काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले भने, ‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ ।’उनले भने, ‘यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ । म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु ।’
उनले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको स्मरण गराएकाे छ ।
‘विश्व नै अहिले कोरोनाको कहरमा छ । नेपालमा पनि हरेक दिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गैरहेको छ । संघीय राजधानी काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिकामा समेत संक्रमितको संख्या दिनहुँ बढिरहेको छ,’ उनले भने, ‘यस्तो जटिल परिस्थितिमा समेत उच्च सावधानीका अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा मलाई संक्रमण पुष्टि भएको छ ।’
त्यसैगरी शाक्यद्वारा जारी विज्ञप्तिमा भदौ १४ गते आइतबार उनकी धर्मपत्नीलाई एक सय डिग्री भन्दा बढी ज्वरो देखिएको र दुुबै जना नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेर परिक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको पनि उल्लेख गरेको छ ।
‘चिकित्सकको सल्लाह अनुसार नै हामी दुबैले पिसिआर परीक्षणका लागि स्वाब दिएका थियौँ । धर्मपत्नीको परिक्षणसँगै दुबैको स्वाब दिएपछि हामी स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होम आइसोलेसनमा बसेका थियौं,’ उनले भने, ‘सोमबार अस्पतालबाट हामी दुबैको पिसिआर रिपोर्टबारे जानकारी प्राप्त भयो । अस्पतालले दिएको जानकारी अनुसार मेरो पोजेटिभ रिपोर्ट आएको खबर प्राप्त भयो । धर्मपत्नीको भने नगेटिभ देखिएको रहेछ ।’
उनले कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण देखिएको जानकारी दिएको छ । ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित बसिरेहको जानकारी गराउन चाहन्छु,’ विज्ञप्तिमै भनिएको छ, ‘जनताको कामलाई सर्वोपरि ठानी निरन्तर समर्पित हुने सिलसिलामै म संक्रमित भएको छु । होम आइसोलेसनमा रहे पनि काठमाडौँ महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’
‘विभिन्न राजनीतिक दल, संघ–संस्था र विभिन्न ओहदामा रहनु भएका व्यक्तित्वहरुले गर्नु भएको शुभेच्छालाई पनि मैले ग्रहण गरेको छु । सबैका शुभेच्छालाई यहि अपिलमार्फत धन्यवाद भन्न चाहन्छु । मलाई संक्रमण पुष्टि भएको एक हप्ता अघिसम्म मेरो प्रत्यक्ष सम्पर्कमा आउनु भएका सबैलाई सचेत रहन र आवश्यकता अनुसार पिसिआर परीक्षण गराउनु हुन पनि अनुरोध गर्दछु ।’
उनले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला–एक्लै जित्न नसकिने भन्दै आ–आफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरी कोरोनालाई परास्त गर्न अपिल पनि गरेकाे छ । ‘स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु,’ उनले भने ।