काठमाडौं, वैशाख १२ / नेपालभाषाको गीति नाटक ‘सर्वार्थसिद्ध’ विमोचन भएकाे छ । बागमती प्रदेशका सभासद् पुकार महर्जनले उक्त गीति नाटक विमोचन गरेका हुन् । विमाेचित कृतिमा कीर्तिपुर पांगाका साहित्यकार स्व. शुकराम महर्जनकाे रचना रहेकाे छ ।
प्रमुख अतिथि महर्जनले शुकराम महर्जनले नेपालभाषाको साहित्य र संगीतमा अतुलनीय योगदान दिनु भएको स्मरण गर्दै पांगाको भुजिन्द टोलमा स्थापित पवित्र कुटी विहारलाई सुधार गर्न आवश्यक रहेकोले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए ।
शुकराम महर्जनद्वारा रचित ‘सवार्थसिद्ध’ गिती नाटकको यो दोश्रो संस्करण प्रकाशनमा ल्याइएको हो । पवित्र कुटी विहारले प्रकाशन गरेको दोश्रो संस्करण विमोचन समारोहका सभापति रामदेवी महर्जनले बुबाको कृति प्रकाशनलाई निरन्तरता दिने बताए ।
उनले अब चाँडै नै ‘छ्यलागु लँ ज्यली’ पुस्तक प्रकाशनको तयारीमा रहेको बताउँदै बुबाको कृतिहरुलाई क्रमशः प्रकाशन गर्दै जाने बताए । उनले ‘सर्वार्थसिद्ध’ पुस्तक प्रकाशनको तयारीकै क्रममा तीन महिना अगाडि भाई प्रकाशको निधनले आफूहरुलाई अत्यन्त चोट परेको पनि बताए ।
कार्यक्रममा लोककवि राजभाइ जकःमिले शुकराम महर्जनको व्यक्तित्व, कृतित्व तथा सर्वार्थसिद्ध पुस्तकको बारेमा प्रकाश पारेका थिए । उनले शुकराम महर्जनकै नेतृत्वमा पांगामा जनचेतना अभिवृद्धिका लागि पवित्र कुटी विहार स्थापना भएको र विहारलाई निरन्तर सञ्चालनमा ल्याउनका लागि ६ जना महिलाहरुलाई ज्ञानमाला भजन सिकाएर ज्ञानमाला न्ह्यइपु खलः स्थापना गरेको पनि स्मरण गरे ।
कार्यक्रममा लोककवि जकःमिको रचना र संगीतकार रिता महर्जनको संगीत रहेको ‘झी गुरु खः शुकराम महर्जन’ विहारका उपासक उपासिकाहरुले गाएर सुनाएका थिए ।
सोही कार्यक्रममा शुकराम महर्जनले भजन सिकाएका ६ जना महिलाहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सिलमाया महर्जन, राममाया महर्जन नमख्वाः, राममाया महर्जन नगाउँ, बेखामाया महर्जन, नानी महर्जन र पार्वती महर्जन रहेका छन् ।
विमोचन पूर्व भिक्षु तिस्स महास्थविर र मुनिरत्न महास्थविरको उपस्थितिमा बुद्धपूजा सम्पन्न गरिएको थियो । पवित्र कुटी विहारमा हरेक शुक्लपक्षको एकादशीका दिन बुद्धपूजा गरिँदै आएको छ ।