सिथि नखः पानी, संस्कृति र सम्पदा विचको अन्तरसम्बन्ध

जेठ १५, काठमाडाैं ।

सिथि नखः एक यस्तो पर्व हो जुन वर्षायाम सुरु हुनु ठिक अघि मनाईन्छ र यस पर्वको दिन स्थानीय पानीका श्रोत जस्तै इनार, धारा इत्यादी सफा गरिन्छ ।

यहि सिथि नखः एवं राष्ट्रिय पानी संरक्षण तथा सरसफाई दिवसको अवसरमा वेबिनार सम्पन्न भएको छ ।

पानी संरक्षण र सरसफाईमा सिथि नखः पर्वको भुमिका अतुलनीय भएको विभिन्न वक्ताहरुले बताए ।

साथै सहभागीहरुले परम्परागत खानेपानी प्रणाली, प्रविधि, पर्व र संस्कृति माथि भइरहेको अतिक्रमण प्रति चिन्ता प्रकट गरे ।

वेबिनारमा अनुसन्धानकर्ता राजनलाल जोशीले भने, ‘काठमाडौंमा पानीको समस्या घटाउन परम्परागत पानीको प्रणाली जस्तै पोखरी, राजकुलो, इनार र ढुङ्गेधाराको संजाललाई जोगाउनु र पुनः जागरण गर्नु पर्छ ।’

जोशीले काठमाडौंको पानीको श्रोत संरक्षण र साँस्कृतिक पानीको प्रणालीमा पोखरी, इनार र ढुङ्गेधाराको महत्वको बारेमा व्याख्या गर्नुभयो र काठमाडौंको पानीको श्रोतको संरक्षण गर्न वरपरका डाँडालाई जोगाउनुपर्ने कुरा औंल्याए ।

‘ढुङ्गेधारा पहिले देखि नै सहरको पानी वितरण प्रणालीको अमुल्य अंश रहेको छ’ । कार्यक्रममा पूर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाहले भने, ‘पानी संरक्षण र पानी जनतालाई खुवाउने त्यो बेलाको धार्मिक र साँस्कृतिक परिपेक्षमा ढुङ्गेधाराहरु निर्माण गरिएका थिए ।’

बढदो सहरीकरण संगै पानीको संरक्षण गर्न छुट्टै निति नियम र ऐन बनाउनु पर्ने कुरामा जोड दिडैं शाहले भने, ‘हामीले पानीको शुद्धता र स्वच्छता सुनिश्चित गर्न जरुरी छ । अहिले काठमाडौंका नगरपालिकाहरुले ‘‘रिचार्ज काठमाडौं’’ अभियान सुरु गरेकोमा यसको लक्ष्य पनि तय गर्नु जरुर देखिन्छ ।’

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले सिथि नखःले पानी, वातावरण, पर्यावरण, मानव सभ्यता र सरसफाईसँग प्रत्यक्ष सम्बन्ध राखेको कुरा बताए । संरचना हटाएर भएपनि पानीको मुहान जोगाउनुपर्ने श्रेष्ठले बताए ।

गोदावरीका मेयर गजेन्द्र महर्जनले बाल्यकालमा सिथि नखःको दिनमा ढुङ्गेधारा, इनार इत्यादी सफा गर्ने गरेको अनुभव सुनाए । र अहिले त्यो परम्परा र संरक्षण केही हदसम्म नष्ट भएको बताए ।

ललितपुरको टिकाभैरव राजकुलोले पहिलेको समयमा पाटनको सम्पूर्ण धारा र पोखरीमा पानी वितरण गरि बागमति सम्म पुग्थ्यो भने २०४६ साल पछि यसको संचालन सिचाई विभाग अन्तरगत पर्न गए देखि यो राजकुलो मासिन थालेको उनले बताए ।

२० वर्ष स्थानीय सरकार नहुँदा यी पानीका संरचनामा अतिक्रमण भएको र राजकुलो पूर्णरुपमा जिर्ण भएको अवस्था थियो तर हाल उनले यस राजकुलो पुनर्जिवित गर्न प्रयासरत रहेको पनि बताए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वर मान डंगालेलले काठमाडौंमा पानी संरक्षण गर्न ‘‘रिचार्ज काठमाडौं’’ अभियान सुरु गरेको बताए । यस अन्तर्गत हरेक घरले आकासेपानी संकलन तथा पुनःभरण गर्नुपर्ने धारणा राखे ।

साथै नगरपालिकाले पुराना पोखरी, ढुङ्गेधारा इत्यादी पहिचान गरेर त्यस वरपर संरचनाहरु निर्माण गर्न नदिने कुरा पनि बताउनु भयो । हरेक व्यक्ति समुदायले आफै जागरुक भएर स्थानीय परमपरागत रैथाने प्रविधिको संरक्षण र प्रवद्र्धन गर्नु पर्ने कुरामा प्रवक्ता डंगोलले जोड दिऐ ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य मनराजा रन्जीतका अनुसार काठमाडौं महानगरपालिकाले ‘‘रिचार्ज काठमाडौं’’ लाई महाअभियानको रुपमा लिएको र ढुङ्गेधारा र पोखरीको संरक्षणमा पनि योजना बनाउने क्रममा रहेको बताए ।

छलफलका क्रममा आई टि पि सुवासका नेपाल संयोजक रविन लाल श्रेष्ठले सिथि नखः नेवारको मात्रा पर्व नभई यो राष्ट्रिय पर्व भएकोेले यसलाई राष्ट्रिय स्तरमा मनाउनु पर्ने धारणा व्यक्त गरे ।

उनले पानीको श्रोत संरक्षणमा महालक्ष्भी र गोदावरी नगरपालिकाका मेयरले गरेको प्रतिवद्धताको प्रशंसा गरे र सवै नगरपालिकाका मेयरबाट यस्तै प्रतिवद्धताको आशा गरेको बताए ।

कार्यक्रमका संयोजक तथा गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले परम्परागत खानेपानीका श्रोत संरक्षणका लागि राज्यले बैज्ञानिक अध्ययन गरी श्रोतको नक्साङ्कन छिटो भन्दा छिटो गर्नुपर्ने बताए ।

अमात्यले ऐतिहासिक ढुङ्गेधारा, इनार, पोखरी र त्यससँग जोडिएको मुहान संरक्षणका लागि आवश्यक राष्ट्रिय ऐन कानुन यथाशिघ्र निर्माण गर्नुपर्ने कुरामा जोड दिए ।

वेबिनारको अन्त्यमा प्राचिन तथा परम्परागत पानी प्रविधि र प्रणालीको संरक्षण र प्रवद्र्धन अपरिहार्य भएको निष्कर्षमा पुगे ।

यस्ता परम्परागत पानीका संरचनाहरुको संरक्षणका लागि जिम्मेवार निकाय राज्यको तिनै तहमा तोक्नुपर्ने सहभागीहरले बताए ।

सिथि नखः पर्वलाई राष्ट्रिय पानी संरक्षण र सरसफाई स्वच्छता दिवसकोरुपमा राज्यले मान्यता दिनुपर्ने माग वेविनारका सहभागीहरुले राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *