गंगालाल हृदय केन्द्रबाट दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन

मेयर शाक्यबाट गंगालाल हृदय केन्द्रमा अक्सिजन उत्पादनकाे उद्घाटन

काठमाडौ, वैशाख १९ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ भएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् । सो प्लान्ट महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको हो ।

दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । प्लान्टबाट अक्सिजन उत्पादन सुरु भइसेको छ ।

यसमध्ये गंगालालमा दैनिक करीब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । यो (अक्सिजन भर्ने) प्रणाली जडान हुन बाँकी छ । प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, १ हजार लिटर क्षमताको एअर ट््याङ्क, २ वटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् ।

गंगालालमा महानगरले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्याधिक माग नभएको स्मरण गर्दै त्यसबेला गरेको निर्णयबाट अहिलेको महामारी व्यवस्थापनमा लाभ भएको महानगर प्रमुख शाक्यले बताए ।
‘ अबको केही दिनमा कान्तिको प्लान्ट पनि सुरु हुन्छ । गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल गरी दुई ठाउँबाट दैनिक करीब २ सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । यसबाट कोविडका विरामीमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छु ।’ प्रमुख शाक्यले भने, ‘घरमा बस्दा सर्जिकल मास्क भए पुग्छ । अस्पतालमा पुगेपछि अक्सिजनको मास्क चाहिन्छ । त्यसैले सबैभन्दा राम्रो त घरमा बसेर संक्रमणको चक्र तोड्नु नै बुद्धिमानी हुन्छ । तर, कुनै कारणले अस्पताल आउँदा अक्सिजन नपाएर विचल्ली नहोस् भनेर हामीले काम गरिरहेका छौँ ।’

‘गंगालालले विरामीसँग अक्सिजनको पैसा लिँदैन र भेन्टिलेटरको पनि पैसा लिँदैन । यो निःशुल्क सेवा सञ्चालन गर्न महानगरले गरेको सहयोग उल्लेख्य छ ।’ अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले भने ।
‘एउटै विरामीको मुटु उपचार र मृगौलाको डाइलोसिस गर्नु पर्ने अवस्थामा कठिन भइरहेको छ । गंगालालमै डाइलोसिस गर्ने उपकरण भइदिए, मुटुको उपचार गराउन आउने विरामीले डाइलोसिस गर्न अर्को अस्पताल जानु पर्ने थिएन । यसका लागि महानगरसँग हामीले अपेक्षा राखेका छौँ ।’ अधिकारीले भने ।

कार्यक्रममा वडा ३ का अध्यक्ष दीपक के. सी. ले गंगालालसहित मेरो वडामा राष्ट्रिय स्तरका १९ वटा अस्पताल छन् । ती अस्पतालसँगको सहकार्यमा महानगरबासीको स्वास्थ्य सुरक्षामा प्रयास रहने भने ।

मुटुको समस्या भएर गंगालाल हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो । यसका लागि महानगर र केन्द्रकाविच २०७६ माघ १५ गते सहिद सप्ताहका कार्यक्रम पारेर सहमति पत्रमा हस्ताक्षर भएको थियो । केन्द्रको २४ औं स्थापना दिवस तथा सहिद सप्ताहको कार्यक्रम पारेर महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियोे । यसका लागि महानगरले ३ करोड रुपैयाँ छुट््याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *