रानीपोखरीमा डिपबोरिङ्गको पानी अस्वीकार्य : प्रवक्ता डंगोल

वर्षातको समयमा काठमाडौं लगायत नेपालको विभिन्न भु–भागहरु डुवानमा पर्ने अवस्था एकातिर छ भने अर्कोतर्फ वर्षभरी काठमाडौंमा पानीको अभावलाई पूर्ति गर्न जमिनहरु दोहोन भइरहेको छ । तथापी पानीको अभाव यथावत छ ।

पानीको अभावलाई परिपूर्ति गर्न र जमिनको पानीलाई रितिनबाट जोगाउने अभिप्रायले ‘‘आफ्नो श्रेत्र पुनःभरण गर्रौ’’ भन्ने विषयमा गैर सरकारी संस्था गुठीले साउन ११ गते अनलाईन कार्यक्रम सम्पन्न गरेको छ ।

आकासेपानी संकलन र पुनःभरणमा कामपा प्रतिवद्ध रहेको बताउँदै कामपा प्रवक्ता एवं १५ वडा अध्यक्ष इश्वरमान डंगोलले पुनःभरण कार्यले काठमाडौंमा खानेपानीको अभावलाई पूर्ति गर्नुका साथै हरेक वर्ष काठमाडौंको केही स्थान डुवानमा पर्ने समस्या समाधान हुने बताए ।

रानी पोखरीमा डिप बोरिङ्गमार्फत पानी भरण नगरी आकासेपानी नै प्रयोग हुने बताउँदै त्यस विषयमा उठेको जिज्ञासामा प्रवक्ता डंगोलले सहभागीहरुलाई आश्वस्त पारेका थिए ।

‘डिप बोरिङ्गबाट निकालिएको पानीले रानीपोखरीमा भर्न नपर्ने तरिकाले हरेकवर्ष डुवानमा पर्ने जमलको पानीलगायत बाँसवारी, गंगालाल अस्पतालदेखि असन, भोटाहिटीमा पर्ने वर्षातको पानीलाई रानीपोखरीमा प्रयोग गर्ने र कमलपोखरी तथा चोक चोकमा वर्षातको पानी पुनःभरण गर्ने योजना महानगरले बनाउँदैछ’, प्रवक्ता डंगोलले भने ।

‘रानीपोखरी र त्यस समयमा डिजाईन भएका अरु पोखरी हेर्दा पोखरी र त्यस वरपरका खुल्ला स्थानलाई वर्षायामको पानीलाई पुनःभरण गर्ने तरिकाले डिजाइन गरिएको देखिन्छ,’ सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधरल भन्छन्, ‘यसरी जमिन मुनि वर्षातको पानी पुनःभरण भएर त्यही पानीले बाँकीको ९ महिना ढुङ्गेधारा, कुवा, इनार आदिमा पानी आउने गर्छ । तसर्थ रानीपोखरीमा पानी भर्ने क्रममा यस सन्दर्भलाई विर्सन हुन्न ।’

‘डिप बोरिङ्गबाट निकालिएको पानीले रानीपोखरीमा भर्न नपर्ने तरिकाले हरेकवर्ष डुवानमा पर्ने जमलको पानीलगायत बाँसवारी, गंगालाल अस्पतालदेखि असन, भोटाहिटीमा पर्ने वर्षातको पानीलाई रानीपोखरीमा प्रयोग गर्ने र कमलपोखरी तथा चोक चोकमा वर्षातको पानी पुनःभरण गर्ने योजना महानगरले बनाउँदैछ’, प्रवक्ता डंगोल।’

‘काठमाडौंको परम्परागत पुनःभरण प्रणाली संसारकै उत्तम रहको छ, तर अन्धाधुन्द विकासका नाममा बनेका संरचनाहरुले हाम्रा पोखरी, कुलो, ढुङ्गेधारा सवै विनास गरिदिए,’ कार्यक्रममा बोल्दै डा। चिरन्जीवी भट्टराईले भने, ‘अन्डरग्राउण्ड जग, पार्किङ्ग जस्ता संरचनाका कारण जमिन मुनिको पानी पुनःभरण हुने क्षेत्रमा अवरोध पुगेको छ । हामी अव वितेको समयमा त जान सक्दैनौ तर सरकारद्वारा आकासेपानी संकलन र पुनःभरणलाई प्रोत्साहन दिन सक्छ र नयाँ संरचनामा आकासेपानी संकलन र पुनःभरण गर्नु पर्ने बाध्यकारी प्रावधान ल्याउनु पर्छ ।’

‘आकासेपानी पुनःभरणमा सही अनुसन्धान हुनुपर्ने र जमिनको भु–विज्ञानलाई ध्यानमा राखी कुन ठाउँमा पुनःभरण गर्न उपयुक्त हुन्छ भन्ने विषयमा विभिन्न सरकारी गैर सरकारी संस्था, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र महानगरपालिका विच समन्वय गरी विष्लेषण हुन जरुरी छ ।’ डा. दिनेश मानन्धरले भने ।

कार्यक्रममा पाटनको आल्कोहिटीमा आकासेपानी पुनःभरण गरेको अनुभव सुनाउनुहुँदै ऐतिहासीक ढुङ्गेधारा तथा मुहान संरक्षण संघका अध्यक्ष सुशील श्रेष्ठले भने, ‘पुनःभरण गर्दा जमिनले कति पानी थेग्न सक्छ भन्ने विषय ध्यानमा राख्नुपर्छ । सबै ठाउँमा पुनःभरण सम्भव छैन ।’

उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘ग्राभेलमा पुनःभरण गर्दा धेरै पानी पुनःभरण हुन्छ भने केही भुगोलमा पानी पुनःभरण सजिलै हुँदैन । यसरी पानी पुनःभरण गर्दा जमिनको क्षमताको अध्ययन हुनुपर्छ र धेरै पानी पुनःभरण गर्दा जमिनको आउटलेट बारे पनि सोच्नु जरुरी हुन्छ ।’

आकासेपानी पुनःभरण गर्दा क्याचमेन्ट क्षेत्र, पानीको गुणस्तर, भुगोल, वर्षाको तिव्रता इत्यादी विषयलाई समेटेर गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कार्यक्रममा आफ्नो प्रस्तुतिकरणमा भने, ‘काठमाडौं महानगरपालिकालगायत उपत्यकाको विभिन्न नगरपालिकाहरुले आकासेपानी रिचार्ज अभियान ल्याएता पनि नागरिक समक्ष पुग्न नसक्नु दुभाग्य पूर्ण रहेको छ ।’

‘त्यसैले अवका दिनमा नितिगत भन्दा पनि महानगरपालिकाले रिचार्ज काठमाडौं अभियानलाई व्यवहारीक र कार्यान्वयन तहमा लिएर जानु पर्ने हुन्छ,’ उनले भने, ‘वडा स्तरिय समुदायमा आधारित भएर घर दैलो आकासेपानी रिचार्ज कार्यक्रम लागु गर्नु पर्छ ।’

आफ्नो घरमा धाराको पानी नआएको दशकौ भैसकेको कुरा बताउँदै उनले भने, ‘मलाई पानीको कुनै समस्या छैन किन कि मैले आफ्नो घरमा आकासेपानी संकलन गरको छु जसले मेरो वर्ष भरिको पानीको मागलाई पूर्ति गरिरहेको छ । वायो स्याण्ड फिल्टरबाट प्रशोधन गरेको आकासेपानी टयाँकरको पानी भन्दा सफा र गुणस्तरीय हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *