हरेक भाद्र शुक्ल अष्टमीका दिन (महा अष्टमी भन्दा तिथि अनुसार ठिक एक महिना अगाडी) कागे अष्टमी मेला लाग्ने गर्दछ ।
कागे अष्टमीका दिन देशका बिभिन्न ठाउंबाट हजारौं तिर्थालुहरु राजधानी काठमाडौंको उत्तर पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा दर्शनका लागि पुग्ने गर्दछन् ।

कागेश्वरी मेलामा हिन्दु तथा बौद्ध धर्माबलम्बीहरु त्यत्तिकै ठुलो संख्यामा जाने गर्दछन् । कागेश्वरी मेलामा ढ्याङ्गग्रे र विविध भेषभुषामा प्रस्तुत हुने झाँकी थप आकर्षणका रुपमा रहन्छन् । यसै दिन नेवार समुदायले लाखे नाच निकालिन्छ ।

जनै पुर्णिमामा रसुवाको गोसाईकुण्ड जाने भक्तजनहरुले त्यहांबाट जल ल्याउने र कागे अष्टमीका दिन कागश्वरी महादेवलाई सो जल चढाएर ब्रत बिर्सजन गर्ने प्रचलन रहि आएको छ ।
कागको रूपमा रहेका कागेश्वर महादेवको स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश हुने र सुख, शान्ति प्राप्त गरी मरणोपरान्त सुखभोगको फल मिल्ने मान्यता छ।

हनुमानढोका दरबार परिसरमा पनि कागेश्वरी महादेवको मन्दिर रहेको छ । कायाअष्टमीको दिन कागेश्वरी मनेहरा, गागल शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित रहेको कागेश्वरी महादेब मन्दिरमा जान नसकेका श्रद्धालु भक्तजनहरु हनुमानढोकामा रहेको कागेश्वरी महादेवको मन्दिरमा दर्शनका लागि जाने गर्दछन् ।

धार्मिक मान्यताअनुसार कागले मानिसलाई छुँदा अशुभ मानिन्छ, कागको बिष्टा शरीरमा परेमा अनिष्ट हुनसक्छ र कागको मैथुन देखेमा अपशकुन लाग्छ भन्ने उक्ति विद्यमान रहेकाले सो प्रकारका दोषलाई कागदोष मानिन्छ र यस्तो कागदोषबाट मुक्ति पाउन वर्ष दिनभर कागदोष लागेका मानिस यहाँ आई स्नान गरेर कागेश्वर महादेवलाई जल चढाई पूजाआजा गरी अनिष्टता निवारण गराउँछन् ।
यस महादेवस्थानमा रहेको सेन पर्वत अर्थात् कागेश्वरी पहाड चढ्नाले मात्रै १० गाई दान गरे बापतको फल मिल्ने पुराणमा उल्लेख भएकाले यहाँको धार्मिक आस्थाको गरिमा अझ अटल रहन्छ ।
किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसैबेलादेखि वर्षेनी यहाँ मेला लाग्दै आएको बताइन्छ ।
श्रीस्वस्थानी व्रतकथामा कागेश्वर महादेवको आराधनाको महत्वको व्याख्या गरिएको छ । सत्ययुगमा सतीदेवीको अङ्ग मुटु पतन भएर सेनपिठ उमादेवी अष्टबक्रायोगिनी कागेश्वर महादेव उत्पत्ति भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ ।
उक्त स्थानमा नवग्रह आएर अनेक तरहले पूजाआजा गर्दा महादेव प्रसन्न रही वरदान माग भन्नुभयो । तब नवग्रहले हामी मानवका जीवनमा आउने हरप्रकारका घटनाका उत्तरदायी बन्न सकौं र तिनका जीवनमा लाभ तथा हानि हाम्रो कारणले नै होस् भनी मागे र सो वरदान प्राप्त गरेकाले यहाँको महादेवको दर्शनले नवग्रह दशा शान्ति रही शुभफल मिल्ने मान्यता छ ।
यसैगरि अको कथनअनुसार सत्ययुगमा महादेब र पार्वती वनबिहार गर्न निक्लनुभयो । वनबिहार गर्दागर्दै महादेवले पार्वतीलाई छल गरि सेन पर्बत अर्थात यहि कागेश्वरी पहाडको गुफामा आई तपस्या गर्न थाल्नुभयो । एकाएक शिवजी अन्तरध्यान भएपछि चिन्तित पार्वतीले ध्यानदृष्ट्रिले पत्ता लगाए । पार्वतीले सेतो कागको रुप धारण गरि जल चुच्चाले च्यापि महादेवलाई चढाएपछि शिव भगवान खुशि भएर कागेश्वर भगवानको नाममा त्यस क्षेत्रमा विराजमान भएको हो ।
मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो ।
यस पर्वका अवसरमा कागेश्वरी-मनाेहरा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।
कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।
कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगन गरिएको छ ।
काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गई गत हप्तादेखि लागू गरिएको निषेधाज्ञाका कारण मेला स्थगन गरिएको छ ।