बैशाख ११
काठमाडाैं / कामपा वडा नं. ४ को नव निर्मित भवनको उद्घाटन भएको छ ।
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शनिवार कामपा वडा ४ को नव निर्मित भवनको उद्घाटन गरेका छन् ।
करीब ३ करोड ५५ लाख २५ हजार रुपैयाँ लागतमा निर्माण भएको वडा भवनको स्वरुप काठमाडौंको मौलिकता देखिने खालको छ । साढे ३ तले भवनको क्षेत्रफल करीव ७ हजार स्क्वायर फिट छ । २०७५ माघ १८ गते निर्माण पक्षलाई कार्यादेश दिएर २८ गते शिलान्यास गरिएको थियो । वडा निर्माण अवधिमा चण्डोल ढुङ्गेधारा मानश्री (बिष्णु) मार्गबाट सेवा प्रवाह गरिएको थियो ।
भवन उद्घाटनपछि कामपा प्रमुख शाक्यले समृद्ध भौतिक संरचनाबाट चुस्त सेवा प्रवाह हुने विश्वाश व्यक्त गरे । ‘भवनको भव्यतालाई चुस्त सेवाले सार्थक बनाउँछ । कार्यालय सञ्चालन गर्न पर्याप्त र सुविधा सम्पन्न ठाउँ पाएसँगै सेवा सहजतामा सुधार हुनेछ भन्ने अपेक्षा गरेको छु ।’, प्रमुख शाक्यले बताए ।
प्रमुख शाक्यले वडाबाट प्रवाह हुने सेवाको भारका विषयमा बोल्दै, अहिलेको व्यवस्थामा जनताले महानगरको केन्द्रीय कार्यालय, प्रदेश वा संघ सरकारको आँगनमा नपुगे पनि हुन सक्छ । तर, वडामा नआइ हुँदैन । त्यसैले नीतिगत प्रबन्ध गरेर हामीले सबै वडाको आफ्नै भवन बनाउने अभियान चलाएको बताए । जनताका अपेक्षा पूरा गराउन अन्तरसरकार समन्वय थप सुदृढ बनाउनु पर्नेमा जोड दिँदै प्रमुख शाक्यले संघ, प्रदेश र स्थानीय सरकार प्रतिस्पर्धी नभइ पुरक रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य नारायण सिलवालले काठमाडौँ महानगरले उपयुक्त योजनामा खर्च गरेकोले वडा भवन निर्माण हुन सकेको बताए । ‘वडा कार्यालयहरु सरकारका सेवा केन्द्र हुन् । ती ठाउँलाई सुविधा सम्पन्न बनाउनुपर्छ’, उनले भने ।
कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले वडा भवनहरुको निर्माणलाई जनप्रतिनिधिले पदवहाली गरेपछिको महत्वपूर्ण उपलब्धी भएको बताए । अव सेवा प्रवाहको गुणस्तरुमा थप सुधार गर्नुपर्नेमा खड्गी श्रेष्ठले जोड दिए ।
निर्वाचित भएको बर्ष कसरी काम गर्ने भन्नेमा दोधार रहेको अनुभव सुनाउँदै वडाका अध्यक्ष मोहनबहादुर विष्टले ४ बर्षमा आइपुग्दा वडामा विकासको जग बसाउन सकिएको बताए । स्थानीय पूर्वाधार निर्माण, सार्वजनिक जग्गा संरक्षण र कार्यालय भवनको निर्माण अहिलेसम्मका महत्वपूर्ण उपलब्धी भएको उनले भने ।
उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य दीपक निरौला, सीता अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित स्थानीयहरुको सहभागिता थियो ।
उद्घाटनपछि महामारी व्यवस्थापनमा सहयोग गर्ने दाता, विकास निर्माण तथा व्यवस्थापनमा सघाउ गर्ने क्लव, टोल सुधार समिति र उपभोक्ता समितिहरुलाई सम्मान गरिएको थियो ।

