फोहोरको दिगो व्यवस्थापनका लागि स्वस्थ्य सरसफाइ वाहक परियोजना सम्बन्धि सम्झौता सम्पन्न

वातावरणीय स्वास्थ्य परियोजना काठमाडौँ महानगरपालिका र मेड्सा डु मोन्ड फ्रान्सविच सम्झौता

काठमाडौ, जेठ २६ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा काठमाडौँ महानगरपालिका र फ्रान्सको मेड्सा डु मोन्डविच सम्झौता भएको छ ।

काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धि आज सम्झौता भएको हाे ।

सम्झौतामा महानगरकातर्फबाट वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र मेड्सकातर्फबाट नेपालका लागि देशीय प्रतिनिधि डा. गियोम फेबोलले हस्ताक्षर गर्नुभएको थियो । एक अर्काको आचारसंहिता, पारदर्शिता तथा ववाफदेहिता, गोपनीयता, सञ्चार, सहभागितामुलक निर्णयमा समानता, मानवीय कार्य, स्वतन्त्रता र तटस्थताका सिद्धान्तको सम्मान र पालना गर्ने गरी सम्झौता भएको हो ।

सम्झौताबमोजिमकाृे स्वास्थ्य प्रवर्धन केन्द्र वडा १९ मा स्थापना भए पनि अन्य वडा र नुवाकोटको ल्याण्डफिल साइट क्षेत्रमा रहेको स्वास्थ्य चौकीबाट समेत सेवा दिइनेछ । काठमाडौँ महानगरपालिकाले १ करोड ५ लाख ४० हजार रुपैयाँ व्यहार्नेछ । परियोजना सञ्चालन गर्न समन्वय समिति र रणनीतिक र व्यवस्थापन समिति गठन गरिनेछन् ।

सम्झौतापछि महानगरका प्रमुख शाक्यले परियोजनाबाट लक्षित समूहमा कार्यक्रम पुर्याउन सहज हुने प्रतिक्रिया दिए ।

‘स्वास्थ्य सेवामा सबैको समान पहुँच विस्तार गर्न हामीले लगानी बढाएका छौँ । पूर्वाधार सुधार, उपकरण खरिद र जनशक्तिको समुचित परिचालनबाट हामी लक्ष्य पूरा गर्नेछौँ ।’ , प्रमुख शाक्यले भने।

अहिले कोविड महामारी व्यवस्थापनमा महानगरले गरिरहेका कामका बारेमा चर्चा गर्दै, सबैलाई कोविड विरुद्धको खोप दिन सरकारसँग मिलेर काम गरिरहेकोले हतास नहुन शाक्यले आग्रह गरे ।

पहिले खोपमा चासो नभएको र अहिले चाप बढी भएको अनुभव सुनाउँदै उहाँले, गलत सूचनाको शिकार नहुन आग्रह गरे । गलत सूचनाले खोप पाउनु पर्ने व्यक्तिहरुमा दोधार मनस्थिति सिर्जना भएको प्रमुख शाक्यको भनाइ थियो ।

अहिले भएको क्लिनिकको संरचनालाई सुधार गरिनेछ । परियोजना शुरुवातका विषयमा कुरा गर्दै डा. फेबोलले प्रयोगशाला स्थापना, जनशक्ति थप गर्ने, चिकित्सकीय सामाग्री तथा उपकरण थप गर्ने योजना सुनाए ।

सम्झौता अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, स्वास्थ्य विभागका अधिकारी तथा विभागीय प्रमुखहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *