१० असार, काठमाडाैं ।
काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७७/७८ का लागि रु १६ अर्व ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
महानगर उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गरेकाे छ ।

तस्बिरहरू – शरण डंगाेल
उनले प्रस्तुत गरेको बजेटमा आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख बिनियोजन गरिएको छ । यो रकम कुल बजेटको १ दशमलम ५ प्रतिशत हो । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरेको छ । यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो ।
महानगरले पूर्वाधार बिकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट बिनियोजन गरेको छ । यो कुल बजेटको ५१ दशमलब ३४ प्रतिशत हो । त्यस्तै,सामाजिक बिकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट बिनियोजन गरेको छ । जुन कुल बजेटको १५ दशमलब २२ प्रतिशत हो । त्यसैगरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख बजेट बिनियोजन गरेको छ ।
जुन कुल बजेटको ५ दशमलब ८६ प्रतिशत हो । शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार बिनियोजन गरेको छ । जुन कुल बजेटको १५ दशमलब ६८ प्रतिशत हो ।
महानगरको आर्थिक बर्ष २०७७–०७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । जसमध्ये अन्तरिक श्रोतबाट कुल रु ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ । यो कुल आम्दानीको ४१ प्रतिशत हो । त्यसैगरी बाह्य श्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, शसर्त अनुदान बाट रु २ अर्ब ५७ करोड ५१ लाख ५ हजार, सामाजिक सुरक्षा भत्ता बापत रु १ अर्ब २० करोड, जग्गा एकीकरण बाट ९६ करोड ८ लाख २६ हजार गरी कुल रु ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ ।
जुन कूल आम्दानीको ३७ दशमलब ५० प्रतिशत हो । कुल आम्दानीमा नपुग हुने रकम रु ३ अरब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यो कूल आम्दानीको २१ दशमलब ३० प्रतिशत हो ।
महानगरपालिकाको आन्दानी प्रक्षेपण
आन्तरिक स्रोतबाट महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख आन्दानी गर्ने लक्ष्य लिएको छ । जस अन्तर्रगत प्रमुख स्रोतका रुपमा रहेको बहाल करबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ भने सम्पत्ति करबाट ८० करोड उठाउने लक्ष्य लिएको छ । त्यसैगरी व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड असुली गर्ने लक्ष्य पनि महानगरपालिकाले लिएको छ भने शुल्क आयबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ । कवाडी करलगायतबाट पनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट कुल बजेटको ४१ दशमलब १९ प्रतिशत असुल गर्ने लक्ष्य लिएको छ ।
कोभिड–१९ को असर र रोकथाम न्युनिकरणलाई प्राथमिकता
कोभिड–१९ ण्को असर, त्यसको रोकथाम र यसवाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरिएको छ ।
महानगरका लागि बिशेष महत्व मानिने योजनाहरु महानगरको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात ब्यबस्थापन जस्ता कार्यक्रमहरुलाई बजेटमा प्राथमिकतामा राखिएको छ ।
सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत शिप बिकास कार्यक्रम, मेड इन काठमाडौँ, जीबन निर्वाहका लागी पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस संचालन, प्रबिधीमैत्री सिटि लाइब्रेरी, महानगर महिला सहजिकरण केन्द्र स्थापना तथा संचालन, युवासंग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिबिर संचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरुका लागि पनि महानगरपालिकाले बजेट बिनियोजन गरेको छ ।
गोष्ठी, तालिममा बजेट कटौती, सम्पदा संरक्षण र पूर्वाधारमा जोड
त्यसैगरी महानगरले आगामी आर्थिक बर्षमा सम्पदा संरक्षण तथा सम्बर्दन र पूर्वाधार बिकासलाई महत्व दिई बजेट बिनियोजन गरेको छ । गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ । ‘महानगरबाट संचालित बिकास कार्यक्रमको सुनिश्चितताको लाकि सुत्रमा आधारित बजेट प्रणाली, महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशिलता जस्ता पारित नीति तथा कार्यक्रमहरुले महानगरले निर्धारित गरेका लक्ष्य हासिल हुने बिश्वास लिएका छौँ,’ बजेट प्रस्तुत गर्दै उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले भनिन्, ‘हामीबाट संचालित बिकासका गतिबिधीहरुले समयमा नै लक्ष्य हासिल गरी जनअपेक्षा पुरा गर्न हामी जनप्रतिनिधी,सम्बद्ध कर्मचारी सबैको उच्च निष्ठा, प्रतिबद्धता र सकारात्मक सोच आवश्यक छ भन्ने कुरामा कुनै शंका छैन ।’
कर बक्यौतामा लाग्ने जरिवानामा पूर्ण छुट
महानगरले कोभिड–१९ को प्रभावका कारण करदाताहरुबाट असुल हुन बांकी रहेको आर्थिक बर्ष २०७६–०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ । त्यसैगरी कोभिड–१९ का कारण महानगरबासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक बर्ष २०७७÷०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक बर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने जनाएको छ । ‘घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट दिइने छैन,’ आज प्रस्तुत आर्थिक विधेयकमा भनिएको छ, सर्वसाधारणहरुको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यवसायिक रुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ बर्षसम्म सम्पत्ति कर छुट हुनेछ ।’
होटल तथा पर्यटन क्षेत्रलाई सम्पति करमा भारी छुट
महानगरले हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएका असरलाई मध्यनजर गरी होल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक बर्ष २०७६÷७७ सम्मको घरजग्गा कर सम्पत्ति कर चुक्ता गरेमा आर्थिक बर्ष २०७७÷७८ को सम्पत्ति करमा थप पचहत्तर प्रतिशत छुट दिने जानकारी दिएको छ । २०७७ पुस मसान्ता भित्र सम्पती कर बुझाएमा हुने दश प्रतिशत छुट समेत जोड्ने हो भने होटल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पति करमा छुट हुन आउँछ ।
बार्षिक बहाल करमा १० प्रतिशत छुट
महानगरले हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले घर भाडामा बस्ने नगरबासीहरुलाई पर्नगएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६÷७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने भएको छ । ‘तर, आर्थिक बर्ष २०७६÷७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतकोबहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताहका हकमा कोभिड–१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक बर्ष २०७७/ ७८ मा बुझाउनुपर्ने बाषर््िाक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिनेछ,’ आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।
व्यवसाय करमा ५० प्रतिशतसम्म छुट
महानगरले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले महानगर क्षेत्रमा ब्यापार ब्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ ।
महानगरले आर्थिक बर्ष २०७७/७८ मा लाग्ने ब्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसंग सम्बन्धित ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा पचास प्रतिशत र अन्य सबै ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा बीस प्रतिशत छुटको व्यवस्था गरेको छ ।
होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटल, चारतारे होटल, तिनतारे होटल,दुइतारे होटल, एकतारे होटल, चलचित्र प्रर्दर्शनी घर,साधारण होटल, लज, गेष्ट हाउस, होमस्टे,होस्ट, रेष्टुरेन्ट एण्ड बार ट्राभल र ट्रेकिङ एजेन्सी, रिक्रियसन खेललगायत रहेका छन् ।
त्यस्तै, होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा विदेशी विमान सेवा स्वदेशी विमान सेवा हस्तकला निर्यात ब्यवसाय, क्यासिनो, वायुयान भाडामा लगाउने व्यावसाय, डिस्को थेक, नाइट क्लब, विविध मनोरञ्जन सेवा प्रदान गर्ने व्यावसाय, थान्का पसल, बैदेशिक रोजगार संपर्क व्यवसाय, डान्स सेन्टर, संगित सम्वन्धि सेवा प्रदान गर्ने व्यावसायलगायत पर्दछन् ।