स्वयम्भूमा भूकम्पले क्षतिग्रस्त पुजारीका घर तथा कर्मराजा महाविहारको पुनःनिर्माण ७०% निर्माण कार्य पूरा

काठमाडौं/ स्वयम्भूमा भूकम्पले क्षतिग्रस्त पुजारीका घर तथा कर्मराजा महाविहारको पुनःनिर्माणमा भएको प्रगतिका बारेमा माघ २३ गते एक कार्यक्रम आयोजना गरी जानकारी दिइएको छ ।

स्वयम्भू पुनःनिर्माण तथा व्यवस्थापन उपभोक्ता समितिद्वारा पुनः निर्माण भइरहेको कामको प्रगति विवरण स्थानीय सरोकारवालाहरु समक्ष होटल बज्र विज्येश्वरीमा जानकारी दिए ।

कामपाका प्रवक्ता एवम् १५ वडाध्यक्ष ईश्वरमान डंगोलले सहजीकरण गरेको कार्यक्रममा उपस्थित महानुभावले राखेका विविध जिज्ञासाको उत्तर प्राविधिक राजेश श्रेष्ठले दिनुभएको थियो ।

निर्माण कम्पनीका राजेश श्रेष्ठले निर्माणको क्रममा भएका कार्यहरुका साथै अहिलेसम्मको प्रगतिको बारेमा जानकारी दिए । श्रेष्ठले सबै निर्माण एकैसाथ सम्पन्न गर्ने उद्देश्यका साथ अगाडि बताए।

‘पहिले कर्मराजा महाविहारको निर्माण अघि बढ्दा पुजारीका घर नबन्ने हो कि भन्ने भ्रम उत्पन्न भएको र अहिले पुजारी घर पुनःनिर्माण अगाडि बढ्दा कर्मराजा विहार नबन्ने हो कि भन्ने भ्रम भएकोले काममा केही कठिनाइ भएको हो’, श्रेष्ठले बताए ।

स्वयम्भू क्षेत्रमा पुरातात्विक हिसाबमा निर्माण गर्नुपर्ने भएकोले पुरातत्व विभागको स्वीकृतिकै लागि पनि समय लागेको र पुरातत्वकै स्वीकृतिमा अहिले बलियो निर्माणका लागि ¥याफ्ट ढलानसहित डण्डी र सिमेन्टको प्रयोग भएको बताए ।

प्रविधि नयाँ भए पनि स्वरुप भने पुरानै दिइने र अगाडितर्फ दाचि इँटाले निर्माण गरिने भएकोले सुरुमा अनुमान गरिए भन्दा केही लागत बढ्ने श्रेष्ठले बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेता झलनाथ खनालले स्वयम्भूमा भइरहेको पुनःनिर्माणको प्रगतिले आफूलाई हौसला मिलेको बताए । खनालले निर्धारित मितिमै काम सकाउन सबै पक्ष मिलेर अगाडि बढ्न पनि आह्वान गरे ।

कार्यक्रममा काठमाडौं क्षेत्र नं. ८ का संघीय सांसद जीवनराम श्रेष्ठ, प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्य लगायतले आफ्नो मन्तव्य राखेको थियो ।

उक्त कार्यक्रममा स्थानीय समाजसेवी सुवर्णमान डंगोल, प्रकाश अमात्य, स्वयम्भूका पुजारी ईश्वर बुद्धाचार्यलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

वास्तुकला परामर्शको प्राविधिक सल्लाहमा आशिस समानान्तर जेभीले निर्माण कार्य गरिरहेको छ ।

सन् २०१९ को फेबु्रअरीबाट सुरु गरिएको निर्माण कार्य २०२० को अगष्ट १५ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको र हालसम्ममा ७०% निर्माण कार्य पूरा भएको जानकारी दिइएको थियो । सो पुनःनिर्माणका लागि १३ करोड ५२ लाख ९८ हजार ४८ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *