असारमा बजेट खर्चिने प्रवृत्ति गलत

३ असार, काठमाडाैं । राष्ट्रिय सभाका सांसदहरूले मुलुकको सामाजिक, सांस्कृतिक रूपान्तरणमा विनियोजन विधेयकका विविध पक्षमा छलफल गर्नुभएको छ । विधेयकप्रति सांसदहरूको मिश्रित विश्लेषण छ ।

विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि सुझाव दिने क्रममा सांसद् डा. वेदुराम भुसालले विनियोजित बजेट २०७७ ले शिक्षा क्षेत्रमा रहेका ज्वलन्त समस्या समाधानमा पर्याप्त केन्द्रित हुन नसकेको बताए ।

सांसद् रामनारायण विडारीले विकास बजेट दुरुपयोग हुन नहुने सुझाव दिए । विकास निर्माणका बजेट ठीक समयमा खर्च होस् भनेर जेठ १५ मै सङ्घीय बजेट ल्याउने व्यवस्था गरिएको स्मरण गराउँदै सांसद् विडारीले कागजमा मात्र खर्च गर्न नहुने बताए । सुरुमा खर्च गर्न नसक्ने तर आर्थिक वर्षको अन्तिममा बजेट खर्च गर्ने पुरानै प्रवृत्तिले देश विकास नहुने विडारीकाे भनाइ छ ।

अर्का सांसद् खिमलाल भट्टराईले विनियोजित बजेट भुगोललाई समेट्ने गरी आएको र महिलालाई विकाससँग जोड्नेमा ध्यान दिएको चर्चा गरे । सांसद तुलसाकुमारी दाहालले आन्तरिक मूल्याङ्कनको माध्यमबाट अस्थायी शिक्षकहरुलाई स्थायी गर्न माग गरे ।

सांसद हरिराम चौधरीले विनियोजन विधेयकले कैलालीको दुईवटा निर्वाचन क्षेत्रमा नौवटा मन्दिर निर्माणको बजेट राखिएको बताए । आदिवासी थारुको बसोबास रहेको कैलालीमा उनीहरूको संस्कृति जगेर्ना गर्ने खालको बजेट नपरेकोमा आपत्ति जनाए ।

बैठकमा सांसधरू चक्रप्रसाद स्नेही, तारामान स्वार, दिपा गुरुङ, जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की, राधेश्याम पासवान, कोमल ओली, सावित्रा विसी, इन्दु कडरिया, मायाप्रसाद शर्मा, भगवती न्यौपाने, विमला घिमिरे, इन्दिरादेवी गौतम, गङ्गाकुमारी बेल्वासे, दिलकुमारी रावल थापा, देवेन्द्र दाहाल, अगमप्रसाद बान्तवा, प्रकाश पन्थ, तारादेवी भट्ट, भैरवसुन्दर श्रेष्ठ, महेन्द्रसिंह यादव र अनिता देवकोटालगायतले विभिन्न शीर्षकमा सुझाव दिएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *