भीम तुलाधरको ‘दोष’ सार्वजनिक


काठमाडाैं, जेठ १९ ।

नेपालको पप संगीत क्षेत्रमा वरिष्ठ गायक भीम तुलाधरको गीत ‘दोष’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बुधबार जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा नेपालका पप सम्राट भनिने वरिष्ठ गायक ओमविक्रम विष्टले गीतको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा नेपालमै पहिलो पटक जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीतको प्रिमियर भएको दावी गरिएको थियो । म्यूजिक भिडियो गायक तुलाधरकै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।


कार्यक्रममा बोल्दै पप सम्राट विष्टले ‘दोष’ गीतको अडियोको साथमा म्यूजिक भिडियोसमेत निकै उत्कृष्ट बनेको विचार राख्दै सफलताको शुभकामना दिनुभयो । नेपाली पप संगीत क्षेत्रको स्तर कायम राखीराख्न तुलाधरको ठुलो योगदान रहेको चर्चा विष्टले गर्नुभयो ।


गायक तुलाधरले आफुले निकै मेहनत लगाएर गीत बनाएको जानकारी दिँदै अब गीतको मूल्याङ्कनको जिम्मा दर्शक र श्रोतालाई दिएको बताउनुभयो । ‘हाम्रै नेपालभित्र सुटिङका लागि थुप्रै राम्रा, मनमोहक स्थानहरु छन् । हामीले यस्तै आकर्षक, मनमोहक ठाउँहरु खोजी खोजी गीतको भिडियो तयार गर्यौं’, तुलाधरले भन्नुभयो, ‘हामीले नेपालको प्रकृतीलाई चिन्न सक्नुपर्छ ।’

म्यूजिक भिडियोको परिकल्पना बनाउनुका साथै निर्देशन रवि सायमिले गरेका छन् । भवानी शिलाकारको छायाङ्कन निर्देशनमा ड्रोन पाइलट प्रशन्न महर्जनले ड्रोन चलाएका छन् । मोडलद्वय निरोज शाक्य र आराध्यलक्ष्मी खड्गीले आफ्नो अभिनयको प्रतिभा प्रस्तुत गरेका छन् । २०४८ सालमा पहिलो पटक जिजिविषा एल्बममा प्रकाशन हुँदा भुपालमान सिंहले अरेंज गरेको यो गीतलाई अहिले भुपेन्द्र बज्राचार्यले रिएरेज गरेका छन् ।


जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा गायक तथा गितारिस्ट ज्योति घिमिरे, जेम्स प्रधान, संजय श्रेष्ठले गीत निकै उत्कृष्ट बनेको भन्दै सफलताको शुभकामना दिए । म्यूजिक भिडियोको संवादमा एक समय हिट्स एफ. एम. का चर्चित आर.जे.हरु रवि श्रेष्ठ र रीता लिम्बुको साथमा भक्तपुर एफ. एम.की आर.जे. प्रतिना राई र चर्चित गायक जेम्स प्रधानसमेतले आवाज दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *