सीसीएमसीका संयोजक पोखरेललाई उपत्यका नगरपालिका फोरमको सुझाव– नाकामा कडाई गरौँ

बाक्लो बस्ती भएकोले समुदायमा चाँडो संक्रमण फैलिन सक्ने र फैलिएको संक्रमण रोक्न कठिन हुनेप्रति फोरम सजग


काठमाडौं । प्रवेश नाकामा कडाइ गरेर मात्र उपत्यकालाई कोरोनाको फैलिँदो महामारीको बिपत्तिबाट जोगाउन सकिनेमा जोड दिँदै उपत्यका नगरपालिका फोरमले आन्तरिक र वाह्य छलफल बढाएको छ ।

आइतबार फोरमका अध्यक्ष एवं महानगरका मेयर र फोरमका सचिव एवं मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसि)का संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेको छ । रक्षा मन्त्रालय पुगेर उपत्यका फैलिँदो संक्रमण व्यवस्थापनलाई गम्भीरताका साथ लिन आग्रह गरेका थिए ।

‘काठमाडौँ उपत्यका संघीय राजधानी सहर हो । बाक्लो वस्ती भएकाले यस क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा छिटो पुग्ने र चाँडै फैलिने खतरा छ’, फोरमका अध्यक्ष शाक्यले भने, ‘बाहिरबाट संक्रमण आउने खतरा टार्न नाकामा कडाई गर्न हामीले सिसिएमसिका संयोजक समेत रहनु भएका उपप्रधानमन्त्रीसँग आग्रह गर्यौं । हामीले उपत्यकावासीको मागका बारेमा जानकारी गराएका छौं । आजै सिसिएमसीको बैठक बोलाएर यी सवालहरुमा गम्भीरताका साथ छलफल गर्छौ भनेर उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।’

तेश्रो मुलुकबाट आउने ठूलो संख्याका यात्रुलाई संक्रमण पुष्टि हुन चाहिने अवधिभर राख्न क्वारेन्टीन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार रहने गरी एकीकृत क्वारेन्टीन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने छलफलका क्रममा फोरमको तर्फबाट सुझाव दिइएको शाक्यले जानकारी दिए ।

‘उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण जान सक्ने खतरालाई ध्यानमा राखी सरकारको विरोध र समर्थनमा ¥याली, भेला अनशन, जुलुसलगायतका गतिविधिमा कडाई गर्न पनि हामीले सुझाव दिएका छौँ,’ शाक्यले भने ।

‘सरकारको समर्थन र विरोधका नाममा हुने जुलुस, अनसनलगायतले संक्रमणको खतरा बढी हुने भएकाले त्यस्ता कुरामा पूर्ण रोक लगाउन हामीले सुझाव दिएका छौं’ मेयर शाक्यले प्रष्ट पारे, ‘हामीले नागरिकसँग पनि महामारी रोक्ने काममा सघाउन आग्रह गरेका छौं । हाम्रो आग्रह मानेर स्थानीयबासी जात्रा–पर्व मनाउँदा आस्थामा आँच नआउने, विधि नबिग्रने गरी भीड नगरी सामान्य रुपमा मनाउँदै हुनुहुन्छ । उहाँहरुको सहयोगबाट हामी महामारी नियन्त्रणमा उत्साहित छौं । तर निश्चित अवधिका लागि नाका भने बन्द नै गर्नुपर्छ ।’
छलफलमा मास्कको उपयुक्त र अनिवार्य प्रयोग बढाउन पनि सुझाव दिइएको छ । फोरमका सचिव श्रेष्ठले भने, ‘हामीले सार्वजनिक सवारी साधन सञ्चालनका लागि ३ हप्ता प्रतिक्षा गर्न र निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा चलाउन उपयुक्त हुने सुझाव दिएका छौं ।’

‘उपत्यकाभित्र संक्रमणको जोखिम भएका ठाउँबाट प्रवेश गरेका निर्माण क्षेत्रका मजदुर, कवाडी संकलक, ठेलागाडा, साईकल, फुटपाथका साना व्यवसाय, तरकारी व्यापारीलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छौँ,’ श्रेष्ठले थपे, ‘जसका लागि तरकारी व्यापारलाई साँझ,–विहान मात्र खोल्न दिने, निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई ३ हप्ताका लागि निषेध गर्नु पर्ने हाम्रो सुझाव हो ।’

आर्थिक गतिविधिलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाइएको अवस्थामा व्यापारिक क्षेत्र, तथा सपिङ मलहरु संक्रमणको उच्च जोखिम रहने भएकाले सो क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न र गरे–नगरेको बुझ्न नियमित अनुगमन गर्नुपर्ने फोरमको सुझाव छ ।

अहिले सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि जेष्ठ नागरिक बाहिर आउनु पर्ने अवस्था छ । संक्रमण फैलिरहेको अवस्थामा उनीहरुलाई झन् बढी जोखिम हुने भएकोले नविकरणको म्याद थप गर्नु पर्ने फोरमको सुझाव छ ।

फोरमका अध्यक्ष शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र सचिव श्रेष्ठबीच शनिवार अवस्थाका बिषयमा कुरा गर्न भेट भएको थियो । त्यो भेटले फोरमको बैठक आउँदो सोमबार बस्ने र महामारी नियन्त्रणका बिषयमा आफ्ना सुझाव सिसिएमसिमा पु¥याउन मन्त्री पोखरेललाई भेटेर सुझाव दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *