१३, असार, काठमाडाैं ।
नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदैगर्दा खतरनाक किरा सलहको प्रवेश नेपालमा भएकाे छ ।
गत वर्ष फौजी किराले बाली नष्ट पारेको पीडा सेलाउन नपाउँदै यस वर्ष पनि सलह किराको अर्को चुनौती किसानहरूले सामना गर्नु पर्ने अवस्था आएको छ ।
सलह साधारण फट्याङ्ग्रा प्रजातिको एक विश्वकै खतरनाक आप्रवासी कीरा हो। सिङ छोटो भएको यो सामान्य फट्याड़ग्राभन्दा ठूलो हुन्छ । यसको पछाडिका खुट्टा दह्रा र मोटा हुन्छन् । यसैकारण यसको उफ्रिने क्षमता निकै बढी हुने गर्दछ।
यो किरा समूहमा बस्न मन पराउँछ । झुण्डमा रहने यी कीराहरुले सेरोटोनिन नामक हार्मोन आ-आफ्नो मस्तिष्कमा उत्पादन गर्छन जसले यिनीहरुलाई समूहमा आक्रमण गर्ने, एक ठाँउबाट अर्को ठाँउमा जाने जस्ता सामुहिक काम गर्छन्।
सलह किराकाे महामारी, लाखौं हेक्टरको बाली नस्ट गर्दै
सर्लाहीमा देखा पर्यो सलह किरा
सर्लाहीमा सलह किरा देखापरेपछि यति बेला किसानहरू चिन्तित बनेको छ । लालबन्दी नगरपालिका वडा नं. १ मा रहेको तेल बाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा आज बिहान सलह किराको विशाल झुन्ड फेला परेपछि बाली नाली नष्ट हुने डरले किसानहरू चिन्तित बनेका हुन ।
तेल बाली अनुसन्धान कार्यक्रमको कार्यालयको बालीहरूमा सलह किराको झुन्ड देखिएको छ । सलह किरा बालीनालीमा एकसाथ ठुलो सङ्ख्यामा बसेर बालीसहित बोट नै खाने गरेकोले आफूहरूले लगाएको धान बालीमा नष्ट गरिदिने चिन्ता लागेको चन्द्रनगर वडा नं. २ का किसान विक्रम दासले बताए ।
गतवर्ष आफूहरूले फौजी किराको प्रकोप झेल्नु पर्यो अब योवर्ष फेरी सलह किराले बाली सखाप गरिदिने हो की चिन्ता लागेको उनले बताए ।
नवलपुरमा रहेको तेल बालीमा बदाम ,घैँचा, धानको बेर्ना लगायतमा सलह किराले छोपी सकेको छ । साँझ ८ बजेसम्म किरा देखिएको थिएन, बिहान ६:१५ मा किरा देखिएको थियो । त्यहाँ हजारौँको सङ्ख्यामा किराको झुन्ड रहेको तेल बाली अनुसन्धान कार्यक्रम कार्यालयका प्रमुख डा. विश्वेश्वर प्रसाद यादवले जानकारी दिए ।
बिहान किरा भगाउन ड्रम पनि बजाएका थियौँ र किरा नियन्त्रण गर्न कलोरापाईरपस, साइफरमिथरीन मिसाएर ५ एमएल पर लिटर पानीमा हालेर स्प्रे गर्दा किरा मर्ने कार्यक्रम प्रमुख यादवले बताए ।
‘अहिले लाखौँ करोडौँ सङ्ख्यामा यो किरा नदेखिएको र यो हजाराैंकाे सङ्ख्यामा मात्र देखिएकोले किसानहरू आत्तिनुपर्ने, डराउनु पर्ने अवस्था नरहेको प्रमुख यादवले बताए । अहिले किरा नियन्त्रणका लागि स्थानीयसहित कार्यालयका प्राविधिकहरू खटेका छन् । बालीहरूमा क्षति पुर्याउन थालेपछि किरा मार्न औषधी छर्किने कार्य हुने कार्यक्रम प्रमुख यादवले जानकारी गराए ।
बुटवलमा पनि देखा पर्यो सलह किरा
प्रदेश नम्बर ५ को रूपन्देहीमा सलह कीरा देखिएका छन्।
शनिबार दिउँसो बुटवल आसपास क्षेत्रमा सलह कीरा देखिएको हो। गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले कीट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए।
स्थानीयले सलह देखिएको जानकारी गराएपछि निरीक्षण गर्दा उक्त किरा सलह नै रहेको कीटविज्ञ दीपक खनालले जानकारी दिए।