काठमाडाैं, जेठ २६
चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिङ्गे गत असोज महिनादेखि देखिन छाडेको छ ।
बाह्रसिङ्गा नेपाल र भारतमा मात्रै पाइने स्तनधारी वन्यजन्तु हो । हालै गरिएको अनुसन्धानमा निकुञ्जको कूल क्षेत्रफल ९५२ दशमलव ६३ वर्ग किमिमध्ये १४ दशमलव ५७ वर्ग किमि बाह्रसिङ्गेका लागि उपयुक्त क्षेत्रफल पाइएको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले अर्नासँगै रहेका बाह्रसिङ्गे खुल्ला खोरमा नभेटिएको बताए । “गत असोजदेखि खोरभित्र देखिएको छैन । कतै झाडीमा लुकेको, बाघले खाएको वा खोर बाहिर भागेको भन्ने बारे यकिन हुन नसकेको उनले बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी सात बाह्रसिङ्गे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । बाह्रसिङ्गे मृग प्रजाति भएकाले अर्नाबाहेक चित्तलसँग पनि घुलमिल हुने गरेको छ ।
ती मध्ये दुई पोथी ल्याउने बित्तिकै र अन्य चार विभिन्न कारणले मरिसेका छन् ।
अर्नासँगै रहेको बाँकी रहेको एक बाह्रसिङ्गे पनि लामो समयदेखि देखिन छाडेको हो ।
तत्कालीन अवस्थामा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ ५ भाले सहित २५ बाह्रसिङ्गे ल्याउने योजना थियो ।
यहाँ ल्याए लगत्तै बाह्रसिङ्गे मरेपछि थप ल्याउने काम रोकिएको थियो ।
निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे राखिएको छ ।सरकारले प्रजाति संरक्षण र विस्तारका लागि वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ ।
यहाँ कोसीबाट अर्ना ल्याइएको छ भने यहाँका एकसिङ्गे गैँडा बर्दिया र शुक्लाफाँटा स्थानान्तरण गरिएको छ ।
– रासस