पशुपतिको ब्रजेश्वर जात्रा रोकिने अवस्थामा

पशुपति विकास कोषले मुआब्जा रकम नदिएकाले यो बर्ष बज्रेश्वर माता (पिंगला माई) जात्रा संचालन नहुने स्थितिमा पुगेको छ । देश र जनताको कल्याण कामनाका साथै हुरी बतास, अग्नी, जल, रोगब्याधि जस्ता प्रकोप नहोस् भन्ने कामनासाथ यो जात्रा आयोजना हुँदै आएकोछ । जात्राको ४ दिन अघिदेखि वैदिक तथा तान्त्रिक विधिद्वारा देशोद्धार पूजा (दे–पूजा) गर्ने परम्परा रहेको छ । जात्रा प्रत्येक बर्ष चैत्र महिनाको कृष्णपक्ष द्वादसीका दिन हुँदै आएको छ । बज्रेश्वर माताको जात्रा परम्परा चार वर्ण ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र बसी जातीय सद्भावकासाथ संचालन हुने विशिष्ट महत्वको पूजा तथा जात्रा हो ।

देशोद्धार पूजा संचालन समितिले प्रेस विज्ञप्तिमार्फत पशुपति विकास कोषले मुआब्जाबाट प्राप्त रकम हस्तान्तरणमा बेवास्ता गरेको कारण जात्रा रोकिने अवस्था आएको जनाएको छ । यो जात्रा रोकिँदा उपत्यकाका अन्य परम्परामा समेत असर पर्ने हुनाले बिना आयस्था पनि जात्रा निरन्तर गर्ने समितिले जनाएको छ । तर यो अवस्थाको जिम्मेवार पशुपति विकास कोष नै हुने भन्दै मुआब्जा रकमको अक्षयकोष खडा गर्ने समितिको चाहना रहेको उल्लेख गरिएको छ ।

समितिले विज्ञप्तिमा उल्लेख गरेअनुसार आफ्नै पुर्खाले नीजि सम्पति जग्गा राखी त्यसबाट प्राप्त आम्दानीबाट संचालन हुँदै आएको यस पर्व संचालनमा राज्य र पशुपति विकास कोषबाट सहयोग नलिएको उल्लेख छ । तर २०७६ साल जेष्ठ ३० गते आयस्थाको रुपमा रहेको १३ रोपनी जग्गा पशुपति विकास कोषले अधिग्रहण गरेको थियो । मोहीलाई मुआब्जा वितरण गरी घरघडेरी समेत उपलब्ध गराइसकेको अवस्थामा गुठीयारहरुले भने मुआब्जा प्राप्त गर्न सकेका छैनन् । कोषले मुआब्जा हस्तान्तरणका लागि संस्था दर्ता तथा बैंक खाता खोल्न आग्रह गरेअनुसार प्रक्रिया पुरा गरीसकेपछि पनि देशोद्धार पूजा संचालन समितिका नाममा मुआब्जा रकम जम्मा गर्न आनाकानी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *