काठमाडौं । हाँडीगाउँ कोटाल टोललाइ सिल गरिएको छ ।
कामपा ५ नं वडामा रहेको उक्त टोलमा कोरोना सङ्क्रमण बढेपछि अर्को सूचना जारी नहुनजेलसम्मको लागि सिल गरिएको छ ।
वडा अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको हो । प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ ।
केही दिनअघिको परीक्षणमा प्रहरीसहित उनको परिवारका पाँच जनामा कोभिड–१९ देखिएको थियो ।
समुदायका २५ जनाको परीक्षणमा घरभेटीलगायत अन्य थप छ जनालाई समेत कोभिड–१९ पुष्टि भएपछि टोललाई सिल गर्नु परेको उनले बताए ।
राजधनीमा फैलिदै गएको कोरोना संक्रमितमध्ये हाँडीगाउँ कोटाल टोलमा मात्रै ११ जना देखिएपछि सिल गरिएको हो ।
पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा छ । कोरोना भाइरसले गर्दा नेपालमा आजसम्म ७५ जनाको मृत्यु भएको छ । त्यस्तै ११ हजार ३८ जना क्वारेन्टिन, ६ हजार ५ सय ४४ जना आइसोलेसनमा छन् भने २२ हजार ९ सय ७२ संक्रमित मध्ये १६ हजार ३ सय ५३ जना निको भएर घर फर्किसकेका छन् ।
हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय भनेको सावुनपानीले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु रहेको छ । सङ्क्रमण बढेपछि अहिले उपत्यका प्रवेशमा कडाइ गरिएको छ भने सङ्क्रमित क्षेत्रमा विशेष निगरानी गरिएको छ ।