भूमिहीन भूकम्पपीडितलाई पूर्जा उपलब्ध गराउनेबारे छलफल

३० असार, काठमाडाैं ।

भूमिहीन, स्ववासी, गाउँ एवं शहरी व्लक लगायतका लाभग्राहीहरुलाई जग्गाधनी पूर्जा दिनेबारे छलफल भएको छ ।

भूमिहीन भूकम्पप्रभावित लाभग्राहीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र भूमि सम्बन्धी समस्या समाधान आयोगबीच छलफल भएको हो ।

बुधबार ताहचलस्थित आयोग कार्यालयमा पर्ति, ऐलानी, हैसियत बिग्रेका वनक्षेत्रमा घर बनाउने अनुमति पाएका भूमिहीन तथा मोही, स्ववासी, गाउँ एवं शहरी व्लक लगायतका लाभग्राहीहरुलाई जग्गाधनी पूर्जा दिनेबारे छलफल भएको हो ।

छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ३२ वटा भूकम्प प्रभावित जिल्लामा घर निर्माण गर्न सहमति पाएका परिवारहरुलाई जग्गा प्राप्तिको सुनिश्चितताको लागि प्रक्रिया थाल्न आग्रह गर्नुभयो ।

प्राधिकरणले स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिको स्वीकृतिअनुसार १० हजारभन्दा बढी भूमिहीनसहितका लाभग्राहीलाई पर्ति, ऐलानी, हैसियत बिग्रेका वनक्षेत्रमा घर निर्माणको अनुमतिसहित अनुदान उपलब्ध गराएको छ ।

प्राधिकरणले दिएको तथ्यांकको आधारमा स्थानीय तहले जिल्ला समन्वय समितिलाई सिफारिस गर्छ भने संघीय संसदका सदस्यको अध्यक्षतामा रहेको समन्वय समितिले घर निर्माणका लागि अनुमति दिन्छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले प्राधिकरणको तथ्यांकले भूमिहीन नागरिकका समस्या समाधानका लागि महत्वपूर्ण हुने धारणा राखे । उनले अगामी दिनमा प्राधिकरणसँग समन्वयमा रहेर काम गर्ने पनि बताए ।

स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिको स्वीकृतिअनुसार घर निर्माण गरेका लाभग्राहीहरुको सम्बन्धित जग्गाको स्वामित्वको छानविन तथा अन्तिम निर्णय आयोगको नै हुनेछ ।

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणीकरण गर्नका लागि सरकारले २०७६ चैत्रमा आयोग गठन गरेको थियो ।

-एनआरए

Leave a Reply

Your email address will not be published. Required fields are marked *