करदाता शिक्षा बढाउन ‘सडक नाटक’

कर तिर्नु बाध्यता होइन, दायित्व हो भन्ने जागरण विस्तार गर्ने योजना — डा. अधिकारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करदाता शिक्षा बढाउन ‘सडक नाटक’ थालेको छ । सुर्पेटो मिडियासँगको सहकार्यमा आनासुकी घरवेटी बा शीर्षकमा सडक नाटक प्रदर्शन थालिएको हो ।

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार करदातालाई कर बाध्य हाेइन, यो नागरिक दायित्व हो भनेर सचेत गराउन सडक नाटक मञ्चन गरिएकाे बताए । यसको शुरुवातमा शुक्रबार हनुमानढोका कालभैरव पछाडिको डवलीमा नाटक मञ्चन गरियो ।
शुक्रबार नै कालिमाटी, कलंकी, चावहिल, गौशाला, नयाँबानेश्वरलगायतका विभिन्न १० स्थानमा नाटक प्रदर्शन हुनेछ । कृष्णजीत राईले सिर्जना गरिएकाे नाटक रीता थापाले निर्देशन गरेका हुन् । नाटकमा सुरज विष्ट (लोभी घरवटेी बा), जीवन थापा (असल छिमेकी), मञ्जु गिरी (वडा कार्यालयको कर्मचारी), कञ्चन सापकोटा (भाडावाल) ले अभिनय गरको छ ।

कोविडका कारण चालु आर्थिक वर्षमा राजस्व संकलनको प्रक्षेपण नै कम गरिएको छ । विभागका प्रमुख डा. अधिकारीकाअनुसार महामारीका समयमा दबाब दिएरभन्दा दायित्व बोध गराएर राजस्व असुली गर्ने योजनाअनुरुप सडक नाटक प्रदर्शन थालिएको हो ।

महानगरले यो वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको जानकारी छ । होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई असारसम्म छुट दिएकाे छ । चैत मसान्तसम्मका लागि सम्पत्ति करमा १० प्रतिशत छुट छ भने होटलहरुलाई असारसम्म नै सम्पत्ति करमा ७५ प्रतिशत छुट दिएकाे छ । भाडावाललाई कोविडका समयमा १ महिनाको वहाल छुट दिने घरधनीलाई महानगरले बहाल करमा छुट दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *