हाल नेपालमा कोभिड—१९ संक्रमितको संख्या बढदै गएको अवस्थामा स्वास्थ्य संस्था तथा आइसोलेसन सेन्टरबाट उत्पादन हुने संक्रमित फोहोर व्यवस्थापन एक नयाँ चुनौतिको रुपमा खडा भएको छ ।
अहिलेको अवस्थामा स्वास्थ्यजन्य संक्रमित फोहोरको परिमाण अत्यन्तै बढेको छ र अन्य मुलुकको अनुभव हेर्दा कोभिड–१९ विरामी उपचार गर्दा अस्पतालमा संक्रमित फोहरको परिमाण ६००% ले सम्म बढेको देखिन्छ । यस समस्यालाई मध्यनजर गर्दै गैरसरकारी संस्था गुथिले विश्व स्वास्थ्य संगठन नेपालको सहकार्य र काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाको उपस्थितिमा एक छलफल कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रस्तुत गर्दै विश्व स्वास्थ्य संगठन नेपालका नेसनल प्रोफेसनल अफिसर डा. सुदन पन्थीले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमित फोहोरका समस्यालाई मध्यनजर गर्दै प्रकाशन गरेको ‘‘कोभिड महामारीको आपतकालिन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन’’ नामक आन्तरिक निर्देशिका बारे बिस्तृत रुपमा प्रस्तुत गरेकाे थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले मन्त्रालयद्वारा प्रकाशित स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन निर्देशिकामा भएका बुँदालाई पुन जोड दिँदै यो निर्देशिका स्वीकृतिको प्रक्रियामा रहेको बताए ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यान्जु श्रेष्ठले सरकारले फोहरमैला व्यवस्थापनलाई प्राथमिक्ता नदिएको र सरसफाईकर्मीको सुरक्षा र जिविकोपार्जनमा सरकारबाट ध्यान नदिइएको औल्याए । उनले उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाले कोभिड महामारीलाई मध्यनजर गरि सवै सरसफाईकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण र स्यानिटाइजर वितरण गरिएको, पि.सि.आर. परिक्षण गरिएको र १ लाख सम्मको कोभिड विमा पनि गरिएको जानकारी दिए ।
फोहरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धुव्र आचार्यले हालको अवस्थामा सरसफाईकर्मीले भोगिरहेको समस्याहरु उजागर गरे । हाल काठमाडौं उपत्यकामा ३००० बढी विरामी घरमा सेल्फ आइसोलेसनमा रहेको हुँदा ती घरहरुबाट उठने फोहर पनि सामान्य फोहोरमा मिसिने तथ्य बारे उक्त कार्यक्रममा जानकारी दिदैं विरामीको गोपनियता कायम राख्दै संक्रमित घरबाट निस्कने फोहोर छुट्टै संकलन गर्न र संक्रमित फोहर संकलन गर्न वायोहाजार्ड ब्यागको व्यवस्था मिलाउनुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर मान डंगोलले फोहरमैला व्यवस्थापनमा नेतृत्व महानगरले नै लिएको र सवैले प्रतिवद्धता जनाउने हो भने जीरो वेष्टमा पनि महानगपालिका जान सक्ने बताए । घर घरबाट कुहिने फोहर कम्पोष्ट बनाउने र बाँकी फोहर कवाडमा दिने हो भने ल्याण्डफिलमा फोहर नजाने बताए । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका फोहोरमैला संकलन गर्ने कम्पनीहरुलाई हाल सम्म कुनै दस्तुर वा शुल्क नलिई काम गर्ने वातावरण बनाई रहेको र निजी कम्पनीहरुले पनि आफ्नो व्यवसायलाई अझ सुरक्षीत गर्न आफैले लगानी गर्नु पर्ने कुरामा ध्यानाकर्षण गराए ।
कार्यक्रममा गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कोभिड महामारीको समयमा संक्रमण नियन्त्रण गर्न फोहरमैला व्यवस्थापन एक अत्यावश्यक अंग रहेको बताए । यस काममा कार्यरत सरसफाईकर्मीको सुरक्षाको दायित्व स्थानीय निकाय, केन्द्रीय सरकार, सरसफाई कम्पनी आम नागरिकले पनि आफ्नो तर्फबाट बहन गर्नुपर्ने आवश्यक्ता औल्याए । हाल समुदायमा कोभिड–१९ का विरामीहरु होम आइसोलेसनमा बसिरहेका हुँदा घरघरबाटै सम्भावित संक्रमित फोहोरहरु उत्पादन भैरहेको अवस्थामा ती फोहोर पदार्थहरुलाई बैज्ञानिक ढंगले संकलन र व्यवस्थापन गर्न आवश्यक सिप अनौपचारिक क्षेत्रमा काम गर्ने सफाईकर्मी र मजदुरहरुको लागि अत्यन्त जरुरी भएको र यसमा स्थानीय तहले आवश्यक कार्यक्रम तत्कालै ल्याउनु पर्ने माग गरे ।