२७ जेठ, काठमाडौं । प्रहरीले जवर्जस्ती पसल बन्द गराउन खोजेपछि आज विहान काठमाडौंको न्यूरोड क्षेत्रमा तनाव भएको छ ।
प्रहरीले जवर्जस्ती बन्द गराउन खोज्ने र ब्यापारीले खोल्ने अडान राखेपछि न्यूरोडमा केही समय प्रहरी र ब्यापारीहरुबीच भनाभन समेत भएको छ ।
पसल बन्द आग्रह गरेपछि व्यवसायी अटेर गर्दा झडपको स्थिति उत्पन्न भएको प्रत्यक्षदर्शीले बताएका छन् । निकै समयको विवाद र घम्साघम्सीबीच पनि व्यवसायीले पसल बन्द गर्न नमानेपछि अहिले न्यूरोड क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको आब्हानमा केही दिनदेखि खुलिरहेका पसल आज विहान प्रहरीले जवर्जस्ती बन्द गराउने प्रयास गरेको हो ।
प्रहरीले न्युरोड गेट, रन्जना गल्ली आसपासमा विहान खुलेका पसलहरु बन्द गराएको हो । ब्यापारीहरुले भने लामो समयको लकडाउनले गुजारा चलाउन र भाडा तिर्न समेत समस्या भएको भन्दै पसल खोल्नुको विकल्प नभएको बताउँदै आएका छन् ।
प्रहरीले भने लकडाउन उलग्घन गर्दै पसल सञ्चालन गरिएकाले प्रशासनको आदेशमा बन्द गराइएको जनाएको छ । व्यापारीहरुले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लंघन गरेर केही दिनयता उपत्यकामा पसल सञ्चालन गर्दै आएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको बैठकले व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेका थिए। सोहीअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्च स्तरीय समितिलाई सिफारिस गर्ने निर्णय गरिएको थियो।
समितिलाई सिफारिस गरिएता पनि निर्णय भइनसकोले अहिले पसल खोल्न नपाउँने बताउँदै प्रजिअ दाहालले भने, ‘नेपाल सरकारले निर्णय नगरेसम्म खोल्न पाइँदैन। प्रहरीलाई त्यहीअनुसार बन्द गराउन भनेको छु ।’
चैत ११ देखि जारी भएके जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको सरकारले लकडाउनको पूर्णपालना गराउन निर्देशन दिदै आएको छ भने काठमाडौं लगायत देशका बिभिन्न शहरमा व्यवसायीहरुले एकतर्फी निर्णयको आधारमा भएपनि पसल सञ्चालन गर्न थालेका छन् । मोफसलका केही शहरमा भने स्थानीय प्रशासनको अनुमति र सहमतिमा पसल व्यवसाय सञ्चालन हुँदै आएको छ ।
कोरोना भाइरसले गर्दा नेपालमा आजसम्म १४ जनाको मृत्यु भएको छ । त्यस्तै १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टिन, ३ हजार २ सय ६० जना आइसोलेसनमा छन् भने ३ हजार ७ सय ६२ संक्रमित मध्ये ४ सय ८८ जना निको भएर घर फर्किसकेका छन् ।