काेराेनाबाट कुनै समस्या परे मेयर, उपमेयरसहित जनप्रतिनिधिको व्यक्तिगत नम्बरमा सम्पर्क गर्न मेयर शाक्यको अपिल


काठमाडौं, वैशाख १६ / ‘विश्वभरि द्रुत गतिमा फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ सन्त्रासबाट मुलुक नै भयभीत भइरहेको छ । संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिका यो सन्त्रासबाट अछुत रहने कुरै भएन ।’, महानगर प्रमुख विद्यासुन्दर शाक्यले जारी गरेकाे अपिलमा भनिएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित कुनै समस्या परे आफूलाई उपमेयरलाई वा आफू नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरे ।

यहाँ महानगरवासीसँगै देशभरिकै नागरिकहरू विभिन्न पेशा व्यवसाय अंगालेर बसिरहेका छन् । विदेशी नागरिकहरूकोसमेत आवतजावत हुने मुख्य केन्द्र रहेका कारणले समेत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमण यहाँ पनि द्रुत गतिमा फैलिन सक्ने खतरालाई मध्यनजर गरी हामी सबैले सजगता अपनाउनु पर्ने आवश्यकता रहेको छ ।’, प्रमुख शाक्यले भने ।

शाक्यले अपिलमा भने, ‘संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म यो महामारीलाई न्यूनीकरण गर्न सकिन्छ । उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मानी सकेसम्म बढी सचेतना अपनाउन तथा स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड परिपालन गर्न गराउनु हुन हार्दिक अपिल गर्दछु ।’

‘काठमाडौं महानगरपालिका मुलुककै प्रमुख सांस्कृतिक सहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने दायित्व पनि हामी सामु छ । धार्मिक स्थलमा गएर आ–आफ्नो परम्परा अनुसार पूजापाठ एवं प्रार्थना गर्ने चलन छ । यस्ता सार्वजनिक ठाउँमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै भाइरस सर्ने भएकोले अहिलेका लागि धार्मिक स्थलहरूमा गएर भीड गर्नुभन्दा आफ्नो आस्थाअनुरुप घरमै बसेर नित्य पूजा गर्न सबैमा अपिल गर्दछु ।’ प्रमुख शाक्यको अपिलमा भनिएको छ ।


महानगरवासीहरुमा कुनै स्वास्थ्य सम्बन्धि समस्या आएमा वा कोविडबाहेकका विरामीले उपचारका लागि अस्पताल जानु पर्ने भएका हटलाइन टेलिफोन नं. ११८० मोवाईल नं. ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानु पर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह छ ।

भीड नगर्ने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्ने, नियमित हात धुने, हात धुने अवस्था नरहे स्यानिटाइजरको प्रयोग गर्नेजस्ता सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु नागरिक दायित्व हो भन्दै प्रमुख शाक्यले अपिलमा निषेध आदेशलाई आफ्नै सुरक्षाका लागि हो भन्ने ठानेर पालना गर्न अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *