नेपालमा केहीवर्ष यतादेखि प्रतिबन्धित गाँजा खुला हुनपर्नेमा ठूलो बहस भइरहेको छ । यो बहस सडकदेखि लिएर सदनसम्म बहसको विषय बनेको छ ।
गाँजाको औषधीय गुण थाहा पाएर पश्चिमा राष्ट्रहरूले धमाधम यसको खेतीतिर फर्किरहँदा नेपालमा पनि यसलाई खुला गर्नुपर्छ भन्नेहरको जमात बढ्दै गइरहेको छ ।
नेपालमा लामो इतिहास बोकेको गाँजा तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजा उत्पादन हुन्थ्यो ।
एकताका नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भइसकेको थियो । दोस्रो विश्वयुद्धकै समयदेखि ‘हिप्पी’ युगसम्म काठमाडौंमा गाँजाले आफ्नो छुट्टै पहिचान बनाइसकेको थियो । गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्ने काठमाडौंमा त्यतिबेला ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए । विदेशीहरू स्वतन्त्र रूपमा ‘ब्रान्डेड’ गाँजा खान झोछेँ र न्यूरोडका पसल आइपुग्थे ।
गाँजा नेपालको राजस्वमा ठूलो हिस्सा ओगट्ने व्यवसाय हुँदै गर्दा समयले कोल्टे फेर्याे । यसको बढ्दो व्यापारसँगै सरकारले सन् १९६१ मा लागुऔषध ऐन जारी गर्यो । लगत्तै अर्काे वर्ष उत्पादन, बिक्री तथा आयात र निर्यातमा अनुमतिपत्र लिनुपर्ने नियम बनायो ।
नेपाल भने यस्तो देश हो, जहाँ पहिल्यैदेखि गाँजाको आयुर्वेदिक ओखती प्रयोग हुँदै आएको थियो । गाँजा परम्परादेखि नेपालको संस्कृतिमा थियो । अमेरिकाले लागुऔषध भनेर गाँजा खेती नष्ट गर्न अनुदानसमेत दिन लगाएर सन् १९७० दशकदेखि नेपालमा गाँजा प्रतिबन्धित भयो । राष्ट्रसंघबाट दबाब आएपछि सरकारले गाँजा उत्पादन र किनबेचविरुद्ध सन् १९७३ जुलाई १६ देखि धरपकड थाल्यो ।
अब त्यही अमेरिकाले गाँजा औषधि हो, आयस्रोत हो भनेर खुला गरेको छ । अहिले अमेरिकाका ३६ राज्यले औषधिको मान्यता दिँदा नेपालमा प्रतिबन्धको ४३ वर्षपछि गाँजा फुकुवाको आवाज संसदमा समेत उठेको छ ।
निदरल्याण्ड, उरुग्वे, अमेरिकालगायत अहिले विश्वका ७० मुलुकले गाँजालाई वैध गरिसकेको छ । स्पेनमा १ ग्राम गाँजाको ७ युरोेदेखि १० युरोसम्म पर्छ । पूर्वसचिव भीम उपाध्यायका अनुसार नेपालमा गाँजा बैध हुने हो भने २०८२ सम्ममा १७० अर्ब डलर कमाइ हुनेछ ।
उरुग्वे पहिलो देश हो, जसले गाँजा सेवनलाई कानुनी मान्यता दियो । त्यसपछि नेदरल्याण्डस्, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियाजस्ता देशले उरुग्वेलाई पछ्याएका छन् । अहिले गाँजालाई औषधिको रुपमा प्रयोग गर्न अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, इजरायल लगायत देशमा छुट छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्राड्यूले गाँजालाई कानुनी मान्यता दिने विधेयक २०७५ कार्तिक महिनामा संसदबाट पारित गरेका थिए । गाँजाबाट हुने लाभ र जोखिमबारे अझै पर्याप्त अनुसन्धान हुन बाँकी नै छ । अन्य औषधि जस्तै निश्चित मात्रामा खाएमा स्वास्थ्यका लागि धेरै फाइदा हुने क्यानेडियन मेडिकल एसोसिएशन (सीएमए) बताएको छ ।
नेपालमा असार–साउन गॉजा पाक्ने बेला हो । गॉजाको गेडा पौष्टिक आहार हो, त्यसले नसा लाग्दैन । मजाले पिठो वा रोटी पकाएर खायो भने भात, गहुँको भन्दा बढी ताकत दिन्छ । गॉजाको पैष्टिक आहार खाने गर्यो भने रोग लाग्दैन, दिमाग तेज हुन्छ, त्यसमाथि लामो आयु हुन्छ ।
नेपालमा गाँजाको महत्व परम्परागत तथा आयुर्वेदीय रूपले नै स्वीकारिएको छ । अनिद्रा र शारीरिक पीडा हटाउन गाँजा सेवन गर्ने चलन थियो । भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावर उपचार गर्न र साधुहरूलाई दान दिन पनि गाँजा प्रयोग हुन्थ्यो ।
गाँजालाई मान्छेको दैनिक व्यवहारमा पनि उपयोगी मानिएको छ । नेपालको मध्यपश्चिम पहाडमा यसले दाउरा आपूर्ति गर्छ । गाँजाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ ।
नेकपाका नेता केशव स्थापितका अनुसार गाँजा समृद्धिको अधार हो । उनले यसमाथि प्रतिबन्ध फुकुवा माग गर्दै आएका छन् । कुनै समय एक अमेरिकी डलर बराबर नेपाली ६ रुपैयाँ हुन्थ्यो । आज १ सय १५ रुपैयाँ पुगेको छ । नेपालमा भएको प्राकृतिक स्रोतमाथि प्रतिबन्ध लगाएर अमेरिकाले त्यसको उत्पादन आफैंले गरिरहेका छन् ।
गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् । खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ ।
शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ ।
गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी हुन्छ भनेर ‘जर्नल अफ सेक्सुअल मेडिसिन’ को रिपोर्टले जनाएके छ । अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका वैज्ञानिकले गाँजा र यौनशक्तिबीचको सम्बन्ध भर्खरै प्रमाणित गरे, जबकि शीर्घ स्खलन रोक्न गाँजाको कणयुक्त ‘पूर्णचन्द्रोदय रस’ वैद्यखानाले धेरैअघि उत्पादन गथ्र्यो । वैद्यखानाकै ‘भोग सुन्दरी’ भायग्राजस्तै यौनशक्ति बढाउने आयुर्वेद औषधि हो । गाँजालाई आयुर्वेदमा ‘विजया’ भनेर उल्लेख गरिन्छ ।
निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजा (विजया) को औषधि प्रयोग हुँदै आएको सिंहदरबार वैद्यखानाको रेकर्डमा देखिन्छ ।
बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौंवर्षदेखि गाँजा प्रयोग हुँदै आएको र क्यान्सर बिरामीलाई गाँजा मिसाइएको औषधि दिँदा पीडा कम हुनुका साथै निराशाबाट बाहिर ल्याउन मद्दत गर्छ । ‘रामबाण रस’ वा ‘रातोबरी’ भन्ने औषधिले जस्तोसुकै झाडापखाला निको पार्ने उनको दाबी छ । यी दुवैमा गाँजाको कण हुन्छ ।
गाँजाको सन्दर्भमा नेपाली समाज द्विविधाग्रस्त छ । एकथरी भन्छन्, यो औषधीय महत्वको वनस्पति हो । अर्काथरीले यसलाई लागूऔषधका रूपमा व्याख्या गर्छ । आयुर्वेदले गाँजाको औषधीय महत्वमा जोड दिन्छन् । यसबारे नेपाली परम्परागत ज्ञान मासिने वा चोरिने अवस्थामा रहेकाले व्यवस्थित गर्दै लानुपर्ने बताउँछन् । आयुर्वेदका जानकारहरू गाँजालाइ मूल्यवान चिजको संज्ञामा राख्छन् । गाँजाका उपयोगिताबारे आयुर्वेद क्याम्पस कीर्तिपुरमा पढाइसमेत हुन्छ । स्नातक तहका दिर्देगुण विज्ञान र भाव प्रकाश किताबमा गाँजाको आयुर्वेदिक उपयोगिताबारे प्रष्टरूपमा लेखिएको छ ।
प्रहरीकाअनुसार गाँजा फुकुवा गर्दा लागूपदार्थ दुब्र्यसनीलाई सहजता हुनेछ । दुव्र्यसनीका कारण थुप्रै अपराधका घटना भएको, परिवारमा विखण्डन आएको र युवा पुस्ता सामाजिक दायित्वबाट बिमुख भएकाले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्दा प्रशस्त गृहकार्य गर्नुपर्छ ।