काठमाडौँ । शनिवार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा ३ को नवनिर्मित कार्यालय भवन उद्घाटन गरेका छन् ।
वडाको तल्लो तलामा सञ्चालन थालिएको ‘कोसेली घर’ र कान्ति सांस्कृतिक केन्द्रको हातामा निर्माण भएको बाल उद्यानकोसमेत उद्घाटन प्रमुख शाक्यले गरेका छन् ।
बाल उद्यान करीब १० लाख लागतमा निर्माण भएको हो । वडा भवन निर्माणका लागि २०७६ जेठ १६ गते प्रमुख शाक्यले नै शिलान्यास गर्नुभएको थियो ।
‘वडा कार्यालय (सेवा केन्द्र) लाई व्यवस्थित गर्न आफ्नै भवनबाट सेवा दिने महानगरको योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ ।’, कामपा प्रमुख शाक्यले भने ।
‘हामीले नवनिर्माण, पुननिर्माण गरेर वडाको आफ्नै भवन बनाउँदैछौँ । केही वडाका लागि जग्गा किन्नु पर्नेछ । केही वडाका लागि जग्गा नभेटिएपछि भवन नै खरिद गर्नु पर्ने भएको छ । यसका लागि हामीले बजेटको व्यवस्था गरेका छौँ ।’, प्रमुख शाक्यले बताए ।
योजना कार्यान्वयनको अवस्था सुनाउँदै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडालाई आफ्नै भवनमा राख्ने बताए ।
वडामा खोलिएको ‘कोसेली घर’ स्थानीय महिला उद्यमीका लागि खुशीको खवर हो । कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बताए । सामान उत्पादन गर्ने सीप र जाँगर भएका महिलाहरुले घरमा उत्पादन गरेका सामान बिक्री गरेर आय गर्ने ठाउँ पाएको समेत खड्गी श्रेष्ठले उल्लेख गरे ।
तीनतले वडा भवनको भुइँ तलामा ४ वटा चारपाङ्ग्रे र १५ वटा दुई पाङ्ग्रे सवारी साधनको पार्किङ् क्षमता छ । भवन लिफ्ट, भ¥याङ् र बैठक कक्षसहितको छ । भवनको माथिल्लो तलामा ६० जना क्षमताको बैठक कक्ष छ । पुरानो भवनसँगै जोडेर बनाइएको कार्यालयको प्रशासनिक काम पुरानो भवनका कोठाबाट र सेवा प्रवाहका काम नयाँ भवनका कोठाबाट सञ्चालन हुनेछन् ।
भ्याटसहित करीव २ करोड ७० लाख ३५ हजार रुपैयाँमा भवन निर्माण भएको हो । नयाँ निर्माणअन्तर्गत वडा ३ सँगै ४, ९ र २६ को भवन उद्घाटन भइसकेका छ । वडा १४ निर्माण सम्पन्न भइसकेको छ, उद्घाटन हुन बाँकी छ । वडा ६ र २२ निर्माणको अन्तिम चरणमा छन् ।
वडा २, ३१, १२ र २१ निर्माणाधीन अवस्थामा छन् । वडा १६ र २० बोलपत्र मुल्याङ्कनको अन्तिम चरणमा छन् । यसै गरी वडा ७, १०, ११, १५, ३२ लगायतका केही वडाहरुको तला थप गरेर काम गर्ने ठाउँ बढाइएको छ ।