५ साउन, काठमाडाैं ।
काठमाडौं उपत्यकाको बिकास र सेवा प्रवाहलाई समान मापदण्डका आधारमा कार्यान्वयन गर्न, अन्तर नगर साझेदारिता र सहयोगका कार्यक्रम पहिचान गर्न आइतबार २ वटा समिति गठन भएका छन् ।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले काठमाडौं महानगरका सहसचिव राजेश्वर ज्ञवाली र ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद कोइरालाको संयोजकत्वमा छुट्टाछुट्टै कार्यदल गठन गरिएको हो । दुवै समिति ५ सदस्यीय हुन् ।
सहसचिव ज्ञवालीको सयोजकत्वमा गठित समितिलाई अन्तर नगर सहयोग क्षेत्र र साझेदार कार्यक्रम अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । यस समितिमा सूर्यबिनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, कीतिपुर नगरका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य, बुढानिलकण्ठ नगरका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा सदस्य छन् । समितिको सदस्यसचिव काठमाडौं महानगरको सहरी सुशासन बिभागका प्रमुख हरिबहादुर कुँवर रहेका छन् ।
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत कोइरालाको संयोजकत्वमा गठित समितिलाई फोहोरमैला व्यवस्थापन कोषको कार्यबिधि बनाउने, सञ्चार साझेदारिता र ट्राफिक व्यवस्थापनका कार्यक्रम ढाँचा शिफारिस गर्ने जिम्मेवारी दिइएको छ ।
यस समितिमा महालक्ष्मी नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत पुरुषोत्तम सापकोटा, तारेकश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदी र गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरे सदस्य छन् ।
समितिको सदस्य सचिवको जिम्मेवारी काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठलाई दिइएको छ । समितिलाई १ महिनाको समयावधि दिइएको छ ।
साझा लगानीबाट ल्याण्डफिल साइट व्यवस्थापन गर्ने विषयमा छलफल गर्न महानगरले उपत्यकाका सबै नगरका प्रमुख प्रशासकीय अधिकृतलाई बैठकमा बोलाएको थियो । अहिले ओखरपौवा ल्याण्डफिल साइटमा उपत्यकाका नगरको फोहोर व्यवस्थापन हुँदै आएको छ । यसको क्षमता सकिने अवस्था छ । यसपछि सञ्चालन गर्न बञ्चरे डाँडामा साइटको निर्माण कार्य भइरहेको छ । बर्खा याम भएका कारण अहिले काम गर्न कठिन भइरहेको छ ।
बैठकमा बोल्दै काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, -‘उपत्यकाको पूर्वाधार बिकास र सुबिधा बितरण समान मापदण्डका आधारमा गर्नुपर्छ । यस कामको राजनीतिक नेतृत्व उपत्यका मेयर्स फोरमले गर्छ भने प्रशासनिक नेतृत्व प्रमुख प्रशासकीय अधिकृतहरुले गर्नुपर्छ ।’
स्मार्ट सहरका लागि स्मार्ट पूर्वाधार, यससँगै स्मार्ट आचरणका मापदण्ड एउटै बनाउँ । सहरी फोहोरमैला व्यवस्थापन, आवागमन व्यवस्थापन, सञ्चार सेवाजस्ता कामलाई साझा कार्यक्रमका रुपमा अगाडि बढाऔं । प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, -‘यसबाट उपत्यकाको एकीकृत समृद्धि हुन्छ भने अन्य स्थानीय तहका लागि सिकाइ पनि हुन्छ ।’
बैठकमा वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहोरमैला व्यवस्थापनका बिद्यमान अवस्था, सम्भावना र चुनौतीका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै यस काठमाडौं महानगरले कोषमार्फत साझा लगानी गरेर फोहोर व्यवस्थापन गर्ने नीति लिएको उल्लेख गरे ।
त्यसै क्रममा सहरी शुशासन बिभागका प्रमुख हरिबहादुर कुँवरले सार्वजनिक यातायात क्षेत्रको सुधाका लागि महानगरले थालेका कामलाई अन्य नगरमा बिस्तार गर्ने बिषयमा प्रस्तुति गरेका थिए । यसै गरी सूचना प्रबिधि बिभागका प्रमुख युवराज खनालले सञ्चार साझेदारिका सम्भावनाका बिषयमा प्रस्तुति दिएका थिए ।
महानगरको गएको बर्ष (आ. व. २०७६/०७७) मा फोहोमैला व्यवस्थापनका लागि ६ करोड ४२ लाख ८६ हजार ७३० रुपैयाँ ३० पैसा खर्च गरेको छ ।