा तयार पारी लालपूर्जा उपलब्ध गराउन जरुरी छ ।’

कामकाजमा सजिलोका लागि समुदायले गुर्जागाउँलाई वंश र घरको आधारमा ९ वडामा विभाजन गरेका छन् । सामाजिक जीवनलाई सञ्चालन गर्न समुदायले वंश हस्तान्तरणको आधारमा वडा कायम रहने व्यवस्था मिलाएका छन् । ‘मेरा बाबुका तीन भाइ भौगोलिक रूपमा एकै ठाउँमा बस्दैनौं । जेठा दाइ गाउँको सिरानमा, माइलो दाइ पुछारमा र म बाबुआमासँग पुरानै थाँतथलोमा बस्छौं तर हामी तीन भाइको घर एकै वडामा गनिन्छ,’ स्थानीय दीप छन्त्यालले बताए । ‘त्यसैगरी ९ नम्बर वडाको व्यक्तिले भोगचलन गरेको जग्गा १ नम्बरको व्यक्तिले किनबेच गरेपछि उक्त जग्गाको वडा पनि परिवर्तन हुन्छ ।’

टुप्पीमाथि लुकेको बस्ती गुर्जालाई पर्यापदमार्गको उपयुक्त गन्तव्य बनाउन पहल सुरु भएको छ । गुर्जाको पर्यटन प्रवद्र्धनमा १८ वर्षदेखि मानवीय तथा विकास क्षेत्रमा सक्रिय अमेरिकी दम्पत्ती जोय र डुयन पोपी ‘गरिबीका लागि पर्यटन अभियान’ सहित जुटेका छन् । उनीहरूले ‘अफ द बिटन ट्रेक्स’ मार्फत् गुर्जा सेन्चुरी पर्यटन अभियान चलाएका हुन् ।
‘धौलागिरि र ढोरपाटन पदमार्गको बीचमा लुकेको बस्ती गुर्जा प्राकृतिक सुन्दरता, भौगोलिक तथा सांस्कृतिक विविधतायुक्त गन्तव्य हो,’ गुर्जाको पर्यटन सम्भावना र अनुभव सुनाउँदै अभियन्ता डुयन पोपीले भने, ‘लुकेको बस्ती गुर्जा एकपटक पुग्नैपर्ने ठाउँ हो । गुर्जा पदमार्गबारे वेबसाइट, म्याप बुक र गाइड बुक उपलब्ध छ ।’
‘व्यक्तिगत रूपमा आउने एडभेन्चर र कल्चरल पर्यटकलाई गुर्जा सेन्चुरी पदमार्ग उपयुक्त छ तर व्यक्तिगत रूपमा आउने शौखिन पर्यटकका लागि होटल–रेस्टुरेन्टलगायत आधारभूत पूर्वाधार आवश्यक छ,’ पोपीले थपे, ‘ठूलो कुरा केही छैन ।’
हाकाहाकी