स्थानीय बिषयकाे पाठ्यक्रम नेपाल भाषामा पढाइने

‘विद्यालय शिक्षामा नेपाल भाषाको स्थानीय पाठ्यक्रम बनाई लागु गरिने छ ।’ नीति तथा कार्यक्रम सावजनिक गर्दै काठमाडाैं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

 २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबर्द्धन, आवागमन ब्यबस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ ।

‘यसरी निर्माण गर्ने पाठ्यक्रममा उपत्यकाको भाषा, रहनसहन, संस्कृति, सम्पदा लगायत नैतिक शिक्षालाई समेत समेटिने छ ।’ प्रमुख शाक्यले भने, ‘महानगरभित्रका विद्यालयहरुको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद्हरू सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गरिने छ ।’

महानगरपालिकाले जीवनउपयोगी, व्यावसायिक एवं प्रविधियुक्त पूर्वाधार सहित नैतिक तथा मनोवैज्ञानिक शिक्षामा जोड दिई विद्यालयको समग्र शैक्षिक गुणस्तरमा सुधार गर्ने नीति लिएको छ ।

विद्यालयहरूबीच वार्षिक रूपमा आविष्कार प्रतिस्पर्धाको आयोजना गरी विद्यार्थीहरूको सिर्जनशीलतालाई प्रोत्साहन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘सामुदायिक विद्यालयहरूमा अनलाइन तथा दूर शिक्षाको माध्यमबाट पनि पठनपाठन गराउन सकिने गरी आवश्यक पूर्वाधारको व्यवस्था गरिनेछ ।  महानगरपालिकाको आफ्नै एक प्रविधिमैत्री सिटी लाइब्रेरी स्थापना गरी सञ्चालन गरिनेछ ।’

बाल शिक्षा, प्राथमिक तहको शिक्षा, आधारभूत तहको शिक्षा र माध्यमिक तहको शिक्षालाई विशिष्टिकृत गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रम सावजनिक गर्दै प्रमुख शाक्यले भने ।

‘सबै सामुदायिक माध्यमिक विद्यालयहरूमा विज्ञान तथा कम्प्युटर प्रयोगशाला स्थापना तथा स्तरोन्नति गरिनेछ । छनौट भएका विद्यालयहरुमा STEAM Club स्थापना गरी विज्ञान, प्रविधि, इञ्जिनीयरिङ्ग, कला र गणितमा आधारित आविष्कारका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

महानगरपालिकाले विद्यालयको पढाई बिचैमा छोड्ने विद्यार्थीहरूको मनोबललाई उच्च गर्न आवश्यक पूर्वाधार निर्माण गरी बालमैत्री शिक्षण पद्धतिलाई अबलम्बनगर्ने, स्थानीयबासी, जेहेन्दार, गरिब, विपन्न तथा अपाङ्गता भएका वालवालिकालाई आवश्यकतानुसार पाठय्पुस्तक, पाठ्यसामाग्री र पोसाक लगायतका सामाग्री उपलब्ध गराई अभिभावकत्व प्रदान गर्ने कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *