२८ जेठ, काठमाडाैं । भूकम्प गएकै दिन उद्घाटन गर्ने योजना रहेको रानीपोखरीको पुनःनिर्माण लकडाउनका कारण पुरा हुन सकेन ।
अहिले रानीपोखरीको ८० प्रतिशत काम सकिएको र मन्दिरको काम पनि ४० प्रतिशत काम सकिसकेको छ । कुनै बेला ‘चुना र शुर्की अहिलेको जमानामा नपाइने’ भन्दै पुरातत्व विभागले रानीपोखरीलाई आधुनिक शैली र स्वरुपमा पुनर्निर्माण गर्ने खोजेको समाचार आएको थियो ।
पुरातत्व विभागका एक अधिकृतले पोखरीमा कंक्रिट प्रयोग गर्नु गलत हो तर मल्लकालीन शैली र स्वरुपमा रानीपोखरीको पुनर्निर्माण अहिलेको जमानामा सम्भव छैन भनेका थिए ।
राजा प्रताप मल्लले विसं १७२७ कात्तिक १७ गते रानीपोखरी निर्माण गरेका थिए। विसं १९९० को भूकम्पले भत्किएपछि पुनर्निमाण गरिएको रानीपोखरी पुनः २०७२ को भूकम्पमा क्षति भएको हो।
पुनर्निर्माण क्रममा रहेको रानीपोखरीमा दुई दिनअघि जमेको वर्षाको पानीले समस्या उत्पन्न भएको छ। पिँध निर्माण नसकिँदै आकासेपानी जम्दा काम रोकिएको छ।