काठमाडाैं, बैशाख २२ ।
काठमाडौँ । शिक्षण अस्पताल महाराजगञ्जले नयाँ भवनमा कोविड उपचार कक्ष बनाउने तयारी गरेको छ । यी कक्षको तयारीको जानकारी लिन बुधबार काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा ३ का अध्यक्ष दिपक के. सी. अस्पताल पुगेका छन् ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेले अहिले कोविड उपचार पद्धतिको अभ्यास र नयाँ तयारीका बारेमा स्थलगत अवलोकन गराए। त्यसैक्रममा आकस्मिक कक्ष, कोविड उपचार कक्ष, सघन उपचार कक्षको निरीक्षण गरिएको थियो ।

अवलोकनमा क्रममा प्रमुख शाक्यले कोविड उपचारका लागि अस्पतालले गरिरहेको काम, थप योजनाका विषयमा जिज्ञासा राखे । प्रमुख शाक्यको जिज्ञासा मेटाउँदै कार्यकारी निर्देशक प्रा. डा. काफ्लेले, जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए ।
‘क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोविड उपचार कक्ष बनाउने भएका छौँ । यस्को क्षमता १ सय ४० वेडको हो । अहिले यसमा १ सयसम्म वेड सञ्चालन गछौँ । जसमध्ये आजैबाट ४० वटा वेड सञ्चालनमा आइसकेका छन् ।’ उनले भने, ‘यो समस्या बढ्दै गयो भने यस कक्षसँग गणेशमान भवन (सघन उपचार कक्ष भएको) लाई जोडेर सेवा विस्तार गर्दै लानेछौँ ।’

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीकाअनुसार अस्पतालले अहिले २ सय ५० वडा वेड कोविडका विरामीका लागि छुट्याएको छ । यीमध्ये २१८ जना विरामीले उपचार गराइरहेका छन् ।
अस्पतालसँगको सहकार्य सकारात्मक र नजिताउन्मुख भएको वडा ३ का अध्यक्ष के. सी. को भनाइ छ । महानगरको सहयोगमा अस्पतालमा कोविड उपचारका लागि ५ सय वटा वेड पु¥याउने योजनाबमोजिम काम भइरहेको छ ।