पर्यावरण (इको) पार्कको शिलान्यास, २२ बर्षपछि योजना कार्यान्वयन भएकोमा स्थानीय खुशी

१० साउन, काठमाडौँ ।

आज काठमाडौँ महानगरपालिकाको वडा ३ मा पर्यावरण पार्कको शिलान्यास भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडाध्यक्ष दीपक के. सी. ले संयुक्त रुपमा बाँसबारी महापुर पाखामा पार्कको शिलान्यास गरेका छन्

२०५५ सालमा गुरुयोजना बनाएर पार्क निर्माण गर्ने लक्ष्य भए पनि श्रोतको नभएर योजना कार्यान्वयन हुन सकेको थिएन । बहुबर्षिक योजनामा राखेर चालु आर्थिक बर्षका लागि महानगरले १ करोड ५० लाख रुपैयाँ छुट््याएपछि काम अघि बढेको हो ।

शिलान्यास अवसरमा बोल्दै मेयर शाक्यले बजेट नपुगेर योजना अलपत्र हुने अवस्था अन्त्य भएको बताए । बजेटअनुसारको योजना बनाउने होइन, योजनाअनुसारको बजेट बिनियोजन गर्ने महानगरको नीति हो । अब पैसा नभएर कुनै पनि योजना अधकल्चो हुँदैन । पैसाको अभाव हुँदैन । समयमा निर्माण कार्य सक्नुपर्छ ।

‘अहिले जनप्रतिनिधिको परीक्षा चलिरहेको छ ।’, प्रमुख शाक्यले भने, ‘यसको मुल्याङ्कन गर्ने जिम्मेवारी महानगरवासीको हो ।’

कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भने, ‘स्थानीय सरकार गठन भएपछिको पहिलो संयन्त्र भएकोले थिति बसाउनमै समय लाग्यो । १८ बर्ष जनप्रतिनिधि नभएको ठाउँ सम्हाल्न त्यत्तिकै पनि सजिलो थिएन । हामी मिलेर काम गर्दैछौं । तपाईँसँग भएका समस्या लिएर वडामार्फत आउनोस् । हामी कार्यान्वयन गर्छौ ।’

पार्क निर्माण हुने ठाउँ काठमाडौँ महानगरपालिकाको वडा – ३, बुढानिलकण्ठ नगरपालिका वडा – ७ र टोखा नगरपालिकाको वडा – ४ को सीमानामा छ । पार्क बनाउन करीब २ करोड ५० लाख रुपैयाँको लागत अनुमान गरिएको छ । वडाध्यक्ष दीपक के. सी.ले पहिलो चरणमा उत्तर तर्फबाट सामाखुसी खोला सिमानाबाट दक्षिणतर्फ आधा काम सम्पन्न गर्ने लक्ष्य लिएको र बाँकी दोश्रो चरणमा काम गरिने बताए ।

‘पहिलो चरणको काम २०७७ मंसिर मसान्तसम्ममा र बाँकी काम बाँकी अवधिमा सम्पन्न गरिनेछ ।’ उनले भने ।

‘काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्यान दिइएको छ । डोल परेको र भिरालो जमिनमा पार्क निर्माण गर्ने कुरा आफैँमा चुनौतीपूर्ण छ,’ डिजाइन टिमकी इञ्जिनियर नीलिमा थापा श्रेष्ठले भने, ‘पहिलो पटक म त्यहाँ पुग्दा चराहरुको चिरविर आवाज, रुख विरुवा र भिरालो जमिनको अवस्थिति देखेपछि मन आनन्दित भएको थियो । त्यसैले हामीले डिजाइन पनि त्यसैलाई ध्यानमा राखेर तयार पारेका छौँ र पार्कको नाम नै इको पार्क राखेका हौँ ।’

‘पार्कलाई हरियाली बनाइ राख्न रुख बिरुवालाई यथावत राख्दै थप हरियाली बनाउने गरी डिजाइन तयार पारिएको छ । पार्कमा किरियापुत्री भवन पनि बन्नेछ ।’ डिजाइनर थापा श्रेष्ठले योजना बनाउँदाको अनुभव सुनाए, ‘जीवनमा सबै भन्दा ठूलो पीडा परेका बेला शान्त बस्नुपर्ने भएकोले पार्क र किरियापुत्री भवनलाई अन्तरसम्बन्धित बनाइएको हो । पीडालाई स्वतन्त्र छाडेर उन्मुक्त हुने पार्कलाई एकै ठाउँ डिजाइन गर्ने कुरा थप चुनौतीपूर्ण थियो ।’

‘त्यस ठाउँमा पानीको मुल छ । अहिले पनि स्थानीयहरु ढिकुरो बनाउने (मृत्यु संस्कारको एउटा बिधि) कामका लागि यही ठाउँ प्रयोग गर्छन् । स्थानीयका चालचलनलाई यथावत राख्दै महानगरले बनाएको योजना हामीलाई चित्त बुझेको छ । हामीले पूरा गर्नुपर्ने दायित्व पूरा गर्छौ ।’, चुनदेवी सहयोगी संघका अध्यक्ष मुकुन्द आचार्य बताए ।

‘२२ वर्षपछि हाम्रो योजना कार्यान्वयनमा आउँदैछ । यसमा हामी हर्षित छौं ।’ आचार्यले भने, ‘पार्क निर्माणपछि छिमेकी नगरका वडासहित स्थानीय १ सय ११ परिवारका २० हजार मानिसलाई लाभ पुग्ने आचार्यको भनाइ छ । अहिले बनजस्तो देखिने त्यस ठाउँमा काउलो र उत्तिसका रुख, निगालो र बाँसको झाङ् छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *