साउन १ गतेबाट सुत्रमा आधारित लेखा प्रणाली थालनी गर्दै महानगर

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि सञ्चित कोष व्यवस्थापन गर्न सब-नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सुत्र) मा आधारित लेखा प्रणाली थालनी गर्ने भएको छ ।

साउन १ गतेबाटै प्रयोगमा ल्याउनु पर्ने भएकोले साेमबारदेखि सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण थालिएको छ । यसमा बित्त बिभाग, आन्तरिक लेखा प्रणाली शाखाका अधिकारी, वडाका सचिव र लेखापाललाई ४ समूह बनाएर प्रयोगात्मक ज्ञान दिइनेछ ।

सोमबार राष्ट्रिय सभा गृहमा अभिमुखीकरण तालिम शुभारम्भ गर्दै काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले भने, ‘यो प्रणाली लागू भइसकेपछि बित्तिय व्यवहार थप अनुशासित र पारदर्शी हुन्छ । कुन शीर्षकमा महानगरले के काम गर्दैछ? कामको प्रगति कहाँ पुग्यो भनेर नागरिकले थाहा पाउन सक्छन् । प्रणालीमा आधारित भएकोले शुरुवातका दिनमा केही असजिलोजस्तो लाग्न सक्छ तर महानगरका कर्मचारीसँग क्षमता छ । यसलाई सजिलै कार्यान्वयनमा ल्याउन सकिन्छ ।’

‘जनप्रतिनिधि र कर्मचारीबीच नङ् मासुको सम्बन्ध छ ।’ मेयर शाक्यले भने, ‘अधिवेशनबाट पारित भएका नीति र स्वीकृत भएका कार्यक्रमलाई कर्मचारीले निसंकोच कार्यान्वयन गर्नुपर्छ । महानगर निर्माण गर्ने काममा कर्मचारीले जागिरे सोचभन्दा माथि उठेर काम गर्नुपर्छ ।’

अभिमुखीकरण कार्यक्रममा राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले, महानगरले आ. व. २०७७÷०७८ का लागि स्वीकृत गरेको आर्थिक ऐन र यसका प्रबन्धका बिषयमा जानकारी दिँदै आयलाई पनि सुत्रमा आधारित गरिने जानकारी दिनुभयो । महानगरले बाँडफाँड गर्नुपर्ने राजस्वका लागि बिभाज्य कोष स्थापना गरिसकेको छ । हाम्रा प्रणाली पारदर्शी र व्यवस्थित छन्, अधिकारीको भनाइ छ ।

साउन ७ गतेसम्म सञ्चालन हुने प्रयोगात्मक सिकाइको पहिलो समूहमा वडा १ देखि १२ सम्म (असार ३० र ३१ गते), दोश्रो समूहमा वडा १३ देखि २४ (साउन १ र २ गते), तेश्रो समूहमा वडा २५ देखि ३२ सम्म र आन्तरिक लेखा परीक्षण शाखाका अधिकारीहरुलाई (साउन ४ र ५ गने) सहभागी गराइनेछ । यसैगरी चौथो समूह बित्त बिभाग, हनुमान ढोका दरवार संरक्षण कार्यक्रम सहरी योजना आयोग र आयोजनाका अधिकारीहरुलाई (साउन ६ र ७ गते) सहभागी गराइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *