निषेधाज्ञा अवधिभर कामपाबाट अत्यावश्यक सेवा मात्र दिइने

विभागीय प्रमुखहरुले कुनै पनि बेला उपस्थित हुन सक्ने अवस्थामा बस्नु पर्ने

काठमाडौ / महानगरपालिकाले आजबाट सीमित कर्मचारी बोलाएर अत्यावश्यक मात्र सेवा प्रदान गर्ने भएको छ ।

वडा कार्यालय खोल्नुपर्ने अवस्थामा वडाध्यक्ष र सचिवको समन्वयमा सीमित कर्मचारीलाई आलोपालो बोलाएर कार्यालय सञ्चालन गर्ने गराउने महानगरले यस्तो निर्णय गरेको हो ।

महानगरपालिकाका प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार निषेधाज्ञा अवधिका लागि परिपत्रमा, यस अवधिभर अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ । 

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि महानगरले यस्तो निर्णय प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी विभाग, आयोजना, महाशाखा, सचिवालय, कार्यक्रम र इकाईका प्रमुखले सीमित कर्मचारी बोलाएर अत्यावश्यक सेवा प्रवाह गर्नुपर्नेछ ।

विभागका प्रमुखहरुलाई कार्यालयले बोलाउँदा जुनसुकै बेला पनि कार्यालयमा उपस्थित हुन सक्ने अवस्थामा बस्न भनिएको छ ।

नेपालमा नयाँ भेरियन्टको कोविड १९ को संक्रमण फैलिन थालेपछि संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले संक्रामक रोग निवारण ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐनको दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर निषेध आदेश जारी गरेको हो 

 प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको हस्ताक्षरमा बैशाख १३ गते आदेश जारी भएको हो । यसमा भएका व्यवस्थालाई संशोधन गरेर बैशाख १४ गते संशोधन आदेश जारी भएको छ ।
यो आदेश बैशाख १६ गते विहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्मका लागि हो ।

आदेश जारी भइसकेपछि बसेको संघीय मन्त्रीपरिषद्को बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *