२४ असार, काठमाडाैं ।
लामो समयदेखि नेवाः समुदायको चासोको विषय भइरहेको नेपालभाषा मंकाः खलःको जग्गा हाल आएर संस्थागत रूपमा दर्ता भएको छ ।
नेपालभाषा मंकाः खलःले आजभन्दा ३ दशक अगाडि नेवारहरूको संस्थागत भवनको लगि भनेर कामपा १५ वडा बज्र होटल नजिकै घडेरी जोडेको थियो । उक्त घडेरीसँगै नेपालभाषाका आदरणीय कवी चित्तधर हृदयले दान दिएका थिए ।
मंकाः खलः विधिवत् रुपमा दर्ता नभएको कारणले त्योबेला मंकाः खलःका तत्कालीन पदाधिकारीहरू अध्यक्ष पद्मरत्न तुलाधर, उपाध्यक्ष दुर्गालाल श्रेष्ठ, सचिव मल्ल के। सुन्दर र कोषाध्यक्ष काजीलाल श्रेष्ठको नाममा उक्त घडेरीजग्गा दर्ता भइरहेको थियो ।
अन्तत मालपोत कार्यालयबाट ती दुबै घडेरी अब नेपालभाषा मंकाः खलःको संस्थागत नाममा नामसारी दर्ता भएको छ । नेपालभाषा मंकाः खलःले आफ्नो दबलीघर बनाउन उक्त घडेरी किनेको थियो । वर्षैपिच्छे यःमरि पुन्हिको बेला त्यःछिंत्यः खेलेर जम्मा भएको पैसाबाट उक्त घडेरीजग्गा किन्न सफल भएका थिए ।
अब मंकाः खलःको नाममा जम्मा २६ आना (९८४२ वर्ग मिटर) जग्गा दर्ता भएको छ । उक्त जग्गा संस्थागत नाममा दर्ता गर्न लाग्ने शुल्क करिब ४० लाख नेपाल सरकारबाट अनुदान प्राप्त भएको हो । संघीय सांसद कृष्णगोपाल श्रेष्ठका साथमा वर्तमान पदाधिकारीहरू, ग्वाहालि पुचःका सदस्यसहितको टोली जग्गा पासको बेला मालपोत कार्यालयमा उपस्थित थिए ।
एकवर्षअगाडि जनकवि दुर्गालाल श्रेष्ठको अध्यक्षतामा नेपालभाषा मंकाः खलः विधिवत् रुपमा दर्ता भएको थियो । दर्ता लगत्तै उक्त जग्गामा मंकाः खलःबाट दबूघर बनाउने काम शुरु भएको हो । दबूघर निर्माणको लागि काठमाडौं महानगरपालिकाबाट ५ करोड रुपियाँ अनुदान दिइएको थियो । गतवर्ष काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दबूघरको शिलान्यास समेत गरिसकेको छ ।
दुईवर्ष भित्र निर्माण सम्पन्न गरी मेयर शाक्यको हातबाट उद्घाटन गर्ने लक्ष्य राखेको उक्त दबूघरमा ठूलो सभागृहका साथमा विभिन्न कार्यालय तथा पार्किङको समेत व्यवस्था रहने जानकारी प्राप्त भएकाे छ ।