स्वयम्भूका १७ घर एकीकरणपछि पुननिर्माण सम्पन्न : १३ गते हस्तान्तरण हुने

हाउस पुलिङ् (घर एकीकरणमार्फत) पुननिर्माण भएको काठमाडौँको पहिलो योजना हो — अध्यक्ष, डंगोल

काठमाडौं। स्वयम्भू स्तुप परिसरका १७ वटा घर एकीकरण गरेर पुननिर्माण सम्पन्न गरिएको छ ।

०७२ सालको भूकम्पले जीर्ण भएका वुद्धाचार्य परिवारका ती घर बैशाख १३ गते घरधनीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

पुननिर्माण बारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा स्वयम्भू पुननिर्माण समिति एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले पुननिर्माणका बारेमा जानकारी दिँदै भन्नुभयो, ‘स्वयम्भूका पुजारीका रुपमा सदियौँदेखि बस्दै आएका वुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) को पुननिर्माण २ बर्षमा सकिएको छ ।

स्वयम्भू पुनःनिर्माण समितिका अध्यक्ष एवं कामपा १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले स्वयम्भू पुनःनिर्माण समितिद्वारा आज आयोजित एक पत्रकार सम्मेलनमा प्रमुख अतिथि माननिय जीवन राम श्रेष्ठ तथा विशेष अतिथि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य लगायतको उपस्थितिमा सो कार्यक्रम हुने जानकारी गराएको छ ।

समितिका अनुसार १७ वटा घरहरुलाई हाउस पुलिङ प्रणालीबाट एकै ठाउँमा ल्याई एउटै आकारमा पुरातत्व विभागको मापदण्ड र स्वीकृत नक्सा अनुसार मौलिक शैलीमा निर्माण सम्पन्न भै हस्तान्तरण हुन लागेको यो नै काठमाडौंकाे पहिलो योजना भएको दावी गरिएको छ ।

घरहरुलाई एकीकरण गरेर (हाउस पुलिङ् प्रणालीबाट) सञ्चालन गरिएको काठमाडाँै महानगरको यो पहिलो योजना हो । पुरातत्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको छ ।’ डंगोलकाअनुसार यी घरहरुको किनबेच हुँदैन । केवल पुस्ताहरुमा हक हस्तान्तरण मात्र हुन्छ ।

यी १७ घरलाई एकीकरण गरेर महानगरले एउटै भवनको नक्सा स्वीकृत गरेको थियो ।
यी संरचनाको पुननिर्माण गर्न महानगरको कार्यपालिका बैठकले प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको अध्यक्षतामा ‘स्वयम्भू पुननिर्माण समिति’ गठन गरेको थियो । यही समितिले पुननिर्माणको काम सम्पन्न गरेको हो ।

वडा १५ का सदस्य आनन्द गौत्तमकाअनुसार पुननिर्माणका लागि करीव १७ करोड लागत अनुमान गरिएको थियो । जसमध्ये १३ करोड ५२ लाख रुपैयाँमा पुननिर्माण सम्पन्न हुने चरणमा पुगेको हो । यो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले व्यहोर्नु भएको हो । यसका लागि वडा र कर्मराज महाविहारविच सम्झौता गरिएको थियो । पुननिर्माणको काम २०७५ पुस ३० गते थालनी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *