मेडिकल कलेजको एम्बुलेन्समा गाँजा

२८ जेठ, काठमाडौं । वीरगन्जमा बुधबार लकडाउनको मौका छोपी बिरामी बोक्ने एम्बुलेन्सबाट ५६ किलो लागूऔषध गाँजा बरामद भएको छ ।

बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो । प्र्रहरीले एम्बुलेन्समा गाँजासहित तीन जनालाई पक्राउ पनि गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नं. २७ रामपुरटोलमा बुधबार बिहान ३ बजे गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । १२ बर्षअघि २०६४ सालतिर बिरामी बोक्ने एन्बुलेन्समा रक्तचन्दन तस्करी गरेको समाचार आएको थियो ।

एम्बुलेन्स र बरामद गाँजा बुधबारै बिहान प्रहरीले सार्वजनिक गरेको छ । पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारतर्फ लैजान लागिएको उक्त गाँजा सहित पक्राउ पर्नेहरुमा जितबहादुर वाइवा, दिलबहादुर वाइवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने हरिशंकर महतो छन् ।

पत्रकार सम्मेलनमा डिएसपी थापाले लकडाउनको बेला सुविधाको गाडी प्रयोग गरेर यस्ता गतिविधि गर्ने सन्जाल नै हुनसक्ने भएकाले निगरानी बढाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *