मध्यपुरथिमि नगरपालिका–४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक पोखरीकाे पुनःनिर्माण सम्पन्न भएकाे छ ।
पुनर्निर्माण पूरा भएको पोखरीको शनिबार भव्य सांस्कृतिक उत्सवसहित मेयर मदनसुन्दर श्रेष्ठले उद्घाटन गरेका छन् ।
विसं २०१५ मा तत्कालीन राजा महेन्द्र भक्तपुर आउँदा उहाँलाई स्वागत गर्न पानी निकालेपछि दुईपोखरी घाँसेमैदानमा परिणत भएको थियो । २०६५ सालमा नगरपालिकाले रु १० लाख खर्च फलामे बार लगाई संरक्षणको प्रयास गरे पनि केही वर्षयता पोखरीमा मङ्सिरमा धान सुकाउने र अन्य समयमा केटाकेटी खेल्ने मैदानका रूपमा परिणत हुँदै आएको थियो ।

करिब तीन सय वर्ष पहिले गंगा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुर थिमिबासीलाई पानीको स्रोत दिएको कथन रहेको छ । थिमिमा कुनै भवितव्य भएमा, सिँचाइ र अन्य प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने प्रचलन थियो ।
संरक्षण अभावमा वर्षौंदेखि खेल मैदानको रुपमा परिणत भएका पोखरी ब्युँताएर नगरपालिकाले आकर्षक र पर्यटकीय गन्तव्यको रुपमा पुनःनिर्माण भएकाे छ । वडा नं. ४ मा सँगै दुई वटा पोखरी भएकाले पोखरीको नामनै दुईपोखरी अर्थात् निगुःपुखः र टोलको नामसमेत दुईपोखरी राखिएको छ ।
कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले दुईपोखरी क्षेत्रलाई नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शनस्थल एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जानकारी दिए । मध्यपुरथिमि भित्रका ऐतिहासिक सम्पदाको संरक्षण एवं जीर्णोद्वार गर्दै ओझेलमा परेको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउने बताए ।