साउन २५, काठमाडौं । चक्रपथ बिस्तारका लागि स्वयम्भू पश्चिमतर्फ वुद्ध पार्क क्षेत्रमा भएका भौतिक संरचना हटाएर आयोजनालाई ठाउँ लिने बिषयमा सहमति जुटेको छ ।
आज काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, १५ नं. वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलसहित तिलिचो खाङ्सार सेवा समितिबीच सम्पन्न छलफलले चक्रपथ बिस्तारका लागि आवश्यक पर्ने ठाउँ छोड्ने सहमति भएको हो ।
बिस्तारकाक्रममा बुद्धपार्क (स्वयम्भू पश्चिम) का ठूला बुद्ध मूर्तिबाट अघिल्तिरको जमिनमा चक्रपथ निर्माण हुनेछ । सडकलाई जग्गा दिएर बाँकी जमिन बचाउन महानगरले तत्काल रिटेनिङ् वाल लगाउने काम थाल्ने गरी सहमति भएको छ ।
सडक बिस्तारका क्रममा भत्काउनु पर्ने भौतिक संरचना स्थानान्तरण हुनेछन् । सहमतिअनुसार छोडिएको जग्गामा अहिले भएका भौतिक संरचना पुनस्र्थापना गर्ने कामलाई दोश्रो चरणमा गरिनेछ ।
‘दुई चरणमा काम गरौं, पहिलो चरणमा महानगरले रिटेनिङ वाल निर्माण गर्न प्रस्ताव आव्हान गर्छ ’ — मेयर शाक्य
चक्रपथ बिस्तार आयोजनाले केन्द्रबाट ३१ मिटर क्षेत्र छोड्नका लागि आग्रह गरेकोले सडक फराकिलो बनाउने काममा सहयोग गर्न यसप्रकारको सहमति गरिएको महानगरका मेयर बिद्यासुन्दर शाक्यको भनाइ छ ।
‘सांस्कृतिक पहिचानलाई व्यवस्थापन गर्दै समयानुकुल पूर्वाधार निर्माण कार्य अघि बढाउन स्थानीय सरोकारवालासँग बैठक बसेर सहमति जुटाएका हौं’, मेयर शाक्यले भने, ‘आफ्नो जिम्मामा भएका कामलाई तत्काल गर्ने र अन्य निकायको जिम्मामा भएका काममा समन्वय गरेर काठमाडौंको समृद्धि बढाउँदै गएका छौं । यसका लागि स्थानीय धार्मिक, सामाजिक संघसंस्था तथा स्थानीयबासीको ठूलो सहयोग पाएका छौं । यसकानिम्ति महानगरकातर्फबाट आभार व्यक्त गर्दछु ।’
वडाध्यक्ष ईश्वरमान डंगोलकाअनुसार बुद्ध मूर्तिबाट बाहिरतर्फका भौतिक संरचना हटाएर सडक बिस्तारमा सहयोग गर्ने निर्णय भएको हो ।
सेवा समितिले संरचना पुनस्र्थापनाका लागि महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई प्रतिवेदन पनि दिएको छ । मागका रुपमा प्रतिवेदनमा उल्लेख गरिएका बुँदा कार्यान्वयनको सम्भावना अध्ययन गरेर तत्काल गर्नु पर्ने कामलाई कार्यान्वयनमा ल्याउन मेयर शाक्यले समारोहमै सहरी पूर्वाधार बिकास बिभागका प्रमुख राम थापालाई निर्देशन दिएका थिए ।
थापाकाअनुसार प्रतिवेदनमा रिटेनिङ् वाल, २ वटा प्रवेश द्वार, स्तुप, बत्ती बाल्ने घरलगायत संरचना स्थानान्तरण गर्दा लाग्ने खर्च माग गरिएको छ । यसमा करीब ४ करोड रुपैयाँ माथिको योजना छ, थापाले जानकारी दिए ।
चक्रपथ बिस्तारका क्रममा नेपाली सेनाले कम्पाउण्ड पर्खाल सारिसकेको छ । शशस्त्र प्रहरी बलले प्रवेश द्वार र कम्पाउण्ड सार्दै छ । यता बालाजु क्षेत्रमा सुरक्षा (प्रहरी) निकायले पनि ठाउँ व्यवस्थापन गर्दैछ ।