२८ असार, काठमाडाैं ।
काठमाडौं जस्तो पानीको समस्यासँग जुधिरहेको सहरको लागि वर्षायाम एक वरदान भन्दा कम छैन । प्राकृतिक स्रोत आकासेपानी पानीकोे सही उपयोग गरेमा यसले पानीको समस्या धेरै हदसम्म समाधान गर्न सक्छ ।
आकासेपानी संकलन र पुनर्भरणलाई प्रोत्साहित गर्ने उद्देश्यले गुथि र ह्याण्डमेड वाटरले संयुक्तरुपमा यससम्बन्धी जिज्ञासा र जवाफ शत्र असार २७ गते शनिवारको दिन अनलाईन मार्फत सम्पन्न गरेको छ ।
कार्यक्रममा पुर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाहले अहिलेको समयमा पानीको सुविधा उपलब्धता गराउनु प्रत्येक स्थानीय तहको कर्तव्य भएको भन्दै काठमाडौं जस्तो शहरी क्षेत्रमा जमिनको पानीको मात्रा घटदै गइरहेको बताए । ‘पानीका स्रोतहरु पनि सुक्दै गइरहेको र भारी वर्षातको समयमा यहाँ प्रत्येक वर्ष सडकमा बाढीले समस्या निम्त्याईरहेको हुन्छ ।’ उनले भने, ‘यसको दिर्घकालिन समाधान भनेको आकासेपानी संकलन र जमिन पुनर्भरण गर्नु हो ।’
यसको लागि काठमाडौं महानरपालिकाले ल्याएको रिचार्ज काठमाडौंको निति सबैमा आशा बनेको भए पनि धेरैलाई यसको बारेमा जानकारी नभएको देखिन्छ । महानगरपालिका र नगरपालिकाले भवनको नक्सा पास गर्दा आकासेपानी संकलन प्रविधिलाई अनिवार्य गराउनुका साथै प्रत्येक वर्ष अनुगमन गर्नु पनि जरुरी भएको उनले बताए ।
काठमाडौं महानगरपालिकाले आकासेपानी संकलन र पुनर्भरणका लागि रिचार्ज काठमाडौं कार्यक्रम नितिमा आइसकेको र यसको कार्यविधि तयार गरि विभिन्न चरणमा छलफल भइरहेको बारे काठमाडौ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले उक्त वेबिनार कार्यक्रम मार्फत जानकारी दिए ।
‘आकासेपानी संकलन र पुनर्भरणका लागि सम्भावित क्षेत्रको पहिचान, खुला क्षेत्र र परम्परागत इनार, ढुङ्गधारा र पोखरीहरुको अभिलेखिकरण र नक्सामा समाबेस गर्न प्रयासरत रहको छौ ।’ उनले भने ।
नमुना कार्यक्रमकारुपमा गोंगबु क्षेत्रमा ३ वटा इनार बनाएर कति रिचार्ज गर्न सकिन्छ भन्ने अध्ययन गर्दा सोचेको भन्दा बढी पानी पुनर्भरण भएको उनले जानकारी दिए । ‘महानगरपालिकाले हरेक पार्कमा आकासेपानी रिचार्ज पिट बनाउने निर्णय गरेको छ ।’ उनले भने, ‘साथै सर्वसाधारणले घर बनाउँदा रिचार्ज पिट बनाएमा केही सहुलिएत दिने र यसका लागि ३ वर्षिय कार्ययोजना तयार भइसकेको छ ।’
‘काठमाडौंका वासिन्दालाई यसको गुणस्तरता र प्रविधिका बारे जानकारी नभएको, यो प्रविधि खर्चिलो तथा पुरानो घरमा जडान गर्न झनझटीलो हुने मनोभावना रहेको छ ।’ आकाशेपानीमा अनुसन्धानकर्ता अनुसा थापाले भने, ‘यसको निराकरणका लागि महानगरपालिकाले आकासेपानी संकलन तथा पुनर्भरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम ल्याउनु पर्छ ।’
काठमाडौं महानगरपालिकाका वातावरण अधिकृत सानु मैयाँ महर्जनले २०५५ सालबाट आकासेपानी संकलन सुरु गरेको बताउँदै त्यस समयमा पानी संकलन गर्ने ट्याँकी भएता पनि पुरानो घर भएकोले विभिन्न भाँडामा संकलन गर्ने बताए । ‘२०७६ सालबाट मैले ३० हजार लिटरको अन्डर ग्राउन्ड टयाँकी सहितको घर निर्माण गरेको छु । मेरो घर सानो भएता पनि टयाँकी ठुलो बनाउने सोच थियो । यो वर्ष मैले ८७ हजार लिटर पानी संकलन गरी ४० हजार लिटर जोगाउन सफल भएको छु ।’, उनले भने ।
‘विद्यालयको भवनको छतबाट आकासेपानी संकलन गरी उक्त संकलित पानीलाई सेरामिक फिल्टरको प्रयोगबाट प्रशोधन गरि आफ्नो सम्पूर्ण विद्यार्थीलाइ खुवाइरहेको र अहिले सम्म कुनै समस्या आएको छैन ।’ छलफलका क्रममा पुर्णकलश मोन्टेश्वरीका प्रधानाध्यापक सुनिता महर्जनले भने, ‘ त्यसै गरि स्कुलबाट निस्केको फोहोर पानीको प्रसोधन गरेर बगैचामा प्रयोग गर्दै आईरहेको छु ।’
निभा रेनका निर्देशक नरेन्द्रमान डंगोलले आकासेपानी संकलन प्रविधिको जडान निकै सुलभ र सस्तो रहेको बताउँदै आकासेपानी संकलन प्रविधि, यसको प्रशोधन गर्ने वायो स्याण्ड फिल्टर र फोहोर पानी प्रशोधन गर्ने प्रविधि आफ्नै घरमा जडान गर्दा सुरुमा २ लाख जति लगानी भएता पनि ३ वर्षमा नै लगानी उपर भएको दाबी गरे ।
गुथिका प्राविधिक सल्लाहकार तथा आकासेपानी संकलनका विज्ञ प्रकाश अमात्यले आफ्ना घरमा धाराको पानी नआएको दशकौ भैसकेको छ तर उनले आकासेपानी संकलन गरेर वर्ष भरिको लागि पानीको जोहो गरेको बताए । ‘वायो स्याण्ड फिल्टरबाट प्रशोधन गरेको आकासेपानी टयाँकरको पानी भन्दा सफा र गुणस्तरीय हुन्छ ।’ उनले भने ।
काठमाडौं महानगरपालिका लगायत उपत्यकाको विभिन्न नगरपालिकाहरुले आकासेपानी रिचार्ज अभियान ल्याएता पनि नागरिक समक्ष पुग्न सकेका छैनन । अवका दिनमा नितिगत भन्दा पनि महानगरपालिकाले रिचार्ज काठमाडौ अभियानलाई व्यवहारीक र कार्यान्वयन तहमा लिएर जान वडा स्तरिय समुदायमा आधारित भएर घर दैलो आकासेपानी रिचार्ज कार्यक्रम लागु गर्नुपर्ने कुरामा अमात्यले जोड दिए ।