३१ असार, काठमाडाैं ।
काठमाडौं महानगरपालिका अन्तर्गतका सरकारी र निजी विद्यालयमा नेपालभाषाबाट स्थानीय विषय पढाइने निर्णयको चौतर्फी स्वागत गरिएको छ ।
कामपाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई स्थानीय विषय नेपालभाषाको माध्यमबाट पढाउने निर्णयले बनेपाका नेवाः खलः समूहले बनेपा नगरपालिकामा नेपालभाषाको माध्यमबाट स्थानीय विषय पढाउनु पर्ने माग राखेका छन् ।
बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादे समक्ष मंगलबार स्थानीय नेवाः गुथि समाज र अरु खलः समूहका प्रतिनिधिहरुले बनेपामा पनि नेपालभाषा पढाउन माग राखेका छन् ।
स्थानीयको मागलाई गहनरुपमा लिएको बताउँदै मेयर वादेले यसबारे आफुले थप जानकारी संकलन गरी कामपाले तयार पारेको स्थानीय विषयका पाठ्यक्रमबारे छलफल अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
ज्यापु समाज ललितपुरबाट स्थानीय विषय नेपालभाषाको माध्यमबाट पढाउने बारे ललितपुर महानगरपालिकासँग छलफल अघि बढाउने जानकारी प्राप्त भएको छ ।
त्यस्तै मध्यपुर थिमि नगरपालिका र कीर्तिपुर नगरपालिकामा पनि नेपालभाषाको माध्यमबाट स्थानीय विषय पढाउने बारे आन्तरिक छलफल भइरहको जानकारी प्राप्त भएको छ ।