आज ६४ बर्ष उमेर समूहका व्यक्तिलाई खोप

खोप अनुगमनमा मेयर शाक्य, नजिकको केन्द्रबाट खोप लगाउन लक्षित समूहलाई आग्रह

काठमाडौं, जेठ २५।
काठमाडौँ महानगरपालिकाका सबै वडामा आजदेखि ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई कोविडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन सुरु गरेको छ ।

स्वास्थ्य मापदण्ड कायम गराउन एक वडा एक खोप केन्द्र र उमेर समूहअनुसारका छुट्टाछुट्टै दिन तोकेर खोप कार्यक्रम सुरु गरिएको हो ।

जसअन्तर्गत आज ६४ बर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर खोप कार्यक्रम थालिएको हो ।

खोप कार्यक्रम सुरु भएपछि केन्द्रहरुमा खोप लिन आउने सेवाग्राही र खोप दिने स्वास्थ्यकर्मी तथा कर्मचारी र स्वयमसेवकहरुको कुरा सुन्न प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित विभिन्न खोप केन्द्रहरुमा पुग्नुभएको थियो । त्यस क्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु र सहरी स्वास्थ्य विभागका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । वडा २३ को ओमवहालमा प्रदेश सभा सदस्य राजेश शाक्य पनि आउनुभएको थियो ।

त्यसपछिको प्रतिक्रियामा प्रमुख शाक्यले केन्द्रहरुको व्यवस्थापन राम्रो भएको, सेवाग्राहीले सुरक्षित सेवा पाएको अनुभूति गरेको प्रतिक्रिया दिनुभयो । ‘सेवाग्राहीको सहजताका लागि आफूलाई पायक पर्ने केन्द्रमा खोप लिन पाउने, दम्पत्ति भए तोकिएको उमेर समूह नहेरी दुवैलाई एकै दिन खोप लिन पाउने, नागरिकता नभए वडाको शिफारिसमा खोप प्राप्त गर्ने जस्ता व्यवस्था गरेका छौँ ।’ खोप व्यवस्थापनका बारेमा उहाँले भन्नुभयो, ‘सहजतापूर्वक सबैले खोप पाउने वातावरण मिलाएका छौँ । यसका लागि जनप्रतिनिधिहरु आफैँ माइकिङ् गर्दै टोल टोलमा जानुभएको छ । अहिलेसम्म छुटेका नागरिकलाई फेरि खोप उपलब्ध गराउन हाम्रो प्रयास जारी रहनेछ ।’

भोलि ६३ बर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइनेछ ।

आज सहरी स्वास्थ्य महाशाखाले वडाहरुलाई पत्राचार गर्दै यसअघि तोकिएका (६० — ६४ बर्ष उमेर समूह) वाहेक यस अघि खोप लगाउन छुटेका र अहिले विरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जव टे«निङ्मा रहेका नर्सिङ् र प्यारा मेडिक्सलाई परिचय पत्रका आधारमा खोप लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ २४ गतेको पत्र उधृत गर्दै विभागले वडाहरुलाई आग्रह गरेको हो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाइएको थियो ।

जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करीब १ लाख व्यक्तिले लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *