बुंग करूणामय (रातो मच्छिन्द्रनाथ)को रथारोहण (फाेटाे फिचर)

१० साउन, काठमाडाैं ।

बुंग करूणामय (रातो मच्छिन्द्रनाथ)को रथारोहण भएको छ ।

दैवज्ञ कीर्तिमदन जोशीले साउन १० गते शनिबार १२ बजेर ५ मिनेटदेखि १२ बजेर १५ मिनेटसम्म अन्तिम रथारोहण गर्नुपर्ने दिएकाे शुभ साइतमा अन्न र वृष्टिका देवता मानिने बुंग करूणामय रथारोहण गराइएकाे हाे ।

तिथि अनुसार रथारोहण वैशाख शुक्ल प्रतिपदा अर्थात बैशाख १२ गते गर्नुपर्दथ्याे । तर, यस वर्ष कोभिड–१९ महामारी रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारणले रोकिएको थियो । यहि कारणले गत बैशाख १२ गतेदेखि देउतालाई तःबहालको मन्दिर बाहिर सतलमा ल्याइ नित्य पूजाआजा हुँदै आएको थियो ।

बुंग करुणामयको रथारोहण गर्ने सम्बन्धमा योभन्दा पहिलाको २ पटक निकालिएको शुभसाइतमा सरकारी प्रसाशनको हस्तक्षेपबाट स्थगित भएको थियो । यस पटक पनि बुधबार आकस्मात जात्रा रोक्नको लागि परिपत्र जारी गरिएको थियो ।

तर, बिहीबार र शुक्रबार सरकारी पक्षसँग सरोकारवालाहरुको लामो छलफल पछि शनिबार राथारोहण गर्न सफल भएको हो ।

रथारोहणको चारदिनपछि रथयात्रा गर्नुपर्ने मान्यतालाई नकार्दै सरकारी पक्षले अझैपनि रथयात्राकाे मिति भदौ १ पछि तोकेको छ ।

असार १० गते देखि पुल्चोकमा बनाउन थालेको रथलाई त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको हिसाबमा बत्तीस हातको रथ बेत र काठमात्र प्रयोग गरी बनाइएको छ । रथमा जडान गरिएको ठूला ४ पांग्रालाई हयग्रव भैरव, लप्तसेहार, हरिसिद्धि र चन्द्रभैरवका प्रतिकका रूपमा लिइन्छ । कर्कटक नागराजको प्रतिकका रूपमा लामो काठ रथको मुनिपट्टि बीच भागमा राखिएको छ । जसलाई नेपाल भाषामा ‘घःमाः’ भनिन्छ ।

स्वयम्भूबाट साधना गरी ल्याइएको अमिताभ बुद्धलाई रथको टुप्पो ‘बाय्मो’मा राखिएको छ । गजुरमा सबै प्राणीको रक्षाका लागि लोकेश्वरको षडारी मन्त्र ‘ऊँ मणि पद्मे हुँ’ लेखिएको झन्डा फहराइएको छ ।

सहकालका देवता मानिने बुंग करुणामयलाई रथारोहण गराउन तःबहालदेखि खटमा राखी पुल्चोकमा पुर्‍याइएको थियो ।

जीवन्त संस्कृतिका रूपमा लिइएको बुंगद्यःको जात्रा उपत्यकाबासी सबैले धुमधामका साथ मनाउने गदर्छ । बुंगद्यःको जात्रा बौद्धमार्गी, हिन्दू, बैष्णवी र शैव (नाथ सम्प्रादय) हरूले समेत उतिकै मनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *