प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालमा भएको उक्त कार्यक्रमका वक्ताहरुले प्रेसलाई र पत्रकारको कलमलाई नियन्त्रण गर्ने विधेयक वा कानून कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने धारणा राखे ।
कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका सल्लाहकार वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले भाषिक पत्रकारिताको विकासको लागि प्रजातन्त्र मात्र हौइन, समावेशी प्रजातन्त्र आउनु पर्ने बताए ।
नेपाल पत्रकार महासंघका उपाध्याक्ष विपुल पोखरेलले पत्रकारलाई लाइसेन्स चाहिने खालको कानून आयो भने त्यसको विरोधमा सडकमा उत्रिने बताए ।
नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले पत्रकारिता क्षेत्रमा राणा शासनकाल फर्किएको आशंका ब्यक्त गरे । काउन्सीलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार पनि जिम्मेवार ढङ्गले अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपाल विधागत पत्रकारिता विकास उपसमितिका संयोजक चेतनाथ धमला, काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषाल, पत्रकार दबूका निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जनले आ–आफ्नो भनाई राखे । प्रेस काउन्सिल नेपालको आयोजनमा भएको उक्त कार्यक्रमको संयोजन नेवाः पत्रकार राष्ट्रिय दबूले गरेको हो ।