१० साउन, काठमाडौं।
ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा अाज साउन १० गते धलिं (मुख्य दलिन) को पूजा सम्पन्न भएको छ ।
धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंगको रुपमा लिइन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः)या गुर्जु यज्ञमानपति वज्राचार्यको नेतृत्वमा वज्रयानी परम्परा अनुसार यो पूजा भएको हो ।

पूजामा जजमानका रुपमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश सभाका सदस्य एवं पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धर उपस्थित भएका थिए।
धलिं पूजा सम्पन्नपछि संक्षिप्त कुराकानी गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले अबको ध्यान सम्पदा पुर्ननिर्माणमा केन्द्रीत रहेको बताए । काठमाडौँ महानगरपालिकाले प्रत्येक वर्षको वजेटमा मुर्त–अमुर्त सम्पदा संरक्षण तथा सम्बर्द्धनका लागि विनियोजन गर्दै आएको पनि प्रमुख शाक्यले जानकारी दिए।

‘आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ९० भन्दा बढी शीर्षकमा संम्पदाको संरक्षण र पुर्ननिर्माणका लागि बजेट बिनियोजन गरिएको छ।’, मेयर शाक्यले भने, ‘महानगरले आफ्नै खर्चमा काष्ठमण्डप पुनर्निर्माण गरिरहेको छ । चालु आर्थिक बर्षभित्रै पुननिर्माण सम्पन्न गरिसक्ने छ । ’
पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले काष्ठमण्डप पुर्ननिर्माणको काम ७० प्रतिशत हाराहारीमा सम्पन्न भएको जानकारी दिए । वि.सं. २०७५ वैशाखबाट काष्ठमण्डप पुनर्निर्माणको शुरु भएको हो ।
शाक्यले काम समय सीमाभित्रै सम्पन्न हुने बताउँदै लकडाउनका बेला पनि कामलाई निरन्तरता दिएको बताए । ‘अब दोश्रो तलाको मुख्य दलिन उठाउन र तेश्रो तला बनाउन बाँकी छ,’ उनले भने, ‘हामी समयमै पुर्ननिर्माण सम्पन्न गरेर नयाँ सन्देश दिन चाहन्छौँ ।’
उनले महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुर्ननिर्माण गरिरहेको जानकारी दिए ।

‘सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ,’ उनले भने, ‘जुन इँटा, माटो प्रयोग भएको थियो । हामीले त्यही प्रयोग गरेका छौँ ।’
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुर्ननिर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा ५० लाख, दोश्रो र तेश्रो चरणमा पाँच–पाँच करोड दिएको छ । प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको थियो ।


