काठमाडौं, चैत्र २८ शुक्रवार
नेपाल सशस्त्र प्रहरी बल अस्पताल बलम्बू काठमाडौंलाई उपमेयर हरिप्रभा खड्गी श्रेष्ठद्वारा पीपीई बूथ हस्तान्तरण गरिएको छ ।
नेपाटप अर्गनाइजेसनद्वारा निर्मित उक्त पीपीई बूथ अस्पतालका प्रमुख डीआईजी हरिश्चन्द्र अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

बुथ हस्तान्तरण तथा कोरोना अस्पताल निर्माणको निरीक्षणका क्रममा उपमेयर खड्गी श्रेष्ठले नेपाटपले गरेको सामाजिक उत्तरदायित्व बहनको सराहना गर्दै यस्ता सामग्रीले रोग परीक्षणमा सहयोग पुग्ने बताए ।
बिरामीको खकार नमुना जाँच गर्नको लागि यो पीपीई बुथ अत्यन्तै उपयुक्त हुने जानकारी दिंदै हालको समयमा रोग लाग्नै नदिन सरकारले जारी गरेको लकडाउनको पालना गर्न सबैलाई आग्रह पनि उपमेयर खड्गी श्रेष्ठले गरे ।
पीपीई बूथले कोरोनालगायत अन्य संक्रमक रोगहरुको परीक्षणमा सहयोग पुग्ने बताउनु हुँदै सरकारको निर्देशनानुसार यस अस्पताललाई कोरोना रोग विशेष अस्पतालका रुपमा परिणत गर्नका लागि १२० बेडको जनरल र २० बेडको आईसीयू निर्माण हाल अन्तिम चरणमा पुगेको अधिकारीले बताए ।

नेपालमा कोरोनाको संक्रमण भयावह स्थिति पुगेको खण्डमा सुरक्षित तवरले बिरामीको नमूना संकलन गर्न यो बुथको निर्माण गरेको नेपाटप अर्गनाइजेसनका सिनियर प्रोडक्सन म्यानेजर नविन्द्रमान सिंले बताए ।
‘नेपाल सशस्त्र प्रहरी बल अस्पतालद्वारा कोरोनाका बिरामीहरुलाई लक्षित गरी नेपालकै पहिलो कोरोना डेडिकेट अस्पताल सञ्चालन गरेको हुनाले यस अस्पताललाई पहिलो पीपीई बुथ हस्तान्तरण गरका हौं ।’, सिनियर प्रोडक्सन म्यानेजर सिंले बताए ।

नेपाटप अर्गनाइजेसनको सिद्धिविनायक इण्डष्ट्रिज प्रा.लि.का डाइरेक्टर रुपक श्रेष्ठले पीपीई बुथ प्रयोगको बारे जानकारी दिंदै भने पहिलो नमुना पीपीई बुथ नेपाल सशस्त्र प्रहरी बल अस्पताल बलम्बूलाई दिएको हो ।
काठमाडौंबाहिर पनि कोरोना संक्रमण जाँचको लागि बनाइएको नेपाटप पीपीई बूथ हेटौडामा हेटौडा अस्पताल, कोहलपुरमा भेरी अस्पताललाई क्षेत्रीय फ्रेब्रिकेसन युनिट्सले हस्तान्तरण गरिएको र साथै केहिदिनमा अरु अस्पताललाई पनि दिने नेपाटप अर्गनाइजेसनका श्रेष्ठले बताए ।
कोरोना भाइरस (कोभिड–१९) ले महामारीका रुपमा विश्वलाई नै आतङ्कित परिरहेको छ । नेपालमा कोरोनाको संक्रमण दोश्रो चरणमा पुगिसकेको छ । सोही कुरालाई मध्यनजरमा राखेर नेपाटपद्वारा पीपीई बुथको निर्माण गरेको हो ।