काठमाडौं / काठमाडौंको पुरानो वसपार्कमा लामो समयदेखि विना सम्झौता सञ्चालन भइरहेका एक सय १२ वटा पसलमा बिहीवार सिलबन्दी गरिएको छ ।
पुरानो वसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका एक सय १२ वटा पसललाई काठमाडौँ महानगरपालिकाले बिहीवार सिलवन्दी गरेको हो ।
लामो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि पसल खाली नगरेपछि बिहीवार सिलबन्दी गरिएको काठमाडौं महानगरले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि आज शिलबन्दी गरेको जानकारी दिए । अब त्यसलाई भत्काएर सभागृहकै एक भागको रुपमा व्यवस्थित गरिने ज्ञावलीले बताए ।
काठमाडौँ महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्ने व्यवासायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघमार्फत केही भाडा बुझाएको र त्यसपछि नबुझाएको बताए । पटक–पटक ताकेता गर्दा पनि वेवास्ता गरेपछि सिलबन्दी गर्न बाध्य भएको अधिकारीको भनाई थियो ।
उनले काठमाडौँ महानगरपालिकाको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको पनि जानकारी दिए ।
नगरप्रहरी प्रमुख धनपती सापकोटाले पनि पटक–पटक सूचना दिँदा पनि नहटाएपछि बिहीवार प्रहरी र नगरप्रहरीले सिल गरेको जानकारी दिए ।
पलस सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई पक्राउ पनि गरिएको थियो ।