खोकनामा किसान र प्रहरीबीच झडप, धान रोपाइँ गर्न गएका किसानहरुलाई सरकारपक्षबाट नै दमन

२० असार, काठमाडाैं।

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’नाराका असार १५मा धान दिवस मनाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सदुपयोगको सिद्धान्तअनुसार जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्याधिक उत्पादन र प्रतिफल दिने गरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन वृद्धिमा केन्द्रित हुन आग्रह गरेका थिए ।

तर, आज असार २० गते ठीक त्यसको विपरित ललितपुरस्थित खोकनाको सुडोल फाँटमा धान रोपाइँ गर्न गएका किसानहरुलाई सरकारपक्षबाट नै दमन भएको छ ।

प्रधानमन्त्रीको सन्देशअनुसार सदुपयोगको सिद्धान्त अपनाएर जमीन खेर फाल्न नहुने र ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ नारालाई सार्थक बनाउन आफ्नो खेतमा जग्गाधनी लालपूर्जासहित लिएर रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गरेको छ ।

असार १५ गते खेतमा धान रोप्ने पुगेका किसानलाई प्रहरीले रोकेपछि शनिवार उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकनामा पुगेका हुन्।

रुद्रायणीबाट करिब आधा घण्टा हिँडेर खुदोल पुगेका सयौं व्यक्तिले खोकनाको सभ्यता विनाश गर्न नपाइने भन्दै नारा लगाएका थिए।

स्थानीय किसानले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि शनिबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

स्थानीय कृषकहरुले आफूविरुद्ध तैनाथ गरिएको प्रहरीलाईे सहयोग गर्न आग्रह समेत गरेका थिए।
स्थानीय किसानहरुले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने भन्दै रोपाइँ गर्न थालेका थिए । स्थानीयलाई रोपाइँ गर्न प्रहरीले अवरोध गरेपछि स्थानीय किसानको समर्थनमा पुगेका एकहजारभन्दा बढी आन्दोलनकारीले सीमा चाहिने सुरक्षा फौज खेतमा किसानी गर्ने बिरुद्ध प्रयोग भएको भन्दै नाराबाजी समेत गरेका थिए । यहिक्रममा प्रहरीले अचानक लाठीचार्ज गरेको हो ।

ललितपुर महानगरपालिका २१ वडा अध्यक्ष कृष्णभक्त महर्जनले प्रहरीले बिना चेतावनी लाठीचार्ज गरेको छ । स्थानीयसँगै उपत्यकाको विभिन्न स्थानबाट आएका नागरिकहरु प्रहरी दमनको प्रतिकारमा उत्रिएको हो ।

रोपाइँ गर्न आएका किसान र प्रहरीबीच भएको झडपमा लाठीचार्जका साथ बीस सेल अश्रुग्यास र तीनपटक हवाई फायर भएको छ।



लाठीचार्ज, अश्रुग्या र हवाइ फायर बावजुद स्थानीयहरले आफ्नो खेतमा रोपाइँ कार्य पुरा गरेको छ ।
झडपमा घाइते भएकाहरुको अल्का अस्पतालमा उपचारका लागि लगिएको छ ।

खोकनाको अन्न भण्डारका रुपमा रहेको कुदेश, खुदोल हुँदै सरकारले फास्ट ट्रयाक निर्माण गर्ने घोषणा गरेदेखि त्यसको विरोध भइरहेको छ। निर्माणधीन फास्ट ट्रयाकका कारण ऐतिहासिक सिकाली मन्दिर र खोकनाको संस्कृति नै लोप हुने संघारमा पुग्ने भन्दै शनिवार उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु खोकनामा पुगेका हुन्।

फास्ट ट्रयाकका कारण बुंगमती, खोकना, कुदेश र सिकाली मन्दिरको सांस्कृतिक र ऐतिहासिक सभ्यताका साथै उपत्यकाकै खेती योग्य जमिन मासिने भन्दै स्थानीयले विरोध गर्दै आएका हुन्।

२०७४ जेष्ठ १४ गतेका दिन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराको निजगढमा काठमाडौं–निजगढ फास्ट ट्र्याकको शिलान्यास गरेका हुन् ।

७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माणको जिम्मा भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निमार्णाका लागि दिने प्रस्ताव रद्द गर्दै सरकारले नेपाली सेनालाई दिएको थियो ।

खोकना, चाल्नाखेल, मकवानपुरको इपा, गढी, छतिवन र लालगाउँ हुँदै बाराको निजगढ जोडिने फास्ट ट्याक काठमाडौंबाट १ घन्टामा पुग्न सकिने बताइएको छ ।

तस्बिरहरू सामाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *