२८ असार, काठमाडौं ।
आइतबार फेरि भारतको उत्तर प्रदेशको सीतापुर र बहराइच क्षेत्रबाट सलह नेपालको दाङमा भित्रिएका छन । कृषि तथा पशुपन्छि विकास मन्त्रालयका अनुसार असार दोस्रो साता पहिलो पटक भित्रिएका सलह नेपालमा अनुकुल वातावरण नभएका कारण मरेको जनाएको थियो ।
आइतबार पुनः सलह नेपाल आएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान साढे ९ बजे दाङको गढवा गाउँपालिका प्रवेश गरेको र पुन दिउँसो १ बजे राप्ती नगरपालिकाको आकाशमा सलह देखिएका हुन् ।
उक्त क्षेत्रमा स्थानीयहरुले बस्न नदिएपछि उत्तरपूर्वतिर लागेको सूचना प्राप्त भएकाले प्युठान अर्घाखाँची लगायतका जिल्लामा आवश्यक सतर्कता अप्नाउन कृषि तथा पशुपन्छि मन्त्रालयले आग्रह गरेको छ। सलहका थप झुण्डहरु प्रदेश नम्बर १, २ र ५ का तराई क्षेत्रमा आउन सक्ने सम्भावना पनि मन्त्रालयले व्यक्त गरेको छ ।